काठमाडौं। डोटीमा बेमौसमी वर्षासँगै आएको बाढीपहिरोले बगाएका खानेपानीको मुहान मर्मत नगरिएकाले पुरानो क्षेत्रीय सदरमुकाम दिपायल तथा जिल्ला सदरमुकाम सिलगढीमा खानेपानीको हाहाकार भएको छ।
गत कात्तिक पहिलो सातामा आएको बेमौसमी अबिरल वर्षाका कारण पुरानो क्षेत्रीय सदरमुकाम दिपायलस्थित राजपुरबजारको खानेपानी मुहान सलेनामा ५०० मिटर पाइप बगाएको र समयमै मर्मत गर्न नसकिएका कारण पानी उपलब्ध गराउन कठिन भएको राजपुर खानेपानी सरसफाइ उपभोक्त समितिले जानकारी गराएको छ।
त्यहाँका प्रमुख व्यापारिक केन्द्र पिपल्ला, दिपायल, राजपुर तथा सिलगढीमा खानेपानीको हाहाकार भएपछि दिपायल सिलगढी नगरपालिकाको दमकलले पानी वितरण गरेकामा हाल बन्द गरेका कारण उपभोक्तालाई फोहर पानी खानुपर्ने बाँध्यता रहेको स्थानीयवासीले बताएका छन्। त्यहाँ नजिकै रहेको सेती नदीमा खाली बालुवा र लेदोमात्रै बगिरहेको छ, धारामा पानी आउँदैन, नगरपालिकाले पनि पानी बाँड्न बन्द गरिदिएपछि स्थानीयलाई निकै गाह्रो भएको स्थानीयहरुको गुनासो रहेको छ।
लगातारको बेमौसमी वर्षासँगै बाढीपहिराका कारण जिल्ला सदरमुकाम सिलगढीमा पनि खानेपानीका मुहानका पाइप बगाउँदा त्यहाँ पनि खानेपानीको हाहाकार भएको हो। त्यहाँको बजारमा आपूर्ति हुँदै आएको खानेपानीको पाइप बाढीपहिराले बगाएपछि खानेपानीकोे समस्या भएको सिलगढी खानेपानी, सरसफाइ तथा उपभोक्ता समितिले जानकारी गराएको छ। बाढी सँगै आएको पहिराले दिपायल सिलगढी नगरपालिका–९ को कलेनाखोला मुहानमा रहेको पाइप बगाएको थियो।
बजारमा खानेपानी नभएका कारण स्थानीय नागरिकलाई हातमुख धुन तथा शौचालय जानसमेत समस्या भएको स्थानीयवासी तथा होटल व्यवसायी सिद्धराज जोशीले जानकारी दिएका छन्। बाढीपहिराका कारण बगाएको खानेपानीको पाइप मर्मतका लागि कर्मचारी खटिएका र कतिपय ठाउँमा पाइप र मुहान नै बगाएर समस्या भएका कारण मर्मत गर्न गाह्रो भइरहेको उपभोक्ता समितिका अध्यक्षले जनाए।