काठमाडौं। विराटनगरमा विवादका कारण आकाशे पुल निर्माण कार्य अलपत्र परेको छ। नेताहरुकै अवरोधले आकाशे पुल निर्माण सुरुवाती चरणमा नै रोकिन पुगेको हो। विराटनगर महानगरपालिकाले कोशी राजमार्गअन्तर्गत पर्ने मुख्य सडक क्षेत्रमा आकाशे पुल निर्माण गर्ने योजना अघि बढाएको थियो। तर स्थानीयले अवरोध गरेपछि आकाशे पुल निर्माण गर्ने योजनाबाट महानगरसमेत पछि हटेको छ।
कोशी राजमार्गको मुख्य सडक क्षेत्रमा यातायात साधनको बढ्दो चापलाई मध्यनजर गर्दै सडक सहजताका लागि तीन आकाशे पुलको संयुक्त रुपमा यसअघि शिलान्यास गरिएको थियो। विराटनगर महानगरका मेयर भीम पराजुलीले गत चैत ३ मा विराटनगरस्थित बरगाछीमा एक कार्यक्रमका बीच पुलको शिलान्यास गरेका थिए। उक्त पुलको कुल लागत दुई करोडभन्दा माथी रहेको छ।
स्टिल स्टक्चरको आधारमा २५ मिटर लम्वाई, पाँच दशमलव पाँच मिटर उचाईको आकाशे पुल निर्माणको लागि कला विल्डरले बरगाछी र घाँस चोक तथा आरके विल्डर्सले कञ्चनबारीको आकाशे पुल निर्माणको ठेक्का पाएको थियो। तर अहिले कञ्चनबारी, बरगाछी, घाँसचोक र बसपार्क क्षेत्रमा आकाशे पुल बनाउन स्थानीयले अवरोध गर्न थालेपछि महानगरको आकाशे पुल बनाउने योजना नै अलपत्र परेको छ।।
कुनैबेला नगरका निश्चित चोकहरुमा आकाशे पुल तुरुन्त बनाउन दबाब दिँदै विराटनगर महानगरपालिकामा दिनहुँजसो दबाब आउँथ्यो। विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीका अनुसार पहिले आकाशे पुल बनाइदेऊ भन्दै डेलिगेसन आउँथे अहिले मेरो घर अगाडि बनाउन पाइँदैन भन्दै अवरोध गरिरहेका छन्। अवरोध गर्नेमा पनि स्थानीय नेताहरु नै सक्रिय देखिएका छन्।
स्थानीयको अवरोधका कारण आकाशे पुल निर्माणको काम अघि बढ्न नसकेपछि महानगरलाई त्यही योजना घाँडो बनेको छ। त्यसैगरी आकाशे पुल चाहियो भनेर सबैभन्दा धेरै माग भएमध्येको कञ्चनबारी चोकमा पनि महानगरले काम अगाडि बढाउन सकेन।
बरगाछीमा पनि स्थानीय गणेश थापाले आफ्नो घर अगाडि आकाशे पुल नबनाउन दबाब दिँदै आएका छन्। उनले पनि दायाँबायाँ सारेर पुल बनाउन आग्रह गर्दै आफ्नो घर अगाडि भने बनाउन नमिल्ने भन्दै काम गर्न नदिने चेतावनी दिइरहेका छन्। सबैतिरबाट अवरोध भएपछि महानगर योजना कार्यान्वयन गर्न नसक्ने अवस्थामा पुगेको छ।
काममा अवरोध गरेको आरोप खेपेका नेपाली कांग्रेस मोरङका सचिव नागेश कोइरालाले भीडभाड हुने ठाउँमा नबनाएर आफनो खाली जग्गामै लगेर बनाउनुको अर्थ के हो जबरजस्ती विकास विरोधी देखाउन यस्तो गरिएको अनुभूति भएको बताए। बाँकी पुलहरुमध्ये दुईवटामा दुवै तर्फबाट चढ्न मिल्ने र एउटामा भने एकातर्फबाट चढ्न मिल्ने गरी बनाउनका लागि महानगरले झण्डै ८ करोड रुपैयाँ खर्च गर्ने योजना रहेको थियो।