काठमाडौं। गत २ माघमा जुम्ला एयरपोर्ट–उर्थु–भुलभुले–रारा जोड्ने सडक खण्डको कोटाभीरमा जिप दुर्घटना भयो । दुर्घटनामा परी पातारासी गाउँपालिका–२ खालाढिककी ४२ वर्षीया छोदेन लामाको घटनास्थलमै मृत्यु भयो । थप १५ यात्रु घाइते भए भने दुईको अवस्था अहिले पनि गम्भीर छ ।
यसअघि पनि यो सडक खण्डमा दर्जनौं सवारी दुर्घटना भएर धेरैले ज्यान गुमाएका छन् । साँघुरो सडक, थोत्रा सवारी, ट्राफिक प्रहरीको निगरानी नहुनु र नागरिकको आफ्नै लापरबाहीले उक्त सडक खण्डमा पटक पटक दुर्घटना हुने गरेको छ । पातारासी सडक खण्डमा पटक पटक हुने दुर्घटना रोकथामका लागि पातारासी गाउँपालिकाले ‘जुम्ला–एयरपोर्ट–उर्थु–भुलभुले रारा’जोड्ने सडक स्तरवृद्धि गर्न माग गरेका छन् ।
पातारासी सडक खण्डका समस्या समाधानको उपाय खोज्दै पातारासी गाउँपालिकाले जुम्लादेखि पातारासी र रारा जोड्ने सडकको स्तरवृद्धि तत्काल अघि बढाउन जिल्ला प्रशासन कार्यालयमार्फत् सरकारको ध्यानाकर्षण गराएको छ । गाउँपालिकाले उक्त क्षेत्रमा सडक दुर्घटना बढेकाले सडकको स्तरवृद्धि, कडा ट्राफिक व्यवस्थापन तथा डिल्लीचौरको लासीमा चामल र नुनको डिपोको विषयमा शुक्रबार प्रशासनको ध्यानाकर्षण गराएको पातारासी गाउँपालिकाका उपाध्यक्ष जनमाया रोकायाले बताइन् ।
उनका अनुसार आगामी दिनमा सवारी दुर्घटना नदोहोरिने गरी सडक स्तरवृद्धि तथा ट्राफिक व्यवस्थापमा ध्यान दिन माग गरिएको छ । पातारासीमा निर्माणाधीन एक मेगावाट क्षमताको चुकेनी जलविद्युत आयोजनासमेत सडकका कारण पूरा हुन नसकेको स्थानीयको गुनासो छ । सवारी दुर्घटना रोक्न स्वयम् नागरिकसमेत सचेत हुनुपर्ने प्रमुख जिल्ला अधिकारी मुकेश केशरीले बताए ।
जोखिमयुक्त सडकमा कोचिएर यात्रा गर्नु नागरिकको गल्ती हो । सडक स्तरवृद्धिलाई यथाशीघ्र अघि बढाउन पहल थाल्ने उनको भनाइ छ । ध्यानाकर्षणपत्र बुझ्दै, प्रजिअ केशरीले जुम्ला–पातारासी सडकको अनुगमन गरिने बताए । ट्राफिक व्यवस्थापनका विषयमा स्थानीय सरकारले पनि ध्यान दिनुपर्ने बताउँदै उनले नुन–चामलको डिपोका विषयमा केन्द्रमा पहल गर्ने उल्लेख गरे ।
सडक स्तरवृद्धि प्राथमिकतामा
‘जुम्ला–उर्थु–भुलभुले–राराताल’ जोड्ने सडक पूर्वाधार विकास कार्यालय जुम्लाले निर्माण गर्दै आएको छ । नेपालकै ठूलो रारा तालमा यस सडकबाट नाग्म–गमगडी सडकभन्दा करिब तीन घण्टा छिटो पुगिन्छ । ‘जुम्ला–उर्थु–भुलभुले–राराताल’ जोड्न सडकलाई पर्टकीय मार्गका रूपमा विकास गर्ने पूर्वाधार कार्यालयको तयारी छ ।
पूर्वाधार कार्यालय जुम्लाका प्रमुख हरिबहादुर ओेली भन्छन्, “जुम्ला–उर्थु–भुलभुले–राराताल’ जोड्न सडक स्तरवृद्धि हाम्रो पहिलो प्राथमिकतामा छ । स्तरवृद्धिका टेण्डर भई स्तरवृद्धि भइरहे पनि निर्माण व्यवसायीको ढिलासुस्तीले अपेक्षित उपलब्धि हासिल भएको छैन । तथापि हाम्रो ध्यान केन्द्रित छ । स्तरवृद्धि अघि बढ्छ ।”
सबै दुर्घटना सडककै कारण हुँदैनन् । मापदण्डअनुसार सडक निर्माणमा हामी जुटेका छौं । प्रमुख ओेलीले थपे, “स्थानीय सरकार, सरोकारवालाको सहयोग पनि जरुरी छ । केही दिनमा उक्त सडकको अनुगमन गरी समस्या समधानका उपाय खोजिने छ ।” निर्माण व्यवसायीले इमानदारीताका साथ सडक स्तरवृद्धिको कामलाई तत्काल अघि बढाउनसमेत पूर्वाधार कार्यालयले ताकेता दिएको छ ।
निर्माण व्यवसायी जिम्मेवार, स्थानीय सरकारको सहयोग तथा समन्वय नभएसम्म पूर्वाधार विकासले गति लिनसक्ने अवस्था छैन । तथापि कर्मचारी अभाव, भौगोलिक विकटता र मौसमी प्रतिकूलताका बीच पनि आफ्ना कार्यक्षेत्रको सडक निर्माण र स्तरवृद्धि कार्यलाई दुर्त गतिमा अघि बढाइएको पूर्वाधार विकास कार्यालयका इन्जिनयर टेक हितानले बताए । उनका अनुसार पर्यटकीय मार्ग ‘जुम्ला–उर्थु–भुलभुले–राराताल’ जोड्न सडकलाई भरपर्दो र फराकिलो बनाउन काम भइरहेको छ ।
टुक्रे योजना विकासका चुनौती
कर्णालीको पूर्वाधार विकास अपेक्षित रूपमा नहुनुका विभिन्न कारणमध्ये एक टुक्रे योजनामा बजेट छुट्याउनु पनि हो । पूर्वाधार विकास कार्यालय जुम्लाका प्रमुख हरिबहादुर ओली बजेट अभाव, टुक्रे योेजना निर्माण, निर्माण व्यवसायीको ढिलासुस्तीका कारण जुम्लाको पूर्वाधार विकास लक्ष्यअनुसार हुन नसकेको बताउँछन् ।
उनले भने, “१०र२० लाखका योजना पनि प्रदेशले पठाउँछ । कार्यान्वयनमा निकै चुनौती छन् भने चिसोका कारण हिउँदको चार महिना काम गर्न सकिँदैन । अघिपछि निर्माण व्यवसायीको ढिलासुस्ती । कार्यालयको ताकेताले मात्रै काम हुुन्छ ।” बहुवर्षीय योजना निर्माण गर्ने कार्यालयमा टुक्रे योजना पठाउने प्रवृत्तिले पूर्वाधार विकास लक्ष्यअनुसार भएको छैन ।
साथै ल्याब नहुँदा गुणस्तर मापन गर्न पनि समस्या छ भने नियमित साइट हेर्न जानका लागि सवारी साधन अभाव, सडक निर्माणमा घर जग्गा विवादजस्ता थुप्रै चुनौतीको सामना गर्दै जुम्लाको पूर्वाधार विकास अघि बढेको छ । पर्याप्त बजेट नहुँदासमेत समस्या भएको छ । कारोबार दैनिकबाट