सल्यान। शारदा नगरपालिका–१ श्रीनगरसँग १२ र १३ नम्बर वडाको स्यानीखाल जोड्न शारदा नदीमा निर्माण सुरु हुने पक्की पुलको काम १० महिनादेखि रोकिएको छ । पिलर गाड्नका लागि ड्रिल गर्ने क्रममा कडा चट्टान भेटिएपछि निर्माण रोकिएको हो ।
पुल निर्माणका लागि ९ करोड रुपैयाँमा जलजला/जयमा/स्वर्गद्वारी निर्माण कम्पनीले काम गर्ने जिम्मा लिएको छ । उसले कडा चट्टानमा ‘डीएमसी’ मेसिनले समेत प्वाल पार्न नसकिएपछि निर्माणको काम अलपत्र परेको हो । अहिले निर्माण कम्पनीले ल्याएको सामग्री त्यत्तिकै थन्किएका छन् ।
स्यानीखाल सडकमा बाह्रै महिना यातायातका साधन सञ्चालन गर्न पक्की पुल निर्माणको काम थालिएको थियो । पुल निर्माणको काम सुरुवाती चरणमै काम रोकिएपछि बर्खाको समयमा जोखिम मोलेर नदी वारपार गर्नुपर्ने बाध्यता भएको स्थानीय कमलसिंह घर्तीले बताए । उनका अनुसार पुल भए गाउँबाट श्रीनगर पुग्न बढीमा १० मिनेट लाग्छ । पुलको काम अलपत्र परेपछि आधा घण्टा हिँडेर झोलुंगे पुल तर्नुपर्ने बाध्यता छ । ‘झोलुंगे पुल भेट्टाउन अर्को गाउँ जानुपर्छ, त्यसैले जोखिम मोलेरै भए पनि नदी तर्न बाध्य छौं,’ उनले भने, ‘वर्षायाममा गाडी नचल्दा सानो कामका लागि ठूलो सास्ती भोग्न बाध्य छौं ।’
पिलर गाड्न ठेकेदार कम्पनीले जमिनको केही भाग खने पनि अरू केही काम नगरेको उनको भनाइ छ । जमिनमुनि कडा चट्टान भेटिएको भनेर ठेकेदार कम्पनी पन्छिन खोजेको स्थानीय रेशमबहादुर बुढाथोकीले बताए । ‘पक्की पुल बनेमा वर्षात्को समयमा रातबिरातमा पनि गाडीबाट आउजाउ गर्न सहज हुन्थ्यो,’ उनले भने, ‘गाउँमा कोही बिरामी भए उपचारका लागि लैजान पनि समस्या छ ।’ निर्माणस्थलमा अहिले मजदुर र ठेकेदार कम्पनीका प्रतिनिधि देखिन छाडेको उनको भनाइ छ ।
सडक डिभिजन कार्यालय दाङका इन्जिनियर नारायण दाहालले पुल निर्माणस्थलको करिब २० मिटर तल जमिनमुनि कडा चट्टान भेटिएको बताए । ठेकेदार कम्पनीले ल्याएको ठूलो मेसिनले पनि चट्टानमा प्वाल पार्न नसकेका कारण काम रोकिएको उनको भनाइ छ । उनका अनुसार दुई वर्षभित्र काम सक्ने गरी गत मंसिरमा ठेकेदार कम्पनीले पुल निर्माणको काम सुरु गरेको हो । ६० मिटर लम्बाइको उक्त पुल निर्माणको अवधि सकिन अब झन्डै ९ महिना मात्र बाँकी छ । ‘ठेकेदारले डिजाइन बदल्न माग गरेका छन्, त्यसबारे हामीले पनि छलफल चलाइरहेका छौं,’ उनले भने, ‘छिट्टै केही टुंगो लाग्ला ।’
निर्माण कम्पनीका ठेकेदार केबी ओलीले पुल निर्माणका लागि पिलर बनाउन २७ मिटर गहिराइसम्म प्वाल पार्नुपर्ने हुन्छ । तर मेसिनले २० मिटरभन्दा तल प्वाल पार्न नसकेको र मेसिनको ड्रिल गर्ने सिजल जमिनमुनि अड्केको उनको भनाइ छ । उनले सडक डिभिजनलाई डिजाइन बदल्न आग्रह गरिएको बताए । कान्तिपुरबाट