काठमाडौँ। खाल्डाखुल्डी १५ दिनभित्र पुर्न उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले निर्देशन दिए पनि निर्धारित समयमा खाल्डाखुल्डी पुर्न नसकिने सडक डिभिजन कार्यालय, काठमाडौंले जनाएको छ।
डिभिजनका प्रवक्ता सुनित केसीकाअनुसार मन्त्रीले दिएको निर्देशन बमोजिमको कार्यतालिका तय गरिए पनि खाल्डाखुल्डी सबै पुर्न भने नसकिने उनको भनाइ छ ।
उनले भने, “निर्देशन दिएबमोजिमको १५ दिनको कार्यतालिका हामीले मन्त्रीसमक्ष पेश गरेका छौँ । तर काम गर्ने क्षमता नै कम भएका कारण काममा केही ढिलाई भएको हो । ” अवैध उद्योग बन्द गर्ने सरकारको निर्णयले काममा केही बाधा पुगेको उनको भनाइ छ ।
अवैध क्रसिङ् उद्योगहरु बन्द गर्न गृह मन्त्रालयले पुस २० गते सबै जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गर्दै अवैध क्रसिङ् उद्योगहरु बन्द गर्न आग्रह गरेको थियो । त्यसपछि व्यवसायीले ढुवानी नै रोेकेका छन् । केसीका अनुसार बाटो पिच गर्नका लागि चाहिने बालुवा, गिट्टी , रोडा नै व्यवयासीले ढुवानी नगरिदिएकाले काममा ढिलाइ भएको उनको भनाइ छ ।
उनले भने, “अवैध क्रसिङ् उद्योगहरु बन्द गर्न लगाएसँगै व्यवसायीहरुले गिट्टी, बालुवा र रोडाको ढुवानी रोकेका कारण सामग्रीको अभाव भएर कम सुस्ताएको छ ।”
अहिले दैनिक दुई सिफ्टमा काम भइरहेको पनि उनको भनाइ छ । तर, खाल्डाखुल्डी पुर्नका लागि बालुवा, गिट्टीको अभाव भएकाले काममा सुस्तता आएको उनले स्वीकार गरे । अहिले काठमाडौंको कोर एरिया भित्र खाल्डाखुल्डी पुर्ने काम भइरहेको उनले बताए ।
कतिपय सडकहरुमा विद्युतका तार, खानेपानीका पाइप तथा ढलका पाइपहरु विछ्याउन सडक खन्ने र राम्रेसँग नपुरे छाडिदिनाले पनि काममा बाधा भइहरहेको उनको भनाइ छ ।
यस्तै, बिग्रिएका सडकहरु डिभिजन कार्यालय काठमाडौंको क्षमताले नभ्याउने भएकाले ठेक्का समेत लगाएको छ । डिभिजन कार्यालयको क्षमताले नभ्याउने बालाजु–सोह्रखुट्टे सडकको ठेक्का समेत लागेको उनी बताउँछन्।
उनले भने, “केही सडकहरु मर्मतका लागि हामीसँग भएको क्षमताले भ्याउदैन त्यसकारण ठेक्का नै लगाउनुपर्छ । बालाजु सोह्रखुट्टे सडकमा हामीले ठेक्का नै लगाएका छौँ । सम्झौता पनि भइसकेको छ । अहिले जाडोको समय भएकाले सडक पिच गर्न मिलेको छैन, अन्तिम माघबाट काम सुरु हुन्छ ।”
यस्तै, डिभिजन कार्यालयले सडकमा मेटिएका जेब्रा क्रसिङ्गमा रंगरोगन लगाउने जनाएको छ । धेरै ठाउँहरुमा जेब्राक्रसिङ् मेटिएको र यात्रुलाई सडक वारपार गर्न नै समस्या भएकाले मेटिएका जेब्रा क्रसिङ्गको रेखाङ्कन गर्न लागिएको उनको भनाइ छ । गोरखापत्रबाट