काठमाडौं। राष्ट्रिय विभूति बीर भक्ति थापाले बालापनमा गाईबस्तु चराएको लमजुङको मस्र्याङ्दी गाउँपालिका वडा नं ३ मा रहेको हर्सिङडाँडा उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा विकसित हुन थालेको छ।
हर्सिङडाँडामा आन्तरिक पर्यटक घुमफिर र बास बस्नसमेत आउन थालेपछि यो क्षेत्र पर्यटकीय गन्तव्यका रुपमा विकसित भएको हो ।
ऐतिहासिक एवं पर्यटकीय स्थल हर्सिङडाँडामा पर्यटकको आगगमन बढ्न थालेको स्थानीय पर्यटन व्यवसायी पूर्णबहादुर गुरुङले बताए । हर्सिङडाँडामा आउने पर्यटकहरु रात विताउने र क्यामफायर गरेर रमाउने गरेको उनले बताए ।
कोरोना सङ्क्रमणको समयमा लकडाउन हुँदा सबैतिर पर्यटक आगमन ठप्प हुँदापनि हर्सिङडाँडामा पर्यटकहरु पुगेका थिए । यस डाँडाबाट मस्र्याङ्दी गाउँपालिकाको पर्यटकीय गाउँ सिउरुङ, भुस्मे, ढंगै, घनपोखरा, सिम्पानी, खुदीलगायत अधिकांश ठाउँ अवलोकन गर्न सकिन्छ ।
त्यस्तै, स्मार्ट भिलेज घलेगाउँ, कल्मेडाँडा, बेँसीसहर बजार, मस्र्याङ्दी र खुदीखोलाको नागबेली, डा। हर्क पिक हिमाल, मनासलु रेन्ज, बुद्ध हिमाललगायत अवलोकन गर्न सकिन्छ ।
समुन्द्री सतहबाट २ हजार २ सय ८४ मिटर उचाईमा रहेको यो ठाउँमा बेसीसहरदेखि खुदी हुँदै करिब २० किलोमिटरको यात्रामा पुग्न सकिन्छ । खुल्ला समथर भुभाग, चारैतिरको दृश्यावलोकन गर्न सकिने, नजिकै देखिने मनोरम हिमशृखला, मस्र्याङ्दी भ्याली यसको मुख्य आकर्षण रहेको मस्र्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले बताए । पर्यटकीय स्थल हर्सिङडाँडा पुग्ने सडक स्तरउन्नतीलगायतका काममा गाउँपालिकाले सहयोग गरिरहेको छ ।
वि।सं। १८०२ मा खुदीको ढंगैबेंसीमा जन्मिएका बीर भक्ति थापाको हर्सिङडाँडामा छेलो हालेको ठाउँ, गोठ राखेको ठाउँ, गोठमा पकाएर खाने गरेको ओदानलगायत छन् । ऐतिहासिक तथा पर्यटकीयस्थल हर्सिङडाँडाको संरक्षण गर्दै पर्यटकीय गन्तव्य बनाउने अभियानमा यहाँका स्थानीयदेखि सरोकारवाला एकजुट हुनुपर्ने मस्र्याङ्दी गाउँपालिका– ३ का निर्वतमान वडाअध्यक्ष प्रेमबहादुर बस्नेत बताउँछन् ।
अन्नपूर्ण पदमार्ग अन्र्तगत पर्ने हर्सिङडाँडामा स्थानिय युवाहरुले ‘हर्सिङ कम्यूनिटी क्याम्प साइट’ सञ्चालनमा ल्याएका छन् ।