कावासोती। पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्ड बिस्तार भएको तीन वर्ष पूरा हुँदा २३ प्रतिशत मात्र काम भएको छ । सडक विस्तारको काम सम्झौता भएको मितिले ४८ महिना भएको भए पनि सडक पुनः निर्माणको प्रगति भने निराशाजनक छ ।
बुटवल–नारायणगढ खण्डको ११४ किलोमिटर सडक सहरी क्षेत्रमा ६ लेन तथा जङ्गल एवम् ग्रामीण क्षेत्रमा चार लेन र दाउन्ने खण्डमा भौगोलिक कठिनाइका कारण तीन लेनमा विस्तार हुनेछ । एक सय १४ किमीमध्ये २८ किमीमा ‘सिक्स लेन’ अर्थात् सर्भिस लेन पनि सँगै हुनेछ । हालसम्म नारायणगढ–बुटवल सडकको प्याकेज–१ मा २२ प्रतिशत र प्याकेज–२ मा २३ प्रतिशत काम भएको छ ।
गैँडाकोटमा एक सय १० मिटर परीक्षण कालोपत्र तथा विभिन्न ठाउँमा ठूला तथा साना पुल निर्माणलाई तीव्रता दिइएको छ । दाउन्ने–गैँडाकोट खण्डमा २ सय १५ वटा साना पुल (कल्भर्ट)‚ २२ वटा मध्यम पुल (माइनर ब्रीज) र २५ मिटरभन्दा लामा १२ वटा ठूला पुल पर्दछन् ।
जसमध्ये ८० वटा साना पुल पूर्णरुपमा सम्पन्न भएका छन् । ६० वटा पुल आंशिक रूपमा सम्पन्न भएका छन् । दाँयाबाँयाको काम भएको र बीचको काम बाँकी रहेको छ । त्यसैगरी २५ वटा पुलको काम सुरु भएको चाइना स्टेट कन्स्ट्रक्सनका डेपुटी कनट्याक्ट म्यानेजर राजेश झाले बताए ।
यहाँका जयश्री, पत्थरखोला, बौलाह खोला र लोकाहखोला पुल लगायतको निर्माण कार्य अघि बढेको छ । लोकाहा र डन्डाको पत्थरखोला पुल वर्षायामअघि नै गाडी गुडाउन मिल्ने बनाउने लक्ष्यका साथ काम भइरहेको सडक इन्जिनियर र झाले बताए । इन्जिनियर झाका अनुसार ४ वटा पुलको जग हाल्ने काम (जमिन मुनिको काम) समेत हुन सकेको छैन ।
प्राविधिक रूपमा असहज भएकाले पनि यी पुलको जग समेत हाल्न नसकिएको बताउए । पुल निर्माण भइरहेको स्थानमा डाइभर्सन (वैकल्पिक सडक)बनाएर काम अघि बढेको छ । सडक विस्तारका क्रममा अहिले पुल निर्माण, रुख कटान, निकास निर्माण तथा सडक किनारमा माटो भर्ने काम भइरहेको छ ।
क्रसर उद्योग बन्द हुँदा अस्थायी एकवटा क्रसर उद्योगबाट निर्माण सामग्री ल्याएर कार्य भएको छ । अहिलेसम्म रुख कटानको काम ९९ प्रतिशत मात्रै सकिएको छ झाले भन्नुभयो, “विद्युत् पोल सार्ने काम ३० प्रतिशत मात्रै पूरा भएको छ, सडक विस्तारमा समस्या भएको छ” नारायणगढ–बुटवल सडक योजनाको पूर्वीखण्डका आठ स्थानमा वन्यजन्तुमैत्री पुल निर्माण भइरहेको छ । भूबनावटका कारण राजमार्गका विभिन्न ठाउँमा साना कल्भर्ट (सेतुमार्ग) निर्माण भएका छन् ।
एसियाली विकास बैङ्क एडिबीको ऋण सहयोगमा विस्तार सुरु भएको सडक निर्माणको लागत रु १६ अर्ब ९९ करोड ५२ लाख छ । लागतको ८५ प्रतिशत एडिबीले ऋण उपलब्ध गराएको छ । बाँकी थप नेपाल सरकारकै लगानी छ । दुई प्याकेजमा निर्माण भइरहेको सडकको गैँडाकोट–दाउन्ने सडकखण्डमा पर्ने ६५ किमी खण्डको लागत रु नौ अर्ब १३ करोड १८ लाख ९५ हजार तथा दाउन्ने–बुटवल खण्डमा पर्ने ४९ किमी खण्डको लागत रु सात अर्ब ८६ करोड ३४ लाख छ ।