काठमाडौं। नेपालको पहिलो फ्लाइओभर निर्माणको काम आगामी फागुनबाट सुरु हुने भएको छ । ललितपुरको ग्वार्कोमा निर्माण हुने फ्लाइओभर निर्माण माघबाटै सुरु हुने भनिएकोमा डिजाइन स्वीकृत हुन समय लाग्ने भएपछि फागुनबाट मात्रै सुरु हुने भएको हो ।
सडक विभागका उपमहानिर्देशक भिमार्जुन अधिकारीले भने, “निर्माण कम्पनीले पेस गरेको डिजाइनमा केही करेक्सन गरेर विभागले पठाएको छ । सोहीअनुसार डिजाइन फाइनल भएर आएपछि स्वीकृत भएर निर्माण कार्यमा जानेछ ।” डिजाइनमा केही हेरफेर भएकाले निर्माण कार्य एक महिना पर धकेलिएको विभागको भनाइ छ ।
हाल निर्माण कम्पनीले डिजाइन करेक्सन गर्ने काम गरिरहेको छ । विभागका अनुसार माघभित्र डिजाइन स्वीकृत भएर फागुनबाट निर्माणको काम सुरु हुनेछ । निर्माणको जिम्मा आरसी, समानान्तर र रेलिग्रेले पाएका छन् । सवारीको चाप यो क्षेत्रमा बढी भएकाले सवारी व्यवस्थापनका लागि ग्वार्को चोकमा फ्लाइओभर निर्माणको काम अगाडि बढाइएको हो ।
सवारी चाप व्यवस्थापन गरी जाम फ्री बनाउने अभियानस्वरुप पहिलो चरणमा ग्वार्को चोकमा फ्लाइओभर बनाउन लागिएको विभागको भनाइ छ । १७ करोड ६८ लाख रुपैयाँ लागत रहने यस फ्लाइओभरको निर्माण आगामी १४ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य छ । मेकानिकल्ली स्टेबलाइज अर्थ (एमएसइ) वालको प्रयोग गरी ६ मिटरको पिलर निर्माण गरेर फ्लाइओभर तयार गरिने छ ।
फ्लाइओभरको लम्बाइ ४ सय ९० मिटर हुनेछ । ईपीसी (इन्जिनियरिङ प्रोक्युरमेन्ट कन्स्ट्रक्सन) मोडलमा ठेक्का लगाइएको छ । यस फ्लाईओभरमा बालकुमारीतर्फबाट २ सय ८० मिटर लामो र सातदोबाटोतर्फबाट १ सय ७५ मिटर लामो र्याम निर्माण गरिनेछ भने उचाइ ६ मिटरको हुनेछ । १४ महिनाभित्र निर्माण कम्पनीले तयार गरेर सरकारलाई हस्तान्तरण गर्नुपर्छ ।
साथै डिजाइनदेखि निर्माणको सबै उत्तरदायित्व निर्माण कम्पनीकै हुनेछ । हाल रिङरोडमा रहेको ८ लेनमध्ये ४ लेनलाई उठाएर फ्लाइओभर निर्माण गरिने भएकाले सवारी आवतजावत रोकिनेछैन । निर्माणपछि कलंकी–कोटेश्वर खण्डका सवारी फ्लाइओभरबाट र ग्वार्को–लामाटार र ग्वार्को–पाटनका सवारी ओभरपासको सडक खण्डबाट गुड्ने छन् ।
सडक विभाग अन्तर्गतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका अनुसार ग्वार्को, सातदोबाटो र एकान्तकुना चोकमा ग्रेड सेपरेटेड इन्टरसेक्सन निर्माण गर्ने योजनाअनुरुप पहिलो चरणमा ग्वार्को चोकमा फ्लाइओभर बनाउन लागिएको हो । सवारी चापको आधारमा पहिलो चरणमा ग्वार्को चोकमा फ्लाइओभर निर्माण हुन लागेको हो ।
रिङरोडमा ट्राफिक जाम नहोस् र सवारी कतै रोकिनु नपरोस् भनेर फ्लाइओभर बनाउन लागिएको विभागको भनाइ छ । एकान्तकुना र सातदोबाटोमा पनि फ्लाइओभर निर्माण गरी कलंकी–कोटेश्वरलाई सवारीको चापमुक्त ९ट्राफिक फ्रि०जोन बनाउने विभागको तयारी छ । अन्डरपास वा फ्लाइओभर निर्माण पूरा भएसँगै यो क्षेत्रको ट्राफिक व्यवस्थापनमा सहजता आउने विश्वास विभागको छ। कारोबार दैनिकबाट