म्याग्दी। म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजना निर्माण अन्तिम चरणमा पुगेको छ । म्याग्दी हाइड्रोपावर प्रालि प्रवर्द्धक रहेको आयोजनाको भौतिक संरचना निर्माण सकेर उपकरण जडान सुरु भएको छ ।
आयोजनाका आवासीय इञ्जिनियर जोसेप बज्राचार्यले आगामी चैत महिनाभित्र विद्युत् उत्पादन सुरु गर्ने तयारी भइरहेको भन्दै हाल बाँध, सुरुङ र पेनस्टेक पाइपलाइनको परीक्षण गर्ने तयारी भएको बताउनुभयो । उहाँका अनुसार तीन हजार पाँच मिटर लामो सुरुङ पलास्टरको काम पनि अन्तिम चरणमा छ ।
अन्नपूर्ण गाउँपालिका–५ शिख र ६ घारको सिमानामा पर्ने कुरिला बगरमा जगदेखि ११ मिटर अग्लो बाँध निर्माण भएको छ । बाँध र ४५ मिटर लम्बाइको दुई वटा पानी थिग्राउने पोखरी (डिसेन्डर) बनाइएको छ । डिसेन्डरदेखि सुरुङसम्म दुई सय ४८ मिटर लामो डिसेण्डर एप्रोच क्यानल जडान भएको छ । बाँध, डिसेन्डर र एप्रोच क्यानलको पहिलो चरणको परीक्षण सफल भएको छ ।
अमिला काफलमा रहेको आउटलेटदेखि विद्युतगृहसम्म चार सय ८५ मिटर पेनस्टक पाइप जडान भएको छ । आउटलेटदेखि विद्युत्गृहको दुरी एक हजार २०० मिटर र उचाइ चार सय ८५ मिटर छ । पोखरे बगरस्थित गोजेखोल्सीमा पहाड काटेर विद्युत्गृहको भवन निर्माण सकेर झ्याल ढोका राख्ने र रङगरोगन भइरहेको छ ।
विद्युतगृहमा टर्वाइन, जेनेरेटरलगायतका इलेक्ट्रोमेकानिकलतर्फका उपकरण जडान भइरहेको छ । इलेक्ट्रिकल ठेकेदार सिमर इनर्जी प्रालि इन्डिया, हाइड्रो मेकानिकल ठेकेदार सिई हाइड्रो मेकानिकल वर्क प्रालिका प्राविधिकले विद्युत्गृहमा उपकरण जडानको काम गरिरहेका हुन् ।
सिभिल ठेकेदार साउथ एसियन इन्फ्रास्ट्रक्चरले ९८ प्रतिशत भौतिक संरचना निर्माण सकेको बताएको छ । पोखरेबगरदेखि दुई सय २० केभी क्षमताको दाना सब स्टेशनसम्म आठ किलोमिटर ३३ केभिएको डबल सर्किट प्रशारण लाइनको पोल गाड्ने र सवस्टेशनमा सिभिल संरचना बनाएर तार तान्न थालिएको छ ।
विसं २०७४ चैत महिनादेखि सुरु भएको घारखोला विसं २०७८ माघमा सञ्चालन गर्ने लक्ष्य राखिएको थियो । कोरोना, निषेधाज्ञा, बन्दाबन्दी र प्राकृतिक विपद्का कारण ढिलाइ भएको हो । कूल रु दुई अर्ब ४२ करोडको लागत अनुमान गरिएको आयोजनामा एनएमबि बैंकको नेतृत्वमा एनआइसी एसिया, कुमारी र प्राइम कर्मसियल बैंकले कर्जा लगानी गरेका छन् ।
नागरिक ऊर्जा बुटवल लिमिटेडको अगुवाइमा रुपन्देहीका सर्वसाधारणले पनि लगानी गरेका छन् । आयोजना प्रभावित र सर्वसाधारणका लागि संस्थापक शेयर लगानी आह्वान गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको प्रवर्द्धकले बताएका छन् ।