चितवन। पश्चिम चितवनमा फस्टाउँदो व्यावसायिक कृषिसँगै कृषि पर्यटनको सम्भावना बढेको छ । पश्चिम चितवनमै पहिलो ड्रागन फ्रुट, व्यावसायिक पशुपालन, माछापालन, मौरी, तरकारीकोे पकेट क्षेत्र विस्तारले कृषि पर्यटनको सम्भावना बढ्दै गएको हो ।
पश्चिम चितवनको जगतपुरमा ६२ बिघा जमिनमा सामूहिक तरकारीखेती गर्दै आएको केरूङ्गा सामूहिक तरकारी कृषि फार्म कृषि पर्यटनको गन्तव्यका रुपमा विकास भैरहेको छ । सामूहिक खेतीमार्फत कृषि उत्पादनमा वृद्धि भएपछि देशभरका किसान, कृषि विज्ञ, विद्यार्थी, सहकारीकर्मीका लागि भरतपुर महानगरपालिका वडा नं–२४ स्थित उक्त फार्म अध्ययन, अवलोकनको केन्द्र बनेको छ ।
फार्मको ग्रीन हाउस, थोपा सिंचाइ, कार्यव्यवस्थापन भवन तथा तालिम केन्द्र, संकलन केन्द्र, मल भण्डार भवन, तरकारीबारी दृश्यावलोकनका लागि मचानसहित ६२ बिघा जग्गामा लगाइएको तरकारीका कारण पनि अहिले केरूङ्गा सामूहिक तरकारी कृषि फार्म कृषि पर्यटनतर्फ उन्मुख हुँदै गरेको संस्थाका संरक्षक तथा भरतपुर–२४ का वडाध्यक्ष कान्छा मल्ल बताउँछन् । उक्त खेतीलाई कृषि पर्यटकीय गन्तव्यका रुपमा घोषणा गर्नुपर्नेमा उनको जोड छ ।
पर्यटक बस्न सक्ने क्षमताका होमस्टे निर्माण कार्यमा जुटिरहेको बताउँदै अध्यक्ष मल्लले १० कट्ठा जमिनमा निर्माण गरिएका होमस्टेसँगै पर्यटकलाई खेतीबारे एकमुष्ट जानकारी दिनका लागि व्यवस्थित सभाहल निर्माण भइसकेको उनले बताए । ९६ जना स्थानीय किसानहरु केरूङ्गा सामूहिक तरकारी कृषि फार्ममा आबद्ध छन् ।
भरतपुर महानगरपालिका–२६, दिव्यनगरका दुई दाजुभाइ पदमबहादुर गुरूङ र उनका भाइ मेजर ताइबहादुर गुरूङको फार्ममा ड्रागन फ्रुट फुल्न र फक्रन सुरू गरेका छन् । दुई दाजुभाइले गंगाश्री बहुउद्देश्यीय कृषि फार्म दर्ता गरेर व्यावसायिकरुपमा ड्रागन र नर्सरीको खेती गरिरहेका हुन् । बाह्य तथा आन्तरिक पर्यटकका लागि उत्कृष्ट गन्तव्य बनेको छ, यो फार्म ।
विसं २०६० सालदेखि पश्चिम चितवनको भरतपुर–२५, शुक्रनगरमा १८ बिघा जग्गामा तरकारीखेती गरेका ५४ वर्षीय गणेशप्रसाद भूषाल बहुवर्षीय फलफूलखेतीअन्तर्गत केरा, किवी, मेवा, ड्रागन फ्रुटको खेती गर्ने सोचमा छन् । पर्यटन विकासको चुनौतीलाई चिर्न कृषि पर्यटन फलदायी साबित हुने उनको विश्वास छ ।
यस्तै, भरतपुर–२५, अमृतनगरका कृष्णप्रसाद न्यौपानेले विसं २०७१ सालमा नोबेल एग्रिकल्चर फार्मको नाममा दर्ता गरेर व्यावसायिक तरकारीखेती सुरू गरेका छन् । उनको कृषिकर्म अहिले ३५ बिघामा फैलेको छ । माछापालनमा राम्रो सम्भावना देखेर डेढ वर्षअगाडि वायोफ्लक्स प्रविधि अपनाएर माछापालन सुरू गरेका न्यौपानेले ४ वटा पोखरीमा पानी भरेर माछापालन गरेका छन् । उनको वायोफ्लक्स प्रविधि पर्यटकहरुका लागि थप आकर्षण बनेको छ ।
यस्तै, भरतपुर–२५, अमृतनगर जनज्योति टोलका १९ जना उत्साही युवाहरु सामूहिक कृषिकर्ममा जुटेका छन् । बाबुआमाले गर्दै आएको तरकारीखेतीलाई निरन्तरता दिन ‘युवा आधुनिक कृषि सामूहिक खेती ’ समूह गठन गरेर ८० बिघा जमिनलाई चक्लाबन्दी गर्दै नवपुस्ता नयाँ जोशका साथ कृषिकर्ममा होमिएको हो ।
‘१९ जनाको ८० बिघा जमिन छ, प्रत्येकलाई चारपाँच बिघा जमिन भाग लगाउने, के–के लगाउँदा बजारको मागसँग सन्तुलन मिलाउन सकिन्छ त्यही तरकारी लगाउने र रेखदेखको समेत जिम्मा दिइन्छ’, समूहका अध्यक्ष लेखनाथ सुवेदीले भने । सामूहिक खेतीमा जुटेका १९ जनामा अधिकांश ३०।३५ वर्षे युवा नै छन् ।
पश्चिम चितवनका कृषकहरुले माछापालन व्यवसायबाट मनग्य आम्दानी लिन थालेका छन् । भरतपुर–२०, शारदानगरमा मात्र ८५ बिगाहामा माछा पोखरी रहेको छ । २०४२ देखि साबिक जिल्ला कृषि विकास कार्यालयले माछापालन कार्यक्रममार्फत सहयोग गरेपछि कृषकको आकर्षण बढ्दै गएको शारदानगरको शंकरचोक जागृति माछापालक समूहका सचिव हरिप्रसाद पण्डित बताउँछन् । सो समूह चितवनकै पुरानो माछापालक समूह रहेको उनको दाबी छ ।
चितवन मौरीपालन व्यवसायका लागि पकेट क्षेत्र हो । भरतपुर–२६, भूपालनाथ कँडेलले २०५५ सालदेखि मौरीपालनलाई व्यवसायका रुपमा अघि बढाएका हुन् । कँडेलले मेलिसरा जातको मौरीबाट उत्पादित मह घरबाटै खोसाखोस बिक्री हुने गरेको छ ।
‘२ लाखको लगानीमा २० वटा घारबाट सुरू गरेकोमा अहिले ८० घार मौरी छन्’, उनले भने, ‘मह बेचेर वर्षमा ५र६ लाखजति कमाउने गरेको छु ।’ उत्तम सिजन परेको बखत राम्रो चरन व्यवस्थापन गर्न सक्दा ८० घार मौरीबाट वर्षमा १४र१५ क्विन्टलसम्म मह काढ्ने गरेको उनी बताउँछन् ।
पश्चिम चितवनको शुक्रनगर, अमृतनगर, बसगठ्ठा, कटरटाँडी, चैतन्य बस्ती, नयाँबस्ती, ध्रुव, बयरघारीलगायतका क्षेत्र तरकारीखेतीको पकेट क्षेत्रका रुपमा परिचित छन् ।