काठमाडौं। स्याङ्जाको वालिङमा आधुनिक ‘नमुना’ बसपार्क बन्ने भएको छ । बसपार्कको अभावमा व्यवस्थित सवारी पार्किङको समस्या झेल्दै आएको वालिङको ठूलो समस्यासमेत समाधान हुने भएको छ । वालिङ बजारको शितलनगरमा आधुनिक ‘नमुना’ बसपार्कको निर्माण भएसँगै पार्किङको समस्या समाधान हुने भएको हो ।
नेपालकै स्मार्ट सिटीको रुरूमा परिचित वालिङमा सवारी साधन व्यवस्थित पार्किङ गर्ने ठाउँको अभावले बजार क्षेत्र साँघुरो र कुरुप बन्दै गएको थियो । सवारी पार्किङको समस्या समाधानका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको छ । बसपार्क निर्माणका लागि सहरी विकास कोषको ९० प्रतिशत र वालिङ नगरपालिकाको १० प्रतिशत लगानीमा डीपीआर तयार भएको वालिङ नगरपालिकाका नगरप्रमुख कृष्ण खाँणले जानकारी दिए ।
वालिङमा बसपार्क अभावमा लामो तथा छोटो दूरीका सवारी साधन व्यवस्थित रूपमा पार्किङ गर्न नपाउने समस्या अब छिट्टै समाधान हुने नगरप्रमुख खाँणले बताए । “वालिङबाट छुट्ने तथा वालिङमा रोकिने ठूला, मझौला तथा साना सवारी साधनको पार्किङको समस्या अब समाधान हुन्छ ।” लामो तथा छोटो दूरीका सवारी साधन बाटो किनार, निजी जग्गा वा अन्यत्र पार्किङ गर्नुपर्ने समस्या समाधान हुने खाँणले बताए ।
बसपार्क निर्माणको काम संघीय सरकार र प्रदेश सरकारको समपूरक योजनाका रूपमा अघि बढाइने नगर उपप्रमुख कविता तिवारीले बताइन् । उपप्रमुख तिवारीका अनुसार पब्लिक–प्राइभेट पार्टनरसीप (पीपीपी) मोडेलमा बसपार्क निर्माणको काम हुनेछ । नमुना बसपार्कको टर्मिनल भवन, घेरा पर्खाल, वर्कशप, आन्तरिक बाटोलगायत सम्पूर्ण निर्माणका लागि १४ करोड ४१ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
सहरी विकास कोषबाट ८० प्रतिशत ऋण तथा वालिङ नगरपालिकाको २० प्रतिशत लगानीमा बसपार्क बन्ने छ । निर्माण सम्पन्न भएपश्चात बसपार्कमा प्रतिघण्टा ९६ वटा सवारी साधन पार्किङ गर्न सकिनेछ । जीप, मिनीबस, माइक्रोबस लगायतका छोटो दूरीमा चल्ने सवारी साधन प्रतिघण्टा ४२ वटा पार्किङ गर्न सकिनेछ । लामो दूरीमा चल्ने ठूला बसहरू प्रतिघण्टा ४८ र बिजुलीबाट चल्ने बसहरू प्रतिघण्टा ८ वटा, प्रतिघण्टा २ पांग्रे १० तथा २० वटा निजी कार अट्नेछन् । कारोबार दैनिकबाट