फाइल तस्बिर
लमजुङ। लमजुङ सदरमुकाम बेंसीसहर आउने एकमात्र डुम्रे-बेंसीसहर सडकको उदिपुर देउराली डाँडा पहिरोमा फेरि त्रास बढेको छ ।हिउँदमा समेत सुख्खा पहिरो जाने गरेको र यसले बर्खायाममा झन दुःख दिन थालेपछि बैकल्पिक सडक निर्माणका लागि स्तरोन्नतिको पहल थालिएको हो।
बेंसीसहर नगरपालिका- ८ को प्रशासन चोक हुँदै बाँझाखेत भएर आँपचौर, चितीको बरबोट, रिट्ठेबगर हुँदै मस्र्याङ्दी नदी पारीको बाटो उदिपुरसम्म बैकल्पिक सडक स्तरोन्नतिको पहल थालिएको हो ।
उक्त सडकको प्रतिनिधिसभा सदस्य एवं गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसहितको एक टोलीले गत शनिबार अनुगमन पनि गरेको थियाे । संविधानसभा सदस्य जमीन्द्रमान घलेका अनुसार उक्त टोलीले उदिपुर देउरालीडाँडाको पहिरोको निरीक्षण अवलोकन गर्दै उदिपुरबाट रिट्ठेबगर हुँदै पारीको बाटोको अनुगमन गरेको हो ।
अनुगमनका क्रममा एमालेका उपमहासचिवसमेत रहेका पृथ्वीसुब्बा गुरुङले वैकल्पिक सडक निर्माणको लागि पहल थालिने बताए । उनले सडक स्तरोन्नतिका लागि मन्त्रालयमा पुगेको फाइल अघि बढाउन आफू लागिपर्ने बताए ।
गत भदौ ११ गते पहिरोले यसअघिको डाइभर्सन सडक समेत बगाएपछि कहिले नेपाली सेनाको चण्डीप्रसाद गण हुँदै र कहिले माथिल्लो बाटो तथा कहिले पहिरो गएकै बाटो मर्मत गरेर अस्थायी रुपमा सवारी आवागमन गराइरहेको छ ।
यसले जोखिम बढेको भन्दै नागरिक तहबाट सडक छिटो निर्माण गर्न सडक कार्यालयलाई दवाव दिइरहेको छ । वैकल्पिक सडक निर्माण गर्न नसकिए अझै बर्खायाममा ३–४ महिना नै बन्द हुन सक्ने बेंसीसहर नगरपालिका प्रमुख गुमानसिंह अर्यालले बताए ।
डुम्रे–बेंसीसहर–चामे सडक योजनाका कार्यालय प्रमुख ईन्जिनियर अच्युतविलास पन्तले बैकल्पिक सडक निर्माणको लागि मस्र्याङ्दी पारीपट्टीको सडकको स्तरोन्नति गर्न १० लाख रुपैयाँको स्टेमेटसहित सडक विभागमा पुगेको बताए।
अहिले पहिरो गएकै ठाउँमा पक्की सडक निर्माणको लागि २० करोड रुपैयाँ बराबरको टेन्डर आह्वान भएर सडक निर्माण प्रक्रिया अघि बढेको छ । यो सडक चालु आर्थिक वर्षभित्र निर्माण नसक्ने भएको हुँदा बैकल्पिक सडक निर्माणबिहान सदरमुकाम बेंसीसहर साथै मनाङसम्मको सवारी साधन आउजाउमा समस्या हुने प्रमुख पन्तले बताए ।