काठमाडौं। मुडेदेखि देउराली बाघखोर सडकमा गाडी चल्न थालेको २२ वर्ष भयो। तर यतिलामो समय बित्दासमेत सडकको दुरदशा झन दयनीय बन्दै गएको छ। मुडेदेखि बाघखोर बजारसम्मको ८ किलोमिटर सडक सबैभन्दा जोखिम बन्दै गएको छ।
मुडे–मेलुङ सडकको बाघखोर बजारबाटै शैलुङ, रामेछापको दोरम्बा, चरिकोट, भैंसे हुँदै मेलुङ सित्तालीसम्म जोडिन्छ। यो सडक शैलुङ र मेलुङ गाउँपालिकाको लाइफलाइन सडक पनि हो। २०५५ सालमा तत्कालीन जिल्ला विकास समितिअन्र्तगत विश्व खाद्य कार्यक्रमको सहयोगमा मुडेदेखि सडक निर्माणको काम सुरु भएको थियो। त्यस्तै २०६० सम्म भैंसेसम्मको सडक बनिसकेको हो। त्यसपछि पनि तत्कालीन जिविस र त्यस क्षेत्रका गाविसले सडकको सोलिङ र नालीका लागि वर्षेनी लाखौं खर्च गरेको भएता पनि सडकमा ठूलाठूला खाल्डाखुल्डी र हिलोका कारण गाडी चल्न नसक्ने भएपछि यत्तिबेला स्थानीयको आक्रोश राजनैतिक पार्टी र नेताहरू माथि रहेको छ।
शैलुङ महाभारत क्षेत्रको सबैभन्दा उच्च क्षेत्र साथै प्राकृतिक सौन्दर्यका लागि महत्वपूर्ण पर्यटकीय क्षेत्र पनि हो। तर पनि यहाँ सडककै दुर्दशाको कारण पर्यटकहरू आउन सकेका छैनन्। यस क्षेत्रमा पर्याप्त मात्रमा आलु र तरकारी उत्पादन हुन्छ। तर सहज ढुवानी हुन नसक्दा ढुवानी खर्च महँगो पर्ने त्यहाँको स्थानीयको गुनासो रहेको छ।
५ वर्षअघि स्थानीय तहको निर्वाचनका बेला अध्यक्षका उम्मेद्वार हुँदा मुडेदेखिको यो सडक जसरी पनि कालोपत्रे गराउने चुनावी घोषणापत्रमै समावेस गरेर उम्मेद्वार बनेका वर्तमान शैलुङ गाउँपालिका अध्यक्ष भरत दुलालको कार्यकाल बित्नलाग्दा समेत सडकको अवस्था उस्तै रहेको छ। शैलुङ गाउँपालिका कार्यालय यस सडक नजिकै पर्ने भएकाले यही सडक हुँदै गाउँपालिका अध्यक्षलगायतका जनप्रतिनिधि दिनहुँ ओहोरदोहोर गर्छन्। तर पनि सडक निर्माणप्रति कसैको पनि ध्यान जान सकेको छैन्। शैलुङ गाउँपालिकाले उत्कृष्ट काम गरेको भन्दै बागमती प्रदेश सरकारले दुई पटक सम्मान गरेको छ। तर त्यही गाउँपालिकाको मुख्य सडकमा जनप्रतिनिधि निर्वाचित भएर आएपछि पनि नागरिकको सास्ती घट्नुको सट्टा अझ बढ्दै गएको छ।
बागमती प्रदेश सरकारले कालोपत्रेका लागि ठेक्का लगाए तापनि ठेकेदारले काम नगर्दा समस्या भएको गाउँपलिकाको अध्यक्षले बताएका छन्। जिविसले निर्माण गरिरहेको सडक थप विस्तारका लागि डिभिजन सडक कार्यालय चरिकोटबाट १० वर्षअघि मुडेदेखि डेढ किलोमिटर कालोपत्रे पनि भयो। त्यसपछि पुनः २०७० मा थप विस्तारका लागि डिभिजन सडक कार्यालय चरिकोटबाट ठेक्का लगाएको भएता पनि ठेकेदारले केही ठाउँमा डोजर लगाएर भत्काएर व्यवस्थित नै नगरी छोडिदियो। दुई वर्ष भित्रमा पूरा गर्नुपर्ने काम ठेकेदारले काम गर्न नसकेपछि २०७५ सालमा ठेक्का तोडिएको हो। त्यसपछि मुडे–ढुंगेसम्म १६ किलोमिटर कालोपत्रे गर्न बागमती प्रदेश सरकारअन्तर्गत पूर्वाधार विकास कार्यालय सिन्धुपाल्चोकले गएको असारमा काम पूरा गर्नुेगरी ठेक्का लगाएको भएपनि कोरोनाको निहुँमा समयमा नै काम नसकेकाले एक वर्ष म्याद त थपियो तर अहिले सडकको अवस्था झन जीर्ण बन्दै गएको छ।
पूर्वाधार विकास कार्यालय सिन्धुपाल्चोकका डिभिजन इन्जिनियर राजु श्रेष्ठले वर्षात्मा ठेकेदारले काम गर्न नसक्दा अप्ठ्यारो भए तापनि सबै निर्माण सामग्री साइटमा पुर्याइ सकेकाले अब कामले तीव्रता पाउने बताएका छन्। आउँदो असारसम्म सबै काम पूरा हुने उनको दाबी रहेको छ।पूर्वाधार विकास कार्यालयले बाघखोरदेखि भैंसेसम्म पनि विभिन्न प्याकेजमा ठेक्का लगाएर काम गराएको छ।
सो सडक खराब भएकै कारण हिउँदमा शैलुङबाट प्रतिकेजी २ मा ढुवानी हुने आलु र तरकारी वर्षात्मा ८ रुपैयासम्म पर्ने स्थानीयले बताएका छन्। मुडेदेखि बाघखोर, भैंसे सडक शैलुङसम्म पुग्ने महत्वपूर्ण सडक हुनुको साथै सय वटा थुम्का भएको उच्च ठाउँ शैलुङ पर्यटकीय उत्कृष्ट गन्तव्य स्थल पनि हो।शैलुङ गाउँपालिका क्षेत्रमा मात्र वार्षिक ३० करोड बढीको आलु, बन्दा, काउलीलगायतका तरकारी उत्पादन हुन्छ। एतपादन भएका सबै आलु गाडीमार्फत काठमाडौंमा खपत हुने गरेको छ। सडकको अवस्था नाजुक भएकै कारण ढुवानी खर्च बढ्दा किसानले उचित मूल्य पाउन सकेका छैनन् भने पर्यटक आवागमन पनि बढ्न सकेको छैन्।