काठमाडौं। विश्व सिमसार दिवसको अवसरमा राप्ती नदी सरसफाई गरिएको छ। ‘आजको आवश्यकता सिमसारको पुनर्स्थापना’ नारासहित नदीको करिब ५ किलोमिटर क्षेत्र सरसफाई गरिएको हो।
मेघौली उपभोक्ता समितिको आह्वानमा ध्रुबघाटदेखि मेघौलीको राधाकृष्ण सामुदायिक वनसम्मको नदी, आसपासको जंगल र सिमसार क्षेत्रको सरसफाई गरिएको हो।
सरसफाइ कार्यमा चितवन राष्ट्रिय निकुञ्जमा रहेको खड्गदल गणको ‘ग’ गुल्म मेघौलीअन्तर्गत सुकिभार, ध्रुब, भिम्ले र गुल्म हेडक्वाटरमा कार्यरत नेपाली सेना, निकुञ्जको मेघौली रेञ्जपोष्टका कर्मचारी, नेचर गाइड एसोसिएशनको मेघौली घडगाई उपसमिति, राधाकृष्ण सामुदायिक वनका पदाधिकारी, समुदायमा आधारित चोरी सिकारी नियन्त्रण समूह, थारु सामुदायिक होमस्टेका प्रतिनिधि, स्थानीयबासी सहभागी थिए।
नदीले उपल्लो तटीय क्षेत्रबाट बगाएर ल्याएको प्लास्टिकजन्य वस्तुका कारण पर्यावरणमा असर परेकाले बेला बेलामा सरसफाई गर्ने गरेको मेघौली उपभोक्ता समितिका अध्यक्ष मायाराम चौधरीले बताए। उनले नदीमा बगेर तल्लो तटीय क्षेत्रमा थुप्रिएको प्लास्टिकजन्य फोहोरले घडियाल, मगर गोही, बाघ, गैंडालगायतका वन्यजन्तुको बासस्थानमा असर परिरहेको बताए।
नेचर गाइड एसोसिएसनको मेघौली घडगाई उपसमितिका अध्यक्ष मनेषकुमार लिम्बुले सिमसार दिवस, वातावरण दिवस, वन्यजन्तु सप्ताह जस्ता अवसरमा स्थानीय सरोकारवालाको अग्रसरतामा नदी क्षेत्रमा सरसफाई गर्ने गरेको बताए।