काठमाडौं। बागलुङको काठेखोला गाउँपालिकाले पर्यटन प्रवद्र्धनको लागी पदमार्ग निर्माण सुरु गरेको छ। उक्त गाउँपालिकाले पर्यटकीय स्थल बसन्तापखोरलाई जोड्न पदमार्ग निर्माण गर्न सुरु गरेको हो।
गाउँपालिकाले वडा नम्बर ४ चापोट जनजाति संग्रहालयदेखि बसन्तापखोरसम्म जोड्ने गरी पदमार्ग बनाउन शुरु गरेको छ। गाउँपालिकाले चालू आर्थिक वर्षबाट पर्यटन प्रवर्द्धनका लागि पदमार्ग निर्माण गर्न थालेको काठेखोला गाउँपालिकाले जनाएको छ।
प्रचारप्रचार अभावमा ओझेलमा परेको बसन्तापखोरको प्रचार गरी पर्यटकीय स्थलका रुपमा विकास गर्न पदमार्ग निर्माण थालिएको बताइएको छ।। धेरै सम्भावना बोकेको सो ठाउँ वषौँ देखि ओझेलमा परेको थियो।
उक्त पदमार्गले दुई वटा गन्तव्यलाई जोड्नेछ, तल जनजाति संग्रहालय छ, शिरमा बसन्तापखोर छ, यसले संस्कृति र पर्यटकीय गन्तव्यलाई जोड्ने हुँदा भविष्यमा यहाँ आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न सकिने गाउँपालिकाको विश्वास रहेको छ।
यस वर्ष गाउँपालिकाले विनियोजन गरेको २ लाख रूपैयाँबाट पदमार्ग निर्माण थालिएको छ। यस वर्ष करिब २ सय मिटर ढलानसहितको पदमार्ग निर्माण गरेको गाउँपालिकाले बताएको छ।
जनजाति संग्रहालयदेखि करिब १२ सय मिटरको दूरीमा रहेको बसन्तापखोरसम्म पदमार्ग निर्माणका लागि थोरै–थोरै बजेट विनियोजन गरेर केही वर्षमै यसलाई पूर्णता दिने बताइएको छ।
बसन्तापखोर अग्लो पहाडमा भएको हुँदा यहाँबाट दर्जनौँ हिमश्रृङ्खलाहरूको अवलोकन गर्न सकिन्छ भने बागलुङ लगायतका धेरै ठाउँहरु देख्न सकिन्छ।