काठमाडौं। सरकारको प्राथमिकतामा नपरेको लामाबगर सुरुङमार्गको काम निजी क्षेत्रले बनाएको छ । यो सुरुङमार्ग ११ सय मिटर लामो छ । दोलखाको विगू गाउँपालिका–१ लामाबगरमा रहेको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको बाँध क्षेत्रको दायाँतर्फको कठिन भीरमा बाहिरी सतहबाट सडक निकाल्न कठिन भएपछि सुरुङमार्ग निर्माण सुरु गरेको हो ।
नेपालको हालसम्मको सबैभन्दा लामो सुरुङमार्ग हो । यसअघि बाहिरी सडक भूकम्पका कारण भत्काएपछि माथिल्लो तामाकोसी जलविद्युत आयोजनाले लामाबगर जाने काब्रे भीरमा ३३७ मिटरको सुरुङमार्ग बनाएको छ । यो नै नेपालको लामो चल्तीको सुरुङमार्ग थियो । ६ मिटर उचाइ र ७ मिटर गोलाइको सुरुङ मार्गको डेढ वर्षअघि निर्माण सुरु भएको हो । एमभी दुगड् ग्रुपले बनाउन प्रस्ताव गरेको लप्ची खोला जलविद्युत आयोजनाले सुरुङमार्ग निर्माण सुरु गरेको हो । एमभी दुगड्ले लप्ची खोलामा १६० मेगावाट क्षमताको आयोजना निर्माणका लागि तयारी थालेको छ ।
लामाबगरबाट १० किलोमिटर उत्तरमा रहेको आयोजना निर्माणका लागि पहुँचमार्गको रूपमा यही सुरुङमार्ग आवश्यक भएकाले अहिले आयोजना एमभी दुगड्को सुमो कन्स्ट्रक्सनमार्फत सुरुङ र कठिन भीरमा सडक निर्र्माणको काम पनि जारी राखेको छ । “सुरुङ शनिबार छेडिएको छ,” साइटमा काम गरिरहेका एमभी दुगड् ग्रुपअन्तर्गतका सुमो कन्स्ट्रक्सनका अधिकृत हेमराज तमाङले भने, “अब सुरुङभित्रको सफाइ र कठिन भीरमा पहुँचमार्गसम्मको ६० मिटरको ट्रयाक निकालेपछि माथिल्लो तामाकोसीको जलाशयको अन्तिम विन्दुसम्म गाडी पुग्नसक्छ ।”
सुरुङमार्गसँगै सडक पनि निर्माण जारी छ । सडक निर्माणका लागि यही आयोजनाले स्काभेटर हवाई उडानमार्फत लुम्नाङ र थाम्चेम्बु पु¥याएको थियो । बाँधस्थलदेखि तल्लतिर अहिलेसम्म २० किलोमिटर प्रवेशमार्गमध्ये नौ किलोमिटर सडक ट्रयाक खोलिसकेको छ भने कठिन भीरमा पनि काम जारी छ । मुखैमा सुरुङमार्ग परेकाले बोक्न पनि कठिन भीरको बाटो भएकाले कामले आयोजनाको कामले तीव्रता पाउन सकेको छैन । सुरुङमार्ग सकिएपछि सडक निर्माणका लागि उपकरण निर्माण सामग्री ढुवानीमा सहज हुनेछ ।
त्यसपछि सडक निर्माणको कामले तीव्रता पाउने स्थानीयले विश्वास गरेका छन् । सुरुङमार्ग तयार भएपछि अन्यत्र जलविद्युत आयोजनाको काम अघि बढाउन र लप्चीमा बसोबार गर्ने स्थानीयलाई समेत सहज हुनेछ । सबैभन्दा दुर्गम गाउँ लप्ची र लुम्नाङमा ३० परिवारको दुई सय जनाको बसोबास छ । लामाबगरदेखि सडक खुले स्थानीयलाई सजिलो हुने लप्चीका स्थानीय कर्माहुसेर शेर्पाको भनाइ छ ।
१० वर्षदेखि सडक विभागले लामाबगर लप्ची जोड्ने सडकका लागि बजेट विनियोजन गरे तापनि तीन किलोमिटर ट्रयाकमात्र खोलेको छ । यो सुरुङमार्ग सरकारले बनाउने अध्ययन थाले पनि यो सरकारको अध्ययनमै सीमित भएको छ । स्थानीयलाई समेत माथिल्लो तामाकोसीको जलाशयले बाटो बन्द हुने भएपछि १० वर्षअघि नै प्रारम्भिक अध्ययन गरेको थियो । नेपाल सरकारले गरेको पूर्ण अध्ययनपछि यसको लागत दुई अर्ब ६४ करोड लागत अनुमान गरेको छ । कारोबार दैनिकबाट