काठमाडौं। सांसदहरुले सडक निर्माण सम्बन्धी समस्या लगायत विभिन्न पूर्वाधार क्षेत्रका समस्या बारे सरकारको ध्यानाकर्षण गराएका छन्। आइतबार बसेको प्रतिनिधिसभाको बैठकको शून्य समयमा सांसदहरुले किसानलाई मलखाद, बीउबिजनको सहज उपलब्धता, सडक निर्माण र भारतसँगको खुला सिमानाबाट सिर्जित समस्याप्रति विषयमा सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका हुन्।
सांसद देवप्रसाद तिमिल्सिनाले शून्य समयमा बोल्दै पटकपटक किसानको समस्या नसुनेकोप्रति ध्यानाकर्षण गराए । उनले सरकारले किसानको पीडा नसुनेको बताए ।
सांसद वासुदेव घिमिरेले कृषिको आधुनिकीकरणका लागि कृषकसँग सम्बन्धित रहेको मलखादको व्यवस्थापन गर्नुपर्ने बताए । उनले मलखाद र बीउबिजनका लागि स्वदेशमै कलकारखाना निर्माण गर्नुपर्ने बताए ।
सांसद तारा लामा तामाङले सिमानामा हुने अनियमितता र हिंसा रोक्न ध्यानाकर्षण गराए । कञ्चनपुरको बेलौरीमा बन्द अवस्थामा रहेको छोटी भन्सारलाई स्तरोन्नति गरेर सञ्चालनमा ल्याउन ध्यानाकर्षण गरे । उनले सिमानामा हुने हिंसा र अनियमितता रोक्न ध्यानाकर्षण गराए ।
तेजुलाल चौधरीले थारु आन्दोलन र थारु समुदायको भावनामाथि दमन गर्न काम भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।
सांसद दामोदर पौडेलेले फेवा तालको सिमाङ्कनको प्रतिवेदनको कार्यान्वयन गर्नुपर्ने बताए । सांसद पौडेलले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान र रुटको इजाजतप्रति ध्यानाकर्षण गराए ।
सांसद दीपक खड्काले सङ्खुवासभा जिल्लामा हुने विद्युत् उत्पादनको करिब सात लाखको शेयर सस्तो ब्याजदरमा स्थानीयलाई उपलब्ध गराउन ध्यानाकर्षण गराए ।
सांसद दीपा शर्माले बाँकेमा निर्माणाधीन औद्योगिक क्षेत्रलाई तीव्र गति दिनुपर्ने बताइन् ।
सांसद दुर्गा राईले भोजपुर जिल्लाको सडानन्द नगरपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाले स्थानीयलाई अन्याय गरेको बताइन् । उनले जथाभाबी सुरुङ खन्दा बस्ती नै जोखिममा परेकोप्रति ध्यानाकर्षण गराइन् ।
सांसद धवलशमशेर राणाले नेपालगञ्जबाट भारतको विभिन्न क्षेत्रमा हुने हवाई उडानको व्यवस्था मिलाउन ध्यानाकर्षण गरे । सांसद नारायणी शर्माले दाङ जिल्लाको सडक निर्माण अस्तव्यस्त हुँदा एक सय नौ जनाको मृत्युको भएको बताए । उनले सडक निर्माण गर्न ध्यानाकर्षण गरे ।
पुष्पबहादुर शाहले अछाम जिल्लामा बाढीपहिरोमा परी ज्यान गुमाउने र घरबारविहीनलाई तत्काल राहत र व्यवस्थापन गर्नुपर्ने बताए । उनले यस क्षेत्रका बासिन्दाका लागि तत्काल ठोस नीति लिएर स्थानीयको उद्धार गर्नुपर्नेप्रति ध्यानाकर्षण गराए ।
सांसद प्रकाश ज्वालाले सल्यान, दाङ र रुकुम जिल्लाको राप्ती लोकमार्गको तत्काल मर्मत र स्तरोन्नति गर्न ध्यानाकर्षण गरे । सांसद प्रकाशमान सिंहले काठमाडौँमा दुई दशक लामो समयपछि भित्रिएको मेलम्ची खानेपानीलाई बाह्रै महिना उपलब्ध हुनुपर्ने बताए । उनले मेलम्ची खानेपानी आयोजनाका कर्मचारीले साउनदेखि पारिश्रमिक नपाएकोप्रति ध्यानाकर्षण गराए ।
सांसद प्रदीप पौडेलले सम्पत्ति शुद्धीकरण गर्न बनेको विधेयकलाई तत्काल संशोधन पेस गर्न ध्यानाकर्षण गराए । सांसद प्रभुहजरा दुसाध भौतिक निर्माणका लागि स्थानीयलाई जग्गा मुआब्जा उपलब्ध गराउनुपर्ने बताए ।
सांसद बद्रीप्रसाद पाण्डेले पूर्वाधार निर्माण तीव्रता दिनुपर्ने बताए । सांसद प्रेमबहादुर महर्जनले ललितपुर जिल्लाका विभिन्न सडक चक्रपथको स्तरोन्नति र करिडोर खोल्न ध्यानाकर्षण गराए ।
सांसद बलराम अधिकारीले किसान सिँचाइ र मलको अभावप्रति सरकारको ध्यानाकर्षण गराए ।
सांसद दीलेन्द्रप्रसाद बडूले नेपाल भारत र चीनको दार्चुला सडक आयोजना अपेक्षितरुपमा अघि नबढेको बताए ।