काठमाडौं। नेपाल टेलिकमले अब चाँडै आफ्ना ग्राहकहरुका लागि ‘भ्वाइस ओभर वाइफाइ’ (भोवाइफाइ) सेवा प्रदान गर्ने गरी तयारी थालेको छ। कम्पनीको १९ औं वार्षिकोत्सव समारोहमा बोल्दै टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेलले ग्राहकका लागि सेवा विस्तार गर्ने उद्देश्यले भोवाइफाइको परीक्षण भइरहेको जानकारी दिएका हुन्।
भोवाइफाइ वाइफाइको माध्यमबाट गुणस्तरीय कल गर्न मिल्ने एक कलिङ सेवा हो। यो सेवा प्राप्त गर्नका लागि वाइफाइमा इन्टरनेट पहुँच र भोवाइफाइको सुविधा रहेको स्मार्टफोन आवश्यक पर्छ ।
मोबाइलमा वाइफाइ कलिङलाई ‘अन’ मा स्विच गरेपछि यो सेवा एक्टिभ हुन्छ । टेलिकमले सेवा सुरु गरेछि ‘वाइफाइ कलिङ’को सुविधा रहेका स्मार्टफोनलाई वाइफाइ नेटवर्कमा कनेक्ट गर्नुपर्छ । यसमार्फत पोस्टपेड र प्रिपेड भ्वाइस ग्राहकहरूले उच्च गुणस्तरको कलहरू गर्न सक्छन् ।
यसका लागि कुनै एपहरू आवश्यक पर्दैन । भोल्टे र भोवाइफाइ कलिङ दुवैलाई स्विच अन राखेपछि कल काटिने समस्या कम हुन्छ ।
यो प्रणालीमा वाइफाइमा रहँदासम्म फोन ‘भोवाइफाइ’ प्रविधिमा आधारित हुन्छ । जबसम्म वाइफाइको राउटरले गुणस्तरीय कल प्रदान गर्न सक्छ, कल भोवाइफाइमै रहन्छ ।
कम्पनीले दूरसञ्चार सेवालाई अझै बढी सर्वसुलभ तथा गुणस्तरीय बनाउदै आफ्नो बजार हिस्सालाई मजबुत
गर्ने उद्देश्य हासिल गर्न सेवा विस्तार र सेवाको गुणस्तरमा विशेष जोड दिंदै आइरहेको छ ।
यसै सन्दर्भमा कम्पनीले वायरलेस ब्रोडब्याण्ड अर्थात् फोरजी एलटीई सेवाको देशव्यापी विस्तार गरिरहेको छ । हालसम्म ७७ जिल्ला तथा ७३९ स्थानीय तहमा यसको पहुँच पुगेको छ भने आयोजनाको ९८ प्रतिशत कार्य पूरा भइसकेको टेलिकमले जनाएको छ।
पूर्वाधार विकासका क्षेत्रमा पनि टेलिकमले योगदान दिँदै आएको छ। टेलिकमले मध्य पहाडी लोकमार्गलाई आधार मानी प्रदेश १, मधेश प्रदेश र बाग्मती प्रदेशका जिल्ला, नगरपालिका र गाउँपालिकाहरुलाई समेट्ने गरी अप्टिकल फाइबर बिछ्याउने कार्य द्रुत गतिमा अघि बढाएको जानकारी दिएको छ ।
सो क्षेत्रमा हालसम्म १ हजार ३ सय २६ किमी फाइबर बिछ्याउने कार्य सम्पन्न भएको छ। यसबाट सूचना महामार्ग निर्माणको परिकल्पनालाई साकार पारी नेपाल सरकारको ‘डिजिटल नेपाल फेमवर्क’ को अवधारणा कार्यान्वयनका लागि आवश्यक पूर्वाधार तयार गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास लिएको प्रबन्ध निर्देशक पौडेलले बताए ।