काठमाडौं। काठमाडौं महानगरपालिकाका मुख्य सडकमा आधुनिक सडक बत्ती जडान गर्न काठमाडौं महानगरपालिका र नेपाल विद्युत प्राधिकरणबीच सम्झौता भएको छ।
महानगरका तर्फबाट सार्वजनिक निर्माण विभागका प्रमुख रामबहादुर थापा र प्राधिकरणका तर्फबाट कानुन विभागका निर्देशक बलराम सिलवालले सम्झौतामा हस्ताक्षर गरेका हुन्।
आधुनिक सडक बत्ती जडान गर्न ११ करोड ९९ लाख ७४ हजार ९२५ रुपैयाँ लागत अनुमान गरिएको छ । यसको ६० प्रतिशत रकम काठमाडौं महानगरपालिका र ४० प्रतिशत रकम नेपाल विद्युत प्राधिकरणले बेहोर्ने गरी सहमति भएको छ ।
महानगरपालिकाको लगानीमा लैनचौरदेखि महाराजगञ्जसम्म, माइतीघर मण्डलादेखि बागबजारसम्म, बागबजारदेखि शीतल निवाससम्म, सिनामङ्गल अन्तर्राष्ट्रिय विमानस्थलदेखि गौशाला हुँदै कमलपोखरीसम्म, चाबहिलदेखि जोरपाटीसम्म बत्ती जडान हुनेछन् ।
यसैगरी, विद्युत प्राधिकरणको लगानीमा सिनामङ्गल विमानस्थलदेखि तीनकुने, बानेश्वर, माइतीघर मण्डला, त्रिपुरेश्वर, टेकु, कालीमाटी हुँदै कलङ्कीसम्म, त्रिपुरेश्वरदेखि लैनचौरसम्म र टुँडिखेल वरिपरि बत्ती जडान हुनेछन् ।
यस क्षेत्रमा बत्ती जडान भएपछि जगेडा रहेमा आफ्ना आफ्ना स्वामित्वमा भएका सौर्य बत्ती संरचना र यससँग सम्बन्धित प्यानल, ब्याट्रीलगायत सामानको आफैँले पुनः प्रयोग वा व्यवस्थापन गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।
रातिको समयमा यातायात तथा मानवीय आवागमन, शान्ति सुरक्षा तथा सामाजिक सुरक्षा कायम गराउन आधुनिक बत्ती जडान गर्न लागिएको हो।