दार्चुला । करिब ५ महिनाअघि लास्कु खोलामा आएको बाढीले भत्किएको तटबन्ध निर्माणमा ढिलाइ भइरहेको छ । भदौ २४ मा आएको बाढीले सदरमुकाम क्षेत्रमा बनेको पक्की तटबन्धको रिङनेतालदेखि लास्कु खोलासम्म क्षति पुर्याएको थियो । बाढीले एक विद्यालयसहित एक दर्जनभन्दा बढी घर बगाएको थियो ।
उक्त क्षेत्रमा समयमै तटबन्ध नबने फेरि बाढी बंगाबगर क्षेत्रको बस्तीमा पस्ने सम्भावना रहेको स्थानीय मानसिंह बोहराले बताए । भारतीय पक्षले महाकालीको प्राकृतिक बहाव नेपाल फर्काएर तटबन्ध निर्माण गरिरहेकाले जोखिम बढ्ने सम्भावना उत्तिकै छ । भारतले महाकाली किनारमा अहिले धमाधम तटबन्ध निर्माण गरिरहेको छ ।
दार्चुला सदरमुकामको महाकाली किनारमा २०७० आएको बाढीले क्षति गरेपछि पक्की तटबन्ध निर्माणाधीन अवस्थामै छ । कैलाशपति आधारभूत विद्यालय छाङरु पछाडिको भागदेखि उक्त बाढीले पूरै तटबन्ध पुरेको छ । बाढीले विद्यालय पछाडिको भागदेखि करिब ५० मिटरमाथिदेखि लास्कु खोलासम्म महाकालीको धार भारततिर छ । भारतले बंगाबगरको पारिपट्टि घटखोलादेखि नै महाकालीको बहाव नेपालतर्फ फर्काइरहेको छ ।
भारतले लास्कु खोला पारिसम्म अहिलेकै बनाइरहेको तटबन्ध निर्माण गरे महाकालीको बहाव नेपालतर्फ मोडिने सम्भावना धेरै रहेको बंगाबगरका स्थानीय बताउँछन् । स्थानीय मानबहादुर बमका अनुसार लास्कु खोला नजिकबाट नेपालतर्फ बनेको तटबन्ध पुरिएको छ । महाकाली सतहबाट ९ मिटर उचाइमा भारतले तटबन्ध बनाए महाकालीको बहाव सोझै बंगाबगरमा फर्कन्छ । ‘खोतिलादेखि घटखोलासम्म महाकालीको बहाव अहिले त पारि (भारत) तिर नै छ,’ बमले भने, ‘हाम्रो तटबन्ध पुरिएको छ, भारतले ९ मिटर उचाइको तटबन्ध बनाए महाकाली हाम्रैतिर फर्कन्छ ।’
महाकाली नदी नियन्त्रण आयोजनाका प्रमुख मनोहरकुमार शाहका अनुसार महाकाली नदी क्षेत्रमा कोर र अन्य एरिया भनेर ठेक्का लागिसकेको छ । उक्त ठेक्कामा ठेकेदारले काम नगरेर हैरान हुनुपरेको प्राविधिकहरूको भनाइ छ । ‘एकरदुई वर्षअगाडि नै उक्त ठेक्कामा काम सकिनुपर्ने हो, अहिलेसम्म प्रगति नै हुन सकेको छैन,’ शाहले भने, ‘निर्माण व्यवसायीले काम नगरेर समस्या भएको छ ।’ महाकाली नदी क्षेत्रको कोर र अन्य एरियामा गरेर १४ करोडको ठेक्का छ । आयोजनासित बजेट नभएकाले लास्कु खोलामा विभागको मौखिक सहमतिमा उधारोमा टेन्डर खोलेर काम भइरहेको उनले बताए ।
‘सरकारबाट तटबन्ध निर्माणका लागि बजेट प्राप्त भएको छैन,’ उनले भने, ‘चालु आर्थिक वर्षमा महाकाली, चौलानी, नौगाड नदीमा तटबन्धको काम गर्न विभागमा ९० करोड बजेट माग गर्न फायल पठाएका छौं ।’ अहिले लास्कु खोलामा दुहु क्षेत्र जोड्ने पुलेदेखि माथि बस्ती भएको क्षेत्रसम्मको करिब १८० मिटर लम्बाइको ब्रिस्ट वाल बनिरहेको छ । बंगाबगर बजार क्षेत्रमा महाकाली तटबन्ध र पारिपट्टि केही ठाउँमा सुदूरपश्चिम सरकारले तटबन्ध निर्माण काम गरिरहेको शाहले बताए ।
यसैबीच, अन्तर्राष्ट्रिय सीमा नदी महाकालीको बंगाबगर क्षेत्रमा नेपालतिर नदीको सतह खोलिरहँदा भारत भने साँघुरिर्याउँदै गएको छ । भारतले तारजालीमा ढुंगा भरेर महाकाली नदीको बहाव परिवर्तन गर्दै आएको छ । नेपालले उक्त क्षेत्रमा भारतलाई तटबन्ध निर्माणमा सहजताका लागि नदीको सतह फराकिलो बनाइरहेको छ । भारत भने ठीक त्यसको पारिपट्टि तारजालीमा ढुंगा बेरेर नदीको सतह साँघुरो बनाएर बहाव नेपालतर्फ फर्काइरहेको छ ।
मंसिर १८ गते भारतले महाकालीको प्राकृतिक बहाव नेपाल फर्काएपछि सीमा क्षेत्रमा स्थानीयबीच ढुंगा हानाहान भएको थियो । त्यसको तीन दिनपछि नेपाल–भारतका सीमा अधिकारीबीचको बैठकले भारतीय पक्षबाट तटबन्ध निर्माणका क्रममा निर्माण गरेका अस्थायी संरचना १० दिनमा हटाइसक्ने सहमति भएको थियो । तर, उक्त सहमतिअनुसार अहिलेसम्म तटबन्ध निर्माण गरेको ठाउँको अस्थायी संरचना हटाइसक्नुपर्ने भए पनि अझै हटेका छैन । भारतले सीमा पुलको तलको केही क्षेत्रबाहेक अधिकांश ठाउँमा तटबन्ध बनाइसकेको छ । कान्तिपुरबाट