काठमाडौं। नेपालकै आकर्षक पर्यटकीय गन्तव्य राराताल जाने पर्यटकीय मार्ग नाग्म–गमगडी सडक कालोपत्रे गरिने भएको छ । चालू आर्थिक वर्षभित्रै साढे ६ किलोमिटर सडक खण्ड कालोपत्रे गरिने भएको हो ।
९३ किलोमिटर दुरी रहेको नाग्म–गमगडी सडकको पहिलो चरणमा कनकासुन्दरीको रोकायाबाडादेखि हाँटसिंजासम्म साढे ६ किमी सडक कालोपत्रे गर्न लागिएको सडक डिभिजन जुम्लाका सूचना अधिकारी चित्र चौलागाईंले बताए । हाँटसिंजा गुठिज्युलादेखि मालिकाबोतासम्म नाला निर्माण, कंक्रिट ढलान, पर्खाल निर्माण लगायत स्ट्रक्चरको काम हुने भएको छ ।
इन्जिनियर चौलागाईंले भने, “पहिलो चरणमा साढे ६ किलोमिटर सडक कालोपत्रे हुनेछ । टेण्डर भएर कार्यालयबाट सम्बन्धित निर्माण व्यवसायीलाई कार्यादेशसमेत भइसकेको छ । फागुन पहिलो हप्ताबाट कालोपत्रेको काम सुरु हुनेछ ।” थोदुङ बाचन जेभी कम्पन्नीले कालोपत्रेको ठेक्का पाएको छ । निर्माण कम्पन्नीले चालू आवकै असार मसान्तभित्र कालोपत्रे सक्ने प्रतिबद्धता जनाएको सूचना अधिकारी चौलागाईंले जानकारी दिए । उनका अनुसार नाली निर्माण, पक्की पर्खाल निर्माण, कंक्रिट ढलानका साथै कालोपत्रेको काम हुनेछ ।
नाग्म–गमगडी सडकको साढे ६ किलोमिटर सडक कालोपत्रेका लागि ४० करोड खर्चिने भएको छ । कालोपत्रेसँगै अन्य नाला निर्माण, कंक्रिट ढलान, पर्खाल निर्माण लगायतका कामहरु हुनेछन् । पहिलो चरणमा ४० करोड लागतमा साढे ६ किमी सडक कालोपत्रे भए पनि समग्र ९३ किमी नै सडक कालोपत्रेका लागि बजेट व्यवस्थापनमा जुटेको सडक डिभिजन जुम्लाका प्रमुख राजिव श्रेष्ठले बताए ।
उनले भने, “नाग्म–गमगडी सडक ग्राभेल गरेर सकिएको छ । अबको प्राथमिकता भनेकै सडक कालोपत्रे गर्नु हो । नाग्म–गमगडीको बाँकी ८६ किमी सडकलाई कालोपत्रे गर्न बजेट व्यवस्थापन गर्न सरकारले जोड दिन आवश्यक छ ।” गुठिज्युला राराताल प्रवेशद्वार भएकोले पनि कालोपत्रेपछि पर्यटकलाई राहत हुने अपेक्षा गएिको छ । सडकको कारण देखाउँदै पछिल्लो वर्षमा रारा आउने पर्यटकको संख्यामा गिरावट आएको छ । पर्यटकलाई राहत हुने गरी सडक विकासको कामलाई भने सडक डिभिजनले निरन्तरता दिएको छ ।
साथै गत असोजको बाढीले क्षतविक्षत भएको कर्णाली राजमार्गको पनि स्तरवृद्धि कार्य भइरहेको छ । दैलेखको दैखोलादेखि जुम्लासम्मको १ सय ४ किमी सडक खण्डको विभिन्न भाग स्तरवृद्धिका लागि ठेक्का भई काम सञ्चालनको प्रक्रियामा रहेको सडक डिभिजन जुम्लाले जनाएको छ । न्यून प्राविधिक जनशक्तिका बीच शनिबारसमेत साइटमा खटिनुपरेको सडकका सव–इन्जिनियर विरेन्द्र रावलले दुखेसो गरे ।
असोजपछि कर्णाली राजमार्ग र नाग्म–गमगडी सडक क्षतविक्षत भएपछि रारामा पर्यटकको संख्या घटेको छ । कर्णाली राजमार्ग स्तरवृद्धिसँगै नाग्म–गमगडी सडक कालोपत्रे हुने खबरले रारामा आउने पर्यटक उत्साहित भएको रारा राष्ट्रिय निकुञ्जका प्रमुख विश्वबाबु श्रेष्ठले बताए । कारोबार दैनिकबाट