काठमाडौं। डडेलधुरामा विमानस्थल निर्माणका लागि सर्वेक्षण सुरु भएको छ। दुई वर्षअघि सम्भाव्यता अध्ययन भएर पनि अगाडि बढाउने सूचीमा नपरेको विमानस्थल परियोजनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेको निर्देशनमा नागरिक उड्डयन प्राधिकरणले काम थालेको हो।
डडेलधुराको पुइलेकमा विमानस्थल निर्माणका लागि सर्वेक्षण सुरु गरिएको हो। पुइलेकमा दुई वर्ष अगाडि नै सम्भाव्यता अध्ययन भइसकेको थियो तर त्यसबेलाको सरकारले प्राथमिकताको सूचीमा राखेको थिएन।
प्राधिकरणका उपप्रबन्धक नलविक्रम थापाका अनुसार सर्वेक्षणका लागि प्राविधिक टोली पुइलेक पुगेका छन्। ुमन्त्रीज्यूको निर्देशनमा विमानस्थल निर्माणका लागि सर्वेक्षण सुरु गरिएको हो। दुई वर्ष अगाडि यो विमानस्थलको सम्भाव्यता अध्ययन भइसकेको थियो। तीन दिनभित्र सर्वेक्षणको काम सकिनेछ। त्यसपछि इआइएको प्रक्रिया सुरु गरिने छ।
१२ सय मिटर लम्बाइ रहने विमानस्थलको धावनमार्गमा ४२ सिट क्षमताको एटीआर ४२ जहाज उडान अवतरण गर्न सकिने उनले बताए। डोटी, दार्चुला, बैतडी, बझाङको केन्द्रविन्दु भएकै कारण डडेलधुरामा विमानस्थल संचालनमा आए सुदूरपश्चिमको दुर्गमका बासिन्दालाई यातायातमा राहत हुनेछ।
डडेलधुरा जानका लागि एउटै मात्र बाटो छ। यो बाटो अवरुद्ध हुँदा आकस्मिक अवस्थामा आउजाउ गर्नै गाह्रो हुँदै आएको छ, उनले भने, स्थानीयकै मागअनुसार विमानस्थल निर्माणका लागि अध्ययन सुरु गरेका हौं।
यस अघि नागरिक उड्डयन प्राधिकरणका वरिष्ठ अधिकृत स्व.वालकृष्ण रेग्मीले डडेलधुरामा पाँचवटा ठाउँमा सम्भावित अध्ययन गरेका थिए। विमानस्थल निर्माणका लागि तीमध्ये पुइलेक उचित मानिएको थियो। त्यसकै आधारमा प्राविधिक टोलीले पुनः सम्भावित अध्ययन सुरु गरेको हो।