काठमाडौं। चिनियाँ निर्माण कम्पनीको लापरवाहीका कारण नारायणगढ–बुटवल सडक खण्ड बनाउन सुरु भएको चार वर्षमा बल्ल साढे दुई किलोमिटर सडक कालोपत्रे भएको छ । यो कालोपत्रे पनि पहिलो तहको मात्र हो ।
सरकारले महेन्द्र राजमार्गअन्तर्गत नारायणगढ–बुटवल खण्डलाई दुई भागमा विभाजन गरी चार लेनको सडक बनाउन खोजेको हो । १ सय १३ किलोमिटर लामो सडक निर्माण गर्न चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले ठेक्का पाएको छ । सरकार र यो कम्पनीबीच २०७५ माघ २४ मा निर्माणको सम्झौता भएको थियो । सम्झौता भएको यही माघ २३ मा ४ वर्ष पूरा भएको छ । त्यसअनुसार गत साउनमा निर्माण पूरा हुनुपर्ने थयो । निर्माण सकिने बेलासम्म सडकको भौतिक प्रगति २४.५ प्रतिशतमात्र भएको छ ।
यो सडक विस्तारका लागि सरकारले १६ अर्ब रुपैयाँ लगानी गरेको छ । यसमध्ये एसियाली विकास बैंक (एडीबी) को ८५ प्रतिशत ऋण हो भने बाँकी १५ प्रतिशत सरकारले लगानी गर्नेछ । सरकारले महेन्द्र राजमार्गको पूर्व–पश्चिम सडकलाई ४ लेनमा विस्तार गर्ने उद्देश्यअनुरुप अहिले नारायणगढ–बुटवल सडक खण्डलाई स्तरोन्नति गरिरहेको छ । नारायणगढ–दाउन्ने (६४.५ किलोमिटर) पहिलो र दाउन्नेदेखि बुटवलको चौरहा (४८.५ किलोमिटर) सम्मलाई दोश्रो खण्ड गरी वर्गीकरण गरेर काम भइरहेको हो ।
दाउन्ने–बुटवल दोश्रो सडक खण्ड आयोजनका प्रमुख प्रदीपराज शाक्यका अनुसार यो सडक खण्डमा साढे दुई किलोमिटर सडक पहिलो तहको कालोपत्रे भएको छ । उनले यो सडक खण्डमा सब–बेसको ६ किलोमिटर र ४ किलोमिटरमा बेसको काम भइरहेको जानकारी दिए । बाँकी खण्डमा पनि काम भइरहेको शाक्यले बताए । यो सडक खण्ड विस्तारका लागि ७ अर्ब ८६ करोड रुपैयाँ लगानी हुनेछ ।
शाक्यले चिनियाँ कम्पनीले समयमा काम नगरेपछि पहिलो खण्डका लागि ३ सय ८६ दिन र दोश्रो खण्डका लागि ३ सय ६५ दिन म्याद थप भएको जानकारी दिए । सरकारले तोकेको समयमा आधा पनि काम नहुनुमा धेरै कारणहरु रहेको शाक्यले दाबी गरे । उनका अनुसार निर्माण व्यवसायीले इक्युपमेन्ट र कामदार ढिला परिचालन गरेका कारण समयमा काम नभएको हो । यस्तै, सडक छेउका रुख कटान नगरी बिजुलीको पोल सार्न नमिल्ने भएका कारण पनि काममा गतिरोध आएको थियो । प्रमुख शाक्यले कोभिड–१९ ले पनि काम गर्न केही महिना रोकिएको बताए । उनका अनुसार सबैभन्दा प्रमुख कारण निर्माण कम्पनीले काममा गरेको ढिलाइ हो ।
अहिले थपिएको म्यादअनुसार आगामी २०८० को साउनमा काम पूरा गर्नुपर्ने समयसीमा छ । तर यो समयमा पनि काम पूरा हुने संकेत देखिएको छैन । शाक्यका अनुसार यो सडक खण्डअन्तर्गत पर्ने मुख्य बजार क्षेत्र (साढे १७ किलोमिटर) मा दुई लेनको सर्भिस लेन बनाइने छ । त्यसअनुसार यी खण्डहरुमा ६ लेनको सडक विस्तार हुने छ । यस्तै, दाउन्ने खण्डको करिब ४.१ किलोमिटर पहाडी क्षेत्रमा तीन लेनको सडक विस्तार हुनेछ । बाँकी रहेको करिब ९२ किलोमिटर सडक ४ लेनमा बन्ने आयोजना प्रमुख शाक्यले बताए ।
उनका अनुसार दोश्रो खण्डमा भने सबै साइट क्लियर भएर काम भइरहेको छ । यसमा साना–ठूला गरी करिब दुई दर्जन पुल निर्माण गरिने छन् । दुवै खण्डमा १८ सय कामदारले दैनिक काम गरिरहेको उनले दाबी गरे । हालसम्म आयोजनको सब–बेसको काम भइरहेको छ । पहिलो खण्डको करिब १ किलोमिटर पूरा भएको छ भने दोश्रो खण्डको दुई किलोमिटर पहिलो तहको अर्थात् बाइन्डर कोर्स कालोपत्रे पूरा भएको छ ।
अघिल्ला वर्षहरुको तुलनामा यो वर्ष नारायणगढ–बुटवल सडक खण्डमा कामले गति लिएको छ । तर हालको अवस्थामै काम हुँदा थपिएको समयमा निर्माण पूरा गर्न पनि चुनैती रहेको एडीबी आयोजना निर्देशनालयका आयोजना प्रमुख सुशीलबाबु ढकालले बताए । उनले भने, “चाइना स्टेट कन्स्ट्रक्सनका उच्च तहका पदाधिकारीले साइटको भ्रमण गर्दैछन् । उनीहरुसँग आगामी दिनमा कसरी आयोजनालाई अगाडि बढाउने भन्नेबारे छलफल हुनेछ ।”
उच्च तहको भ्रमण भएकाले हाल भएका कामको समीक्षा गरी समयमा निर्माण पूरा गर्नका लागि छलफल केन्द्रित हुने र भावी रणनीति बनाउने विश्वास लिइएको आयोजना प्रमुख ढकालको भनाइ छ । ठेकेदार कम्पनीसँग पर्याप्त मात्रामा साधनस्रोत भएकाले उसले चाहे आयोजनालाई गति दिन सक्नेछ ।
भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी सम्हालेपछि केही दिनअघि मन्त्री नारायणकाजी श्रेष्ठले यो सडक खण्डको निरीक्षण गरेका थिए । त्यसबेला उनले काम समयमा सम्पन्न गर्न निर्देशनसमेत दिएका थिए । विगतमा मन्त्री, सचिव मात्र होइ,न प्रधानमन्त्रीले दिएका निर्देशन पनि कार्यान्वयन नभएको अवस्था छ। कारोबार दैनिकबाट