काठमाडौं। राष्ट्रिय गौरवको आयोजना तमोर कोरिडोरले छिमेकी राष्ट्र चीन र भारतलाई जोड्न अब तीन किलोमिटर मात्र बाँकी रहेको छ। तमोर कोरिडोर आयोजनाको काम हाल ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङचुङगोमा क्षत्रेमा प्रवेश गरेको छ।
कोरिडोरको अन्तिम ट्रयाक खोल्ने काम भइरहेको छ। आगामी फागुन मसान्तअगाडि नै चीनसँग सडक सञ्चालनले जोड्ने एलाइट निर्माण कम्पनीका प्रतिनिधीले बताएका छन्। नदी तर्नु अगाडि एक पटक पूजापाठ गरेर तमोर नदीबाट मेसिन तार्ने तयारी भइरहेको छ। तमोर नदी पार गरेर नदीको किनार हुँदै चीन रिउ बजारसँग कोरिडोले जोडिनेछ।
चीन र नेपालको टिप्ताला नाकादेखि ओलाङचुङगोला हुँदै गैरी पाटीसम्म ३५ किलोमिटर लम्बाइ ट्रयाक चीनको निर्माण कम्पानीले दुई वर्ष अगाडि नै खोलिसकेको छ। त्यस्तै सुनसरीको चतारादेखि धनकुटाको मूलघाट, तेह्रथुम, पाँचथर र ताप्लेजुङको फक्ताङलुङ–७ ओलाङचुङगोलाको सुकेपानी गत साता प्रवेश गरेको छ। भारतको जोगवनीदेखि कोरिडोरले विराटनगर क्षेत्र हुँदै प्रत्यक्ष भारत र चीनसँग सडक सञ्जालले जोड्ने सूचना अधिकारीले बताए। सुनसरीको चतारादेखि ओलाङचुङगोलासम्म २३० किलोमिटर, ओलाङचुङगोलादेखि टिप्ताला नाकासम्म २४ किलोमिटर, तमोर कोरिडोरको जम्मा २५४ किलोमिटरमा रहेकोमा २५४ किलोमिटरमा चतारादेखि टिप्पताला नाकासम्म पर्दछ।
प्रदेश १ को राजधानी विराटनगरको नाका भारतको जोगवनीदेखि ६० किलोमिटरमा सुनसरीको चतारा पर्दछ। ३१४ किलोमिटरले भारत र चीन प्रत्यक्ष सडक सञ्चालनले जोड्ने उतर दक्षिण लोक सडक आयोजनाको कार्यालय ताप्लेजुङले जनाएको छ। ओलाङचुगोलाहुदै चीन जोड्ने तमोर कोरिडोरको ट्रयाक निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। धनकुटाको मूलघाटबाट खन्न सुुरु गरिएको सो सडक ताप्लेजुङ हुँदै नेपाल चीन सिमाना ओलाङचुङगोलासम्ममा हाल ट्रयाक खोल्ने काम भइरहेको फक्ताङलुङ गाउँपालिकाको प्रवक्ता तथा ओलाङचुङगोलाका स्थानीय छेतेन लामाले जानकारी गराएका छन्।
ओलाचुङगोला भित्र ३०० मिटर ट्रयाक खोली सकेको छ। तमोर कोरिडोर निर्माणका लागि तीनवटा ब्लकमा धनकुटा, पाँचथर र ताप्लेजुङबाट निर्माण अघि बढाइएको थियो। हाल ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाको गोलाङचुङगोको सुकेपानीदेखि गैरीपटीसम्मको तीन किलोमिटरको काम मात्र बाँकी रहेको छ।
करिब १८० किलोमिटर लम्बाइको यो सडक धनकुटाको साँगुरीगढी गाउँपालिका–२ देखि पाँचथरको लुबुघाट माझिटार ताप्लेजुङ छिचोलेर ओलाङचुङगोला हुँदै नेपाल र चीनको नाका टिप्तालासम्म पुग्नेछ। यस सडकखण्डमा विभिन्न आकारका १० वटा पुल निर्माण हुने क्रममा रहेको ओयोजनाले जनाएको छ। विसं २०६५ मा सडक निर्माण सुुरु गरिएको तमोर कोरिडोरलाई २०६७ सालमा राष्ट्रिय गौरवको प्राथमिकता प्राप्त आयोजना घोषित गरी निर्माण अघि बढाइएको हो।
भारत र चीनलाई जोड्ने सबैभन्दा छोटो सडकका रूपमा तमोर कोरिडोरलाई विकास गर्न लागिएको सरकारले दाबी गरेको छ। यो सडक निर्माण गर्न हालसम्म ४० करोड १९ लाख ७१ हजार खर्च भएको आयोजनाले जनाएको छ। उक्त सडक निर्माण सम्पन्न भएपछि भारततर्फ जोगवनी नाका र चीनतर्फ तिब्बतस्थित रियु व्यापारिक केन्द्रसँग नेपाल जोडिने आयोजनाले जनाएको छ।