तस्बिर : गाेरखापत्र
काठमाडौं। काठमाडौं महानगरपालिका र अमेरिकाको एक नगरबीच फोहोर व्यवस्थापन बारेमा छलफल भएको छ। बिहीबार भर्चुअल माध्यमबाट काठमाडौं महानगर र अमेरिकाको फेडरिसवर्ग नगरबीचमा छलफल भएको हो।
छलफलमा दुवै देशका नगरहरुले फोहोर व्यवस्थापनका लागि आफूले गरेका कामको अनुभव आदान प्रदान गरेका छन्। त्यस क्रममा काठमाडौं महानगरका तर्फबाट सरिता राई र फेडरिसवर्गका तर्फबाट म्याथु केलीको नेतृत्वमा समूहगत प्रस्तुतिकरण गरिएको थियो।
प्रस्तुतिकरणमा फोहोर संकलन, ढुवानी र अन्तिम व्यवस्थापन, स्रोतमा भएको फोहोर घटाउने विधि, फोहोरको प्रकृति, रेष्टुरेन्टलगायत ठाउँबाट उत्पादन हुने तेल र खाद्य फोहोर, उद्योगबाट उत्पादन हुने औद्योगिक फोहोर, हानीकारक र साधारण फोहोर, प्लाष्टिक, शिशा, कागजलगायत वस्तुको गुण र व्यवस्थापन विधि समेत समेटिएका छन।
दुवै नगरबीच भएको प्रस्तुतिमा फोहोर व्यवस्थापनमा हुने खर्च, फोहोरसँग लगाइने शुल्क तथा दस्तुर, यसबाट प्राप्त भएको रकमबाट व्यवस्थापनमा पुग्ने योगदान, ल्याण्डफिल साइट र यसको दिगो व्यवस्थापनका विषयमा आफ्ना आफ्ना अनुभव सुनाइएको छ ।
अनुभव आदान प्रदानका क्रममा काठमाडौं महानगर उपप्रमुख सुनिता डंगोलले स्वच्छ, सफा र हरियाली सहर निर्माणका लािग आपसी ज्ञान, सीप र अनुभवबाट नतिजाका लागि क्षमता बढ्ने बताइन्।
दुवै नगरले साझा मुद्दा माथि छलफल गरेका थिए । ती मुद्दा सुल्झाउन आपसी नीतिगत प्रबन्ध र व्यवहारिक क्रियाकलापको निष्कर्ष दुवै पक्षलाई काम लाग्ने हुन्छन् । यसबाट दुवै नगरको लाभ हुने समेत निष्कर्ष निकालेको छ ।