बाजुरा। बाजुराको सदरमुकाम मार्तडी–कोल्टी सडक निर्माणको काममा ढिलाइ भएको छ। २०७८ सालको असारमै काम सम्पन्न गर्ने गरी २०७६ असारमा दुईवटा ठेकेदार कम्पनीले सडक निर्माणको जिम्मा लिएका थिए। धुलिखेल ग्वाल्भा श्याम एन्ड शङ्कर प्रालि काठमाडौँ र बानियाँ कोटेश्वर जेभी प्रालि हेटौँडाले सडक निर्माण कार्यको जिम्मा लिएका हुन्।
मार्तडी बसपार्कदेखि चुथीको झन्डै नौ किलोमिटर सडक कालोपत्रे गर्न २३ करोड रुपियाँमा धुलिखेल ग्वाल्भा श्याम एन्ड शङ्कर प्रालि काठमाडौँ र चुथीदेखि ढम्कने झन्डै छ किलोमिटर र ढम्केनेदेखि कोल्टीसम्मको २६ किलोमिटर सडक बानियाँ कोटेश्वर जेभी प्रालि हेटौँडाले ६२ करोड रुपियाँमा जिम्मा लिएका थिए। जिम्मा लिएको मिति समाप्त हुँदा पनि ठेकेदारको लापरबाहीले सो सडक निर्माणको काममा निकै ढिलाइ भएको स्थानीयवासीले गुनासो गर्दै आएका छन्।
बूढीनन्दा नगरपालिका–७ का स्थानीय लोकेन्द्र रोकायाले लामो समयसम्म पनि सडक निर्माण कार्य सम्पन्न नहुँदा स्थानीयवासीलाई आउजाउमा समस्या भएको बताए। पूर्वाधार विकास कार्यालय अछामका बाजुरा इन्चार्ज लालबहादुर धामीले चुथीदेखि ढम्कनेसम्मको छ किलोमिटर सडकको कालोपत्रे काम २०७८ असारमै समाप्त गर्छु भनेर ठेक्का लिएका यज्ञ शाहीले तोकेको समयमै काम सम्पन्न नगरेपछि अहिले उनलाई पुनः म्याद थपेर काम गर्न लगाएको बताए।
उनले धुलिखेल ग्वाल्भा श्याम एन्ड शङ्कर प्रालि काठमाडौँले मार्तडीदेखि चुथीसम्मको नौ किलोमिटर सडक कालोपत्रे गर्ने जिम्मा लिएको समय २०७९ असार मसान्तसम्म रहेको बताए।
अविरल बर्सातका कारण बाटो बन्द हुँदा सामान ढुवानी गर्न समस्या आएकाले तोकेको समयमै सडक कालोपत्रे गर्न नसकेको धुलिखेल ग्वाल्भा श्याम एन्ड शङ्कर प्रालिका काठमाडौँ प्रतिनिधि दीपेन्द्र शाहीले बताए।
उनले भने, “२०७९ को असारसम्म काम सम्पन्न गर्ने गरी २०७६ कात्तिकमा कामको जिम्मा लिइएको हो। अहिले झन्डै ७५ प्रतिशत काम भइसकेको छ, बाँकी काम २०७९ को असार मसान्तसम्ममा नै सम्पन्न गरिनेछ।”
गत वर्ष पोरखेलेखमा परेको बाक्लो हिमपातका कारण बाटो अवरुद्ध भएपछि काम गर्न समस्या भएपछि काममा ढिलाइ भएको बानियाँ कोटेश्वर जेभी हेटौँडा प्रालिका प्रतिनिधि विष्णु रावतले बताए। मार्तडी–कोल्टी सडक निर्माण कार्यका लागि तीन जनाले ठेक्का लिएको भए पनि सो सडकको कालोपत्रे गर्ने काम भने बल्ल अहिले सुरु गरिएको स्थानीयले गुनासो गर्दै आएका छन्।
मार्तडीको बसपार्कदेखि चुथीसम्मको नौ किलोमिटर कालोपत्रे गर्नका लागि ठेकेदार पदम खड्का, चुथीदेखि ढम्कनेसम्मको छ किलोमिटर सडक कालोपत्रे गर्न यज्ञ शाही र ढम्कनेदेखि कोल्टीसम्मको २६ किलोमिटर सडक कालोपत्रे गर्न ठेकेदार इन्द्र बानियाँले जिम्मा लिएका छन्।
मार्तडीदेखि कोल्टीसम्मको ४० किलोमिटर सडक कालोपत्रे गर्नका लागि ८५ करोडमा ठेक्का लिने ती दुई कम्पनीले २३ करोडभन्दा बढी पहिलो किस्ता भुक्तानी लिएका छन्।
एक पटक उनीहरूलाई म्याद थकिएकाले पुनः म्याद नथपिने गरी काम जिम्मा लिएको म्यादमै काम सम्पन्न गर्न निर्देशन दिँदै आएको सडक डिभिजन कार्यालय अछामका प्रमुख दिवस बस्नेतले बताए। गोरखापत्रबाट