सोलुखुम्बु। चारवटा जिल्ला छिचोलेर यात्रा गर्नुपर्ने सोलुखुम्बुको सुदूरपश्चिमस्थित विकट गाउँपालिका लिखुपिकेका स्थानीयको बाध्यताको अन्त्य भएको छ । लिखुपिकेवासी अब सिधा सडक सम्पर्क स्थापित भएसँगै चार घण्टामै सदरमुकाम सल्लेरी आउन सक्ने भएका हुन् ।
सोलुखुम्बुलाई १२ वर्ष अगाडि नै सडक सञ्जालले जोडे पनि लिखुपिकेवासीलाई सदरमुकाम सल्लेरी आउन चारवटा जिल्लाहरूको सडक मार्ग प्रयोग गरी २ दिन लाग्थ्यो ।
स्थानीयवासी सरकारी कामका लागि रामेछापको बाम्तीभण्डार, मन्थली हुँदै सिन्धुलीको खुर्कोट–उदयपुरको घुर्मी अनि ओखलढुंगा हुँदै ४ सय ६० किलोमिटर यात्रा तयर गरेर मात्रै आफ्नै जिल्ला सदरमुकाम सल्लेरी पुग्थे । ‘कम्तीमा पनि साढे चार सय किलोमिटर दूरी पार गर्न ४ वटा जिल्ला छिचोलेर आफ्नै सदरमुकाम जानुपर्ने बाध्यता नेपालका कुनै पनि पालिकावासीलाई थिएन होला तर हामीले भने यो नियति लामो समयसम्म भोग्यौँ,’ लिखुपिके गाउँपालिकाका पूर्वअध्यक्ष डम्बरबहादुर बस्नेतले भने ।
४२ सय मिटर उचाइँको पीके डाँडा र ३७ सय मिटर उचाइँको लामाजुरा डाँडाकै कारण लिखुपिकेसँग सिधा सडक सञ्जाल जोड्न कठिन भएको हो । आफ्नै जिल्ला सदरमुकाम बिरानो रहेका यहाँका नागरिकलाई लामाजुरा डाँडाबाट सडक ट्र्याक खनिएसँगै निकै सहज भएको छ । ‘प्रशासन तथा मालपोतको काम लिएर सदरमुकाम जान हामीलाई निकै गाह्रो थियो, आफ्नो सदरमुकाम पुग्न अरू ४ जिल्लाको सदरमुकाम पार गरेर जान विवश थियौँ,’ लिखुपिकेका स्थानीय लोकेन्द्र बस्नेतले भने ।
अहिले सदरमुकामकै सोलुदूधकुण्ड नगरपालिकाले लामाजुराडाँडासम्म बाटो पुर्याएपछि भने सिधा सडक यातायात सञ्चालनमा आएको छ । ७० किलोमिटरमा सल्लेरीबाट लिखुपिकेको केन्द्र चौलाखर्कमा पुग्न सकिने भएपछि यहाँका स्थानीयलाई सरकारी काममा सहज भएको हो । दुई वर्षअघि नै सडक सञ्जाल लामाजुरामा पुर्याउने उक्त नगरपालिकाले तयारी गरे पनि टाक्टोर लामाजुरा क्षेत्रमा ७ किलोमिटर वन क्षेत्र परेको र वनले बाटो खन्न नदिएपछि सडक अगाडि बढ्न सकेको थिएन ।
नगरपालिकाले उक्त वन क्षेत्रमा सडकले नष्ट गर्ने ५३ रोपनी जग्गा अन्यत्रै सामुदायिक वनलाई खरिद गरेर दिएपछि मन्त्रिपरिषद्बाट उक्त टाक्टोर सामुदायिक वन क्षेत्रमा ट्र्याक खोल्न सहमति दिएको थियो । ‘१ वर्षभन्दा धेरै मन्त्रालय धाएर वैकल्पिक जग्गाको व्यवस्था गरेर ठूलो संघर्षपछि लामाजुरासम्म बाटो पुर्याउन सक्यौं,’ सोलुदूधकुण्डका प्रमुख नाम्गेलजाङ्बु शेर्पाले भने ।
प्रमुख शेर्पाका अनुसार उक्त वन क्षेत्रको ७ किलोमिटर बाटो बनाउन नगरपालिकाको आफ्नै स्काइभेटर प्रयोग गरिएको थियो । ‘सबै हिसाब गर्दा ट्र्याक खोल्नलाई ५० लाख खर्च भयो,’ नगरपालिकाका लेखा प्रमुख फुरी लामाले भने । यता लिखुपिके क्षेत्रबाट लामाजुरामा भने ५ वर्ष अगाडि नै ट्र्याक ओपन गरिएको थियो । लिखुपिकेको भकान्जेबाट लामाजुरासम्म ९३ लाख रुपैयाँको ठेक्कामार्फत २०७४ को अन्त्यमा लामाजुरामा बाटो पुर्याइएको थियो ।
‘अहिले गाउँपालिकाले बाटोको मर्मत गरेर सिधा सल्लेरी जान सकिने गरी बनाइएको छ,’ लिखुपिकेका अध्यक्ष मीना कार्की बस्नेतले भनिन्, ‘अब त पालिकाको गाडी लिएर बिहानै १० बजे नै सदरुमकाम सल्लेरीमा कार्यालयको काम सक्ने गरी पुगिन्छ ।’ सडक यातायातले छोएसँगै त्यस क्षेत्रका जनतालाई व्यवसाय गर्न पनि सहज भएको छ ।
‘हिजोसम्म भरिया र याक प्रयोग गरेर होटलको सामान ल्याइन्थ्यो,’ लामाजुराका होटल व्यवसायी सोनाम शेर्पाले भने, ‘अहिले त आँगनमै गाडीले सामान झारिदिन्छ, स्वर्गजस्तै भएको छ ।’ सदरमुकामबाट भौगोलिक रूपमा विकट भए पनि अलैंची खेतीका कारण यहाँका नागरिकको आर्थिक स्तर उच्च रहेको छ । अहिले उक्त पालिकाको लिखुखोलामा ३ वटा ठूला जलविद्युत् आयोजना निर्माणाधीन छन् । कान्तिपुरबाट