पाँचथर। राष्ट्रिय गौरवको आयोजना तमोर करिडोरको धनकुटा–पाँचथर खण्डको कालोपत्र सुरु गरिएको छ । धनकुटाको मूलघाटदेखि पाँचथरको गणेशचोकसम्म १ सय १० किलोमिटर क्षेत्रमा ठेक्का सम्झौता भएसँगै काम थालिएको हो ।
२०७८ मा ट्रयाक खोलेर ग्राभेलको काम सकिएको यो सडक छोटो समयमै पूर्वका पहाडी जिल्लालाई मोरङ एवं सुनसरीसहित तराईसँग जोड्ने द्रुतमार्ग हो । प्रथम चरणमा उक्त सडक कालोपत्रका लागि सरकारले गत भदौमा बोलपत्र आह्वान गरेको थियो ।
तमोर करिडोर आयोजनाका प्रमुख कुवेर नेपालीका अनुसार दुई प्याकेजमा ठेक्का सम्झौता भएलगत्तै निर्माण व्यवसायीले काम सुरु गरेका छन् । धनकुटाको मूलघाटदेखि हाङठुवासम्म कालोपत्र गर्न ६६ किलोमिटर क्षेत्रलाई पहिलो र हाङठुवादेखि गणेशचोकसम्म ५४ किलोमिटरलाई दोस्रो खण्ड मानिएको छ ।
पहिलो खण्डको ६६ किलोमिटर सडक कालोपत्रका लागि रौतहा क्षमादेवी (जेभी) निर्माण कम्पनीसँग २ अर्ब ४० करोडमा ठेक्का सम्झौता भएको छ । बाँकी ५४ किलोमिर पनि १ अर्ब २४ करोड रुपैयाँमा एपेक्स निर्माण सेवासँग सम्झौता भएको नेपालीले बताए । दुईवटै खण्डमा निर्माण व्यवसायीले सम्पर्क कार्यालय खोल्नका साथै सडक चौडा गर्ने, नालीपेटी बनाउने र ढुंगा, गिट्टी, बालुवा संकलन गर्न थालेका छन् । अबको दुई वर्षभित्र सक्नुपर्ने सम्झौतामा उल्लेख छ । तमोर करिडोर सुनसरीको चतरादेखि सुरु भएर ताप्लेजुङको टिपताला पुगेर टुंगिन्छ ।
छोटो दूरी र फराकिलो सडक भएकाले पाँचथर, ताप्लेजुङ र तेह्रथुमअन्तर्गत तमोर तटीय क्षेत्रका नागरिकलाई आउजाउसँगै खाद्यवस्तु आयात, कृषि र नगदे बाली निर्यात, निर्माणाधीन विद्युत् र सडकसँगै सानाठूला आयोजनामा आवश्यक निर्माण सामग्री ओसारपसारमा पनि सहज भएको छ । यो सडक नखुल्दा उक्त क्षेत्रका नागरिकले तराई झर्न मेची राजमार्ग भएर फिदिमबाट इलाम, झापा हुँदै २ सय ५७ किलोमिटरको यात्रा पछि धरान र विराटनगर पुग्नुपर्थ्यो । यो बाटो भएर धरान पुग्न कम्तीमा १० घण्टा लाग्नेमा अहिले आधाभन्दा कम समयमा पुग्न थालिएको छ ।
अहिले तमोर करिडोर भएर पाँचथरबाट धरानसम्म दैनिक बस र जिप ओहोरदोहार गर्छ । मोटरसाइकल र निजी सवारीसाधन पनि पर्याप्त गुड्छ । ठाँउठाँउमा घर बनिरहेका छन् । चिया पसल र होटलहरू खुलेका छन् । हाल पॉचथरको गणेश चोकबाट सुभाङ खोला, माझीटार, रानीगाँउ, स्याबरुम्बा, आङ्ना मौवा हुँदै धनकुटाको मूलघाट पुगेको छ । मूलघाटदेखि चौबिसे, सांघुरीगढीे, मूलघाट र त्रिवेणी हुँदै बराह क्षेत्र पुग्नेछ । मूलघाटदेखि चतरासम्म जोड्ने ३३ किलोमिटर पनि ट्र्याक खुलाइएको छ ।
तमोर करिडोरको बाटो भएर सुनसरीको धरान हुँदै प्रदेश १ को राजधानी विराटनगर पुग्न पाँचथरबासीलाई ६ घण्टा र ताप्लेजुङकालाई सदरमुकाम फुङलिङबाट ८ घण्टा मात्रै लाग्छ । मेची राजमार्ग भएर पाँचथर, इलाम, झापा हुँदै विराटनगर वा धरान पुग्न पाँचथरबाट कम्तीमा ९ र ताप्लेजुङबाट १२ घण्टा यात्रा गर्नुपर्छ । तमोर नदीको किनारैकिनार खनिएको यो सडकलाई पहाडदेखि तराई झर्न छिटो र सजिलो भएकाले ‘फास्ट ट्र्याक’ भन्ने गरिएको छ । कालोपत्रे भइसकेपछि समय अझै छोटिने चालक कृष्ण गजुरे बताउँछन् । सरकारले यो सडकको ट्र्याक खोल्न ६ अर्ब १५ करोड १४ लाख रुपैयाँ खर्च गरेको थियो । कान्तिपुरबाट