शारदानगर। भरतपुर महानगरपालिका–१९ का महिलाहरुको अगुवाइमा खानेपानीको योजना निर्माण भइरहेको छ । जिल्लामा नै पहिलोपटक महिलाहरुको अगुवाइमा खानेपानीको योजनाको निर्माण थालिएको हो ।
महिलाको अगुवाइमा गठन गरिएको शारदानगर जागृति खानेपानी उपभोक्ता समितिमा महिला सदस्यहरु रहेका छन् । ‘खानेपानी आयोजनाको काम महिलाले नै सुरू गरेका छौँ’, अध्यक्ष शान्तमाया गुरूङले भनिन्, ‘महिलाहरुले विकास निर्माणको काम गर्न पनि सक्छन् भनेर अरुलाई देखाउन चाहन्छौँ ।’
बिहानै उठेर घरपरिवारका लागि खाना पकाएर संस्थाले सञ्चालन गरेको खानेपानी योजनाको पाइपलाइन खन्ने, ट्याङ्की निर्माण गर्ने कामका कारण उनको व्यस्तता बढेको अध्यक्ष शान्तमाया गुरूङ बताउँछिन् । उपभोक्ताका घरघरमा गएर उनीहरुलाई आयोजनाका बारेमा बुझाउन गाह्रो परेको अनुभव छ उनीसँग । आयोजना सफल हुँदै गएकोमा उत्साहित छन् उनी ।
नवजागृति महिला सहकारीले सुरूवात गरेको खानेपानीलाई २०५१ सालमा स्थापना भएको महिला जागृति संघले सञ्चालन गरी संघको आयोजना र सहभागितामा भरतपुर–१९ मा रहेको सिर्जना सहकारी संस्थाले सुरूवात गरेको थियो ।
महिलाहरुबाट सञ्चालित यस आयोजनाले भरतपुर महानगरपालिका वडा नं–१६, १७, १९, २० र २१ का ३४ सय घरधुरीलाई खानेपानी वितरण गर्ने लक्ष्य लिएको अध्यक्ष गुरूङ बताउँछिन् ।
उनका अनुसार २६४ किमी क्षेत्रफलमा ६ वटा डिप बोरिङको माध्यमबाट २४ सै घन्टा खानेपानी सेवा उपलब्ध गराउने उद्देश्यका साथ ५७ करोडबराबरको लागतमा खानेपानीको परियोजना भरतपुर–१९ स्थित शारदानगरमा र मिलडाँडामा सञ्चालन भइरहेको हो ।
परियोजनामा सरकारबाट ७० प्रतिशत अनुदान, नगर विकास कोषबाट २५ प्रतिशत ऋण लगानी र ५ प्रतिशत रकम उपभोक्ताबाट बेहोरिने प्रावधान छ । यस आयोजना सञ्चालनमा आएसँगै तत्काल १९ हजार घरधुरी लाभान्वित हुनेछन् । आउँदो असोजसम्म नै स्थानीयलाई स्वच्छ पिउने पानीको व्यवस्था मिलाउने लक्ष्यका साथ आफूहरु अघि बढेको उनले बताइन् ।
शारदानगरमा ४५ लाख लिटर र मिलडाँडामा ४५ लाख लिटर गरी ९० लाख लिटर क्षमता भएको पानी ट्याङ्की निर्माणका लागि काम अगाडि बढिसकेको छ । आयोजनामा ३ बोरिङ, ३ ओभरहेड ट्याङ्की र २७४ किलोमिटर पाइपलाइन विस्तार हुनेछ । २ वर्षमा सम्पन्न गर्ने गरी शर्मा एण्ड कम्पनीले ठेक्का सम्झौता गरी निर्माण कार्य सुरू गरेको परियोजना हाल ट्याङ्की निर्माण भएर पाइपलाइन विस्तारको क्रममा रहेको उनले जानकारी दिइन् ।
शारदानगरमा आयोजना निर्माण, सञ्चालन तथा व्यवस्थापन गर्न अनुमानित लागत ३३ करोड ४१ लाख ६६ हजार रूपैयाँको २५ प्रतिशत रकम ८ करोड ३५ लाख ४१ हजार रूपैयाँ नगर विकास कोषबाट ऋण लगानी हुनेछ । खानेपानी तथा ढल व्यवस्थापन विभागबाट छनोट भएको बोलपत्रदाताले पेश गरेको ठेक्का कबोल अङ्क स्वीकृत भएपछि आयोजना अगाडि बढेको हो ।
शारदानगर खानेपानी तथा सरसफाइ आयोजना कार्यान्वयन गर्नेसम्बन्धमा आयोजना व्यवस्थापन कार्यालय, नगर विकास कोष, भरतपुर महानगरपालिका र शारदानगर जागृति खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाबीच वित्तीय सम्झौता पत्रमा आयोजना व्यवस्थापन कार्यालयका आयोजना निर्देशक रामकुमार श्रेष्ठ, नगर विकास कोषका प्राविधिक सहयोग अधिकृत सुवासराज पन्त, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र शारदानगर जागृति खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाकी अध्यक्ष सन्तमाया गुरूङले हस्ताक्षर गरेका थिए ।
आयोजनाअन्तर्गत ओभरहेड ट्याङ्की भरतपुर महानगरपालिका–१९ स्थित मिलडाँडामा महानगर प्रमुख रेनु दाहालले केही महिनाअगाडि शिलान्यास गरेकी थिइन् ।