शारदानगर । भरतपुर महानगरपालिका वडा नम्बर–१९, वडा कार्यालय प्रविधिमैत्री वडा कार्यालय भने बनेको छ ।
नमुना वडा बनाउने अभियानअन्तर्गत वडा कार्यालयलाई प्रविधिमैत्री कार्यालय बनाइएको वडाध्यक्ष तामाङले बताए । उनका अनुसार वडा कार्यालयलाई व्यवस्थित बनाइएको छ । वडाले गर्ने कार्यक्रम प्रविधिमैत्री बनाउन पहिले वडाध्यक्षको कार्यकक्ष रहेको एसीसमेतको कोठालाई सेवाग्राहीका निम्ति वेटिङ रूम बनाइएको सभाहललाई थप व्यवस्थित गरिएको वडाध्यक्ष तामाङले बताए ।
त्यस्तै, वडा प्राङ्गणमा आकर्षक बगैँचा निर्माण गरिएको छ । वडा कार्यालयको चार कट्ठा क्षेत्रफलमा लगाइएको पर्खाल र रेलिङ पनि रङ्गरोगन गरेर चिटिक्क पारिएको छ । वडामा सबैभन्दा बढी खानेपानी विस्तारका लागि भरतपुर–१९ मा दुई ठाउँमा खानेपानी परियोजना सञ्चालन भैरहेका छन् । ५७ करोडबराबरको लागतमा खानेपानीको परियोजना भरतपुर–१९ स्थित शारदानगरमा र मिलडाँडामा सञ्चालन भइरहेको हो ।
भरतपुर महानगरपालिका वडा नम्बर–१६, १७, १९, २० र २१ का ३४ सय घरधुरीलाई खानेपानी वितरण गर्ने लक्ष्यसहित २६४ किमी लम्बाइमा खानेपानीको पाइप बिच्छ्याई छवटा डिप बोरिङको माध्यमबाट २४ सै घन्टा खानेपानी सेवा उपलब्ध गराउने शारदानगर जागृति खानेपानी तथा सरसफाइ उपभोक्ता समिति लागिरहेको वडाध्यक्ष तामाङले बताए । वडाका प्रत्येक गाउँगाउँमा सडक विस्तार हुनुका साथै गाउँका केही गल्लीहरुमा कालोपत्रे भएको उनले बताए । भरतपुर–१९ मा पिच नभएको कुनै पनि सडक नरहेको बताउँदै उनले बाँकी रहेका केही भित्री प्लटिङका बाटाहरु समेत पिच हुने क्रममा रहेको बताए । सडकलाई प्राथमिकतामा राखेर पहिलेदेखि काम भैरहेको अध्यक्ष तामाङको भनाइ छ ।
वडा अध्यक्ष तामाङले भने, ‘यहाँका स्थानीयहरुको सानाभन्दा पनि अति साना आवश्यकताहरु पूरा गर्नु हाम्रो दायित्वभित्र पर्छ । यसलाई चुनौतीभन्दा पनि अवसरको रुपमा लिएर म समग्र वडावासीहरुको सेवामा तल्लीन छु । लामो समयसम्म हुन नसकेका एवं अधुरा र अपूरा विकासका कामहरु थुप्रै सम्पन्न भइसकेका छन् । बाटाघाटाहरु पक्की नालासहित कालोपत्रे भएका छन् ।’
शारदानगरमा स्वास्थ्यचौकी रहेको छ । स्वास्थ्यचौकीले आन्तरिक स्रोतबाट प्रयोगशाला चलाएको छ । भरतपुर महानगरपालिका–१७, १८, १९, २०, २१, २६ का स्थानीयलाई सेवा पु¥याइरहेको उनले बताए । वडावासीहरुको स्वास्थ्यलाई ध्यानमा राख्दै आएको भन्दै विशेषगरी गर्भवती र सुत्केरी महिलाको स्वास्थ्यलाई ध्यानमा राखेर काम गर्दै आएको वडाध्यक्ष तामाङको भनाइ छ । स्वास्थ्यचौकीलाई २५ शय्याको अस्पताल बनाउनका निम्ति पहल भैरहेको उनले बताए ।
भरतपुर–१९ लाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न थप योजना अगाडि सारिएको वडाध्यक्ष तामाङले बताए । यसै वडामा नेपालकै पहिलो बखान बहुउद्देश्यीय सहकारी संस्था रहेको छ । पछिल्ला दिनहरुमा सहकारीकर्मीहरुको अवलोकन भ्रमणको लोकप्रिय गन्तव्य मुलुकको जेठो सहकारीको इतिहास बोकेको बखान सहकारी बन्दै गएको छ ।
२०१३ साल चैत २० गते स्व. बखानसिंह गुरूङको अगुवाइमा चितवनको तत्कालीन बखानपुरस्थित बखानटोलमा स्थापित बखान सहकारी देशभरका करिब ३० हजार सहकारीहरुको अभिभावक संस्था हो । बखान सहकारीले सहकारी सङ्ग्रहालय निर्माणको काम अघि बढाएको छ ।
यसैगरी, वडा नं–१९ र २० मा पर्ने किरणगञ्जको रानीपोखरीमा रमणीय पार्क बन्ने क्रममा छ । यो पोखरी चितवनमा आधुनिक बसोवास सुरू हुनुअघि नै निर्माण भएको मानिन्छ । चार बिघा जमिनमा फैलेको रानीपोखरीमा पार्क बन्नुका साथै रानीपोखरीको बीचमा बाराहीको मन्दिर, भ्यू–टावरलगायतका पूर्वाधार निर्माणका योजना रहेको वडाध्यक्ष तामाङ बताउँछन् ।
यसैगरी, वडामा निर्माणाधीन चिल्ड्रेन पार्क तथा बखान स्मृति मिनी रङ्गशाला निर्माण कार्यलाई पनि तीव्रता दिइने वडाध्यक्ष तामाङले बताए । उनले वडाको सेवालाई जनमैत्री बनाइने प्रतिबद्धता जनाउँदै विधिको शासन स्थापना गर्ने र जनप्रतिनिधिको हैसियतमा पाइने तलबभत्ता वडाभित्रका विपन्नलाई शिक्षा, स्वास्थ्य र खानेपानीका निम्ति दिने गरेको पनि बताए ।
यस्तै, भरतपुर–१९ लाई भ्रष्टाचारमुक्त र ढिलासुस्तीरहित सुशासन, पारदर्शी सेवा प्रदान गर्ने, वडाभित्र रहेका सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तरमा वृद्धि गर्ने, स्तरोन्नति तथा विद्यालयमा पुस्तकालय, विज्ञान प्रयोगशालाको समुचित व्यवस्था गर्ने, विद्यालयमा प्राविधिक शिक्षा सञ्चालन गर्दै विद्यार्थीहरुलाई पढाइसँगसँगै काम र रोजगारीसहितको व्यावहारिक शिक्षाका पूर्वाधारहरु तयार गर्ने वडाका योजनाहरु रहेको उनले बताए ।
यसैगरी, वडाभित्र महिला हिंसा तथा विभेद न्यूनीकरणका साथै वडाभित्र रहेका सुकुमबासी, भूमिहीन दलितहरुको समस्या समाधान वडाका आगामी योजनाहरु रहेको उनले बताए ।