काठमाडौं। पाल्पाको तानसेन नगरपालिका–५ कैलाश नगरमा श्रीनगर सांस्कृतिक डबलीको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। पाल्पाका कला संस्कृति तथा ऐतिहासिक पक्षको प्रचारप्रसार गरी पर्यटक भित्रियाउने उद्देश्यका साथ प्रदेश सरकारको योजना अनुसार काम अगाडि बढाएको जानकारी गराइएको छ। सांस्कृतिक डबली निर्माणका लागि लुम्बिनी प्रदेश सरकारले ६ करोड ८२ लाख ५६ हजार ९१ रुपैयाँ बजेट विनियोजन गरेको छ। त्यस्तै प्रतिष्ठा कन्स्ट्रक्सन कम्पनी प्रालि काठमाडौँले डबली निर्माणको काम थालेको हो।
पाल्पामा निर्माणाधीन उक्त डबली सञ्चालनमा आएपछि त्यहाँको कला, संस्कृतिको संरक्षण तथा पर्यटक प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास राखिएको छ। रोजगारीका अवसर सिर्जना हुने, कला, संस्कृतिको प्रदर्शनीले पर्यटकको आगमनमा वृद्धि हुने लुम्बिनी प्रदेशका ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रीले जानकारी गराएका छन्।
त्यस्तै नयाँ पुस्ताका युवाले बिर्सिएको कला, संस्कृतिसम्बन्धी डबलीमार्फत ज्ञान अभिवृद्धि हुने र कला, सस्कृतिसँग जोडेर स्थानीयवासीको आयआर्जन हुने तानसेन नगरपालिकाका नगर प्रमुखले बताएका छन्। विसं २०७६ असार ८ गते काम सुरु गरी विसं २०७८ असार ७ गते सम्पन्न गर्ने सम्झौता भएको भएपनि निर्माण कम्पनीले कोभिडका कारण देखाएर आलटाल गरिरहेको जानकारी गराइएको छ। निर्माण सम्बन्धी सबै काम पूरा भएको र केही सामान्य काम मात्र बाँकी रहेकोले बाँकी रहेको सबै काम अबको तीन महिनाभित्र सम्पन्न गर्ने निर्माण कम्पनीका प्रतिनिधिले जनाए।
पर्यटकीय गन्तव्यका रुपमा परिचित पाल्पामा रानी महल, पाल्पा दरबार, भैरव मन्दिरलगायतका ऐतिहासिक सम्पदा अवलोकन गर्न पर्यटक पाल्पामा घुमफिर गर्न आउछन्। सो डबली निर्माण पश्चात पाल्पाका विभिन्न जातजातिको कला, संस्कृति प्रदर्शन गरेर पर्यटकलाई आकर्षित गर्ने उद्देश्य रहेको छ।