काठमाडौं। उपत्यकाको ललितपुर ग्वार्कोमा नेपालको पहिलो फ्लाइओभर निर्माण सुरु भएको छ । रिङरोडमा जोडिएको ग्वार्को चोकमा फागुनबाट फ्लाइओभर निर्माण सुरु भएको हो ।
पहिले यसको निर्माण माघबाट सुरु हुने बताइएको थियो । तर, डिजाइनमा भएको केही परिवर्तनका कारण स्वीकृत हुन समय लागेकाले फागुनबाट निर्माण कार्य सुरु गरिएको हो । सडक विभाग अन्तर्गतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले अहिले फ्लाइओभरको निर्माण कार्य चलिरहेको जानकारी दिएको छ । “फ्लाइओभरको निर्माण कार्य सुरु भएको छ । अहिले पाइलिङ (पिलर बनाउने काम) भइरहेको छ,” केन्द्रका निर्देशक नवीनमान श्रेष्ठले भने, “निर्माण कम्पनीले पेस गरेको डिजाइन केही करेक्सन गरेर विभागले गत साता स्वीकृत गरेसँगै निर्माण कार्य सुरु गरिएको छ ।”
निर्देशक श्रेष्ठका अनुसार डिजाइनमा केही हेरफेर भएकाले निर्माण सुरु गर्ने समय एक महिना पर धकेलिएको भए पनि अहिले तीव्र गतिमा काम भइरहेको छ । पाइलिङको काम गर्नका लागि हाल पिच कटिङ गरेर ड्रिलिङको काम जारी छ । श्रेष्ठका अनुसार ३४ मिटर तलसम्म ड्रिलिङ गरेर त्यसमा पिलर तयार गरिने छ । यसका लागि ८ स्थानमा समानान्तर हिसाबले ड्रिलिङ गरिनेछ । डिजाइन र निर्माणका लागि दुई वर्षको समयसीमा रहेकामा अबको १ वर्षभित्र निर्माण पूरा गर्ने गरी काम भइरहेको श्रेष्ठले जानकारी दिए ।
निर्माणको जिम्मा पाएको आरसी, समानान्तर र रेलिग्रेले फ्लाइओभरका लागि बिएन्डबी अस्पतालबाट बालकुमारीसम्म र्याम उठाएर फ्लाइओभर निर्माण गर्नेछ । एमएसी (मेकानिइकल्ली स्टेवलाइज अर्थ) वालको प्रयोग गरी ६ मिटर अग्लो पिलर निर्माण गरेर त्यसअनुसार उचाइ भएको फ्लाइओभर तयार गरिनेछ । फ्लाइओभरको लम्बाइ ४ सय ९० मिटर हुनेछ । यो ईपीसि (इन्जिनियरिङ प्रोक्युरमेन्ट कन्स्ट्रक्सन) मोडलमा ठेक्का लगाइएको आयोजना हो ।
यो फ्लाइओभरमा बालकुमारीतर्फबाट दुई सय ८० मिटर लामो र्याम र सातबाटोतर्फबाट एक सय ७५ मिटर लम्बाइको र्याम निर्माण गरिने छ भने उचाइ ६ मिटरको हुनेछ । १४ महिनामा निर्माण कम्पनीले निर्माण पूरा गरी सरकारलाई हस्तान्तरण गर्नु पर्नेछ । डिजाइनदेखि निर्माणको सबै उत्तरदायित्व निर्माण कम्पनीकै हुनेछ ।
हाल रिङरोडमा रहेको ८ लेनमध्ये ४ लेनलाई उठाएर रिङरोडमा फ्लाइओभर निर्माण गरिनेछ । फ्लाइओभर निर्माणपछि कलंकी–कोटेश्वर सडक खण्डका सवारीसाधन फ्लाइओभरबाट र ग्वार्को–लामाटार र ग्वार्को–पाटनका सवारीसाधन ओभरपासको सडक खण्डबाट गुड्नेछन् । विकास केन्द्रका अनुसार ग्वार्को, सातदोबाटो र एकान्तकुना चोकमा ग्रेड सेपरेटेड इन्टरसेक्सन निर्माण गर्ने योजनाअनुरुप पहिलो चरणमा ग्वार्को चोकमा फ्लाइओभर बनाउन लागिएको हो ।
सवारी चापको आधारमा पहिलो चरणमा ग्वार्को चोकको फ्लाइओभर निर्माण हुन लागेको हो । रिङरोडलाई ट्राफिक जाममुक्त बनाउने उद्देश्यले फ्लाइओभर लागिएको हो । आयोजनाको कुल लागत १७ करोड ६८ लाख रुपैयाँ रहेको छ । कारोबार दैनिकबाट