सल्यान। विद्युत् लाइन विस्तार गरेको एक वर्ष बितिसक्दा पनि दार्मा गाउँपालिका–४ मौलाहाले, रामीडाँडा, कुमाख गाउँपालिका–२ शान्तिबजार, नेटा र सिद्धकुमाख गाउँपालिका–२ भडारेका किसानले अझै बत्ती बाल्न पाएका छैनन् । अधिकांश काम सकिएको योजनामा ट्रान्सफर्मर जडान नहुँदा स्थानीयहरू अँध्यारोमा बस्न बाध्य भएका हुन् ।
टान्सफर्मर खरिदमा भएको टेन्डर ढिलाइका कारण तीन पालिकाका ४ वडावासी रातिको समयमा अझै पनि सल्ले झर्रो र टुकीको भरमा छन् । गाउँमा हुनेखाने केहीले सोलार जडान गरे पनि खोच भएकाले पर्याप्त घाम नलाग्दा १र२ घण्टा पनि बत्ती नबल्ने भडारेका श्याम बुढाले बताए । उनका अनुसार अझै पनि मौलाहाले र रामीडाँडाका १ हजार, भडारे र टाकुराका ९ सय र शान्ति बजार र नेटाबजारका ५ सय घरधुरी अँध्यारो बनेका हुन् ।
खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालयले २०७७ सालमा २ करोड ६० लाख रुपैयाँ बजेटबाट योजनाको काम सुरु गरेको थियो । चार वटै वडामा लाइन विस्तारको काम भने गत वर्षको पुस–माघमै सकिएको थियो । लाइन विस्तार नहुँदा बिजुली बाल्ने धोको पूरा नभएको दार्मा गाउँपालिका–४ मौलाहालेका नन्दराम खड्काले बताए । ‘हुनेखानेले सोलार जडान गरेका छन्,’ उनले भने, ‘विपन्न घरधुरी अझै पनि सल्लाको दियालो, टुकी र लालटिनकै भरमा रात गुजार्न बाध्य छौं ।’ विद्युत् सेवा विस्तार हुने भन्दै केही घरधुरीले घरमा वायरिङसमेत गरेका थिए । स्थानीय अर्जुन विकले भने, ‘अहिले त घर अगाडि गाडेका पोल पनि ढल्ने अवस्थामा पुगेका छन् ।’ निर्वाचनका बेला गाउँमा बिजुली पुर्याउँछौं भन्ने उम्मेदवारले फर्केर नहेरेको उनको गुनासो छ । विद्युत नहुँदा गाउँमा घरेलु उद्योग स्थापना गरी स्वरोजगार बन्ने धोको अधुरै रहेको उनको दुःखेसो छ । गत वर्ष पुसमै योजनाको काम सम्पन्न भए पनि ट्रान्सफर्मर खरिदका लागि तीन पटक टेन्डर आह्वान गर्दासमेत निवेदन नपरेको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका प्रमुख पदमराज देवकोटाले बताए । उनका अनुसार बजार मूल्यभन्दा खरिद दर रेट कम भएपछि ठेकेदारले टेन्डर नहालेका हुन् । ठेकेदारले टेन्डर नहालेपछि आएको बजेट फिर्ता जाँदा पनि समस्या भएको उनको भनाइ छ । फेरि टेन्डर आह्वान गर्ने तयारी भइरहेको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार आर्थिक वर्ष २०७७र७८ मा जिल्लाभरि झन्डै ५ करोड रुपैयाँ बजेट विनियोजन गरी ७ योजना सुरु गरेकामा ३ योजनाको काम भने सकिएको छ ।
योजना निर्माणको काम सकिएपछि बन्गाडकुपिण्डे नगरपालिकाका २ र ३ वडा, बाग्चौर नगरपालिकाका ११ र १२ वडा र कालिमाटी गाउँपालिकाका २ र ४ वडामा भने बिजुली बलिसकेको उनले जानकारी दिए । तीन वटा योजनाको काम सकिएपछि झन्डै २ हजार घरमा बिजुली बलेको उनले बताए । ‘अबको ६ महिनाभित्र ती ठाउँमा पनि बिजुली बल्छ,’ उनले भने, ‘टेन्डर आह्वानको काम एक साताभित्रै गर्छौं ।’ कान्तिपुरबाट