काठमाडौं । बागमती प्रदेशमा मंगलबारदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स)काे नयाँ मापदण्ड लागु भएको छ । ट्रायलमा ७० अंक ल्याए पनि पास हुने नियम लागु भएको हो ।
अब बागमती प्रदेशमा रहेका यातायात व्यवस्था कार्यालयमध्ये सवारी चालक अनुमति प्रदान गर्ने सम्पूर्ण सेवा केन्द्रहरुले एकैपटक ७० अंकमा ट्रायल पास हुने व्यवस्था गर्नेछन् ।
प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले मोटरसाइकल, स्कुटर तथा मोपेडका लागि कुल अङ्कभार एक सय तोकेको छ । यसमा ७० अङ्क प्राप्त गर्ने प्रशिक्षार्थी अनुमतिपत्रका लागि योग्य मानिने व्यवस्था गरिएको छ ।
सवारी चालक अनुमति परीक्षा सञ्चालन निर्देशिका २०७७ निर्देशिकाअनुसार मोटरसाइकल, स्कुटर र मोपेड चालकका लागि घुमाउरो आठ (एट आकार) को अङ्कभार २० तोकिएको छ । दुई पटकसम्म अङ्कित रेखा छोएमा प्रत्येक पटक पाँच अङ्कको दरले १० अङ्कभार घट्नेछ तर, पनि ट्रायल भने फेल भइँदैन ।
यस्तै दुई पटकभन्दा बढी उक्त रेखा छोएमा, सवारीको टायर अङ्कित रेखाभन्दा बाहिर गएमा, एकपटकभन्दा धेरैपटक खुट्टाले भुइँ टेके, ठीक दिशाबाट वा ठीक तरिकाबाट आठ आकार नबनाए वा सवारीको स्टार्ट बन्द भएको अवस्थामा भने अनुत्तीर्ण भएको घोषणा गरिने व्यवस्था छ ।
यस्तै कार, जिप, डेलिभरी भ्यानको प्रयोगात्मक परीक्षाको कुल अङ्कभार एक सय तोकिएको छ । यसमा ७० प्रतिशत ल्याएको खण्डमा प्रशिक्षार्थी उत्तीर्ण भएको मानिनेछ । निर्देशिकाअनुसार कार, जिप, डेलिभरी भ्यानको प्रयोगात्मक परीक्षामा घुमाउरो आठ (एट)को अङ्कभार २० तोकिएको छ । दुईपटकसम्म अङ्कित रेखा छोए प्रत्येक पटक पाँच अङ्कका दरले १० अङ्कभार घट्नेछ तर ट्रायल फेल भइँदैन ।
दुई पटकभन्दा बढी अङ्कित रेखा छोए, सवारीको टायर अङ्कित रेखाभन्दा बाहिर गए, ठीक दिशाबाट वा ठीक तरिकाबाट आठ आकार नबनाएमा वा सवारीको स्टार्ट बन्द भएको अवस्थामा भने अनुत्तीर्ण हुने व्यवस्था गरिएको छ । निर्देशिकामा ट्राफिक सङ्केतको अङ्कभार १५ तोकिएको छ । पालना नगरे १५ अङ्क घट्ने प्रावधान राखिएको छ ।