पर्सा। हुलाकी राजमार्ग निर्देशनालयले काम पूरा नगर्ने ठेकेदारको जमानत रकम तानेको छ । निर्देशनालयको योजना कार्यालय वीरगन्जले सप्तकोसी जलाधार। ओमसाई जेभीको १ करोड ८८ लाख रुपैयाँ तानेको हो ।
ठेकेदार कम्पनीले मानमथ–कलैया–मटिअर्वा सडक खण्डको साढे ३ किमि सडक स्तरोन्नतिको ठेक्का लिएको थियो । २०७८ माघ २७ मा ठेक्का सम्झौता भएको थियो । गत माघ १ मा काम सक्ने अवधि तोकिएको थियो । तर निर्माण कम्पनीले हालसम्म ५ प्रतिशत मात्र काम गरेको कार्यालयको भनाइ छ । ठेकेदार कम्पनीले बैंकमा राखेको जमानत रकम तानेको कार्यालयका प्रमुख दारोगा प्रसादले जानकारी दिए । ‘ठेक्का लिएर पनि काम सम्पन्न नगरेका ठेकेदार कम्पनीले बैंकमा राखेको ग्यारेन्टी रकम तानिएको छ,’ उनले भने, ‘विभिन्न माध्यमबाट प्रयास गरे पनि सम्पर्कमा नआएपछि जमानत रकम तानिएको हो ।’
कार्य सम्पादन जमानतवापत बैंकमा रहेको ५ करोड ४८ लाख रुपैयाँ पनि तान्ने प्रक्रिया सुरु गरिएको उनले बताए । ‘सम्बन्धित बैंकलाई पत्राचार गरिसकेका छौं, ठेक्का तोड्न टिप्पणी पनि उठाइसकेका छौं,’ उनले भने, ‘केन्द्रलाई पत्राचार भइसकेको छ, केन्द्रबाट स्वीकृति पाएलगत्तै ठेक्का पनि तोडिने छ ।’ कलैया उमहानगरपालिकाको मध्य भएर गएको साढे ३ किमि सडक मुआब्जा विवादका कारण यसअघि कालोपत्रे हुन सकेको थिएन । कलैया उपमहानगरपालिकाअन्तर्गत नेपाल–भारत सीमास्थित मटिअर्वादेखि कलैया हुँदै पूर्वपश्चिम राजमार्गअन्तर्गत मानमथसम्म करिब ३० किमि लामो कालोपत्रे सडक करिब ३ वर्षअघि निर्माण सम्पन्न भएको थियो । त्यसमध्ये करिब साढे ३ किमि सडक मुआब्जा विवादका कारण निर्माण हुन सकेको थिएन ।
गत वर्ष हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय वीरगन्जले अधुरो रहेको खण्ड स्तरोन्नतिका लागि टेण्डर आह्वान गरेपछि सप्तकोसी जलाधाररओमसाई जेभीले २२ करोड ३१ लाख रुपैयाँमा ठेक्का सकारेको थियो । ठेक्कामा ६ लेन सडक निर्माणसँगै फुटपाथ, डिभाइडर, नाला निर्माणसमेतको योजना रहेको र यसले कलैया उपमहानगरपालिकाको सौन्दर्य बढाउनुका साथै ट्राफिक जामको समस्यासमेत समाधान गर्ने प्रसादले बताए । ‘यो ठेक्काले कलैया उपमहानगरपालिकाको मुख्य सडकको स्वरुप नै परिवर्तन गर्ने थियो, ठेक्का समयमा सम्पन्न गर्न कुनै पनि बाधा अवरोध थिएन,’ उनले भने, ‘मुआब्जाको समस्या समाधान भइसकेको थियो, धेरै बिलोमा गएर ठेकेदार कम्पनीले ठेक्का लिएका थिए, काम गर्ने क्रममा उनीहरु काम नगरेर भाग्न थालेको जानकारी पायौं, यसरी योजना नै अधुरो रह्यो ।’
कलैया बजारको मुख्य तथा अतिव्यस्त सडक जीर्ण भएपछि सास्ती भइरहेको कलैया भवानीपुरका कदम श्रेष्ठले बताए । ‘अति व्यस्त सडकलाई लामो समयदेखि ग्राभेल हालेर छोडिएको छ,’ उनले भने, ‘एकातिर सवारी चलाउन र पैदल आवागमनमा समस्या भएको छ, अर्कोतिर धूलो उडेर हैरानी छ ।’कान्तिपुरबाट