काठमाडौँ। नेपाल सरकारले डेढ दर्जन सुरुङमार्ग र अन्डरपास निर्माणको प्रस्ताव अघि सारे पनि ठेक्का भने बल्ल एउटाको मात्रै सुरु भएको छ। वर्षेनी सुरुङमार्ग निर्माण गर्ने भन्दै संख्या र बजेट थपे पनि हालसम्म एउटा मात्र सुरुङमार्गको ठेक्का प्रक्रिया अघि बढाइएको छ।
सडक विभागका अनुसार अहिलेसम्म सिद्धबाबा सुरुङमार्ग निर्माणका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरी प्राविधिक मूल्याङ्कनको प्रक्रियामा छ। अन्य सुरुङमार्गमध्ये केहीको विस्तृत र केहीको प्रारम्भिक अध्ययनको प्रक्रिया जारी छ। केहीको भने प्रस्ताव गरिएको भए पनि अध्ययन समेत हुन सकेको छैन।
सडक विभागका महानिर्देशक अर्जुनजंग थापाका अनुसार चालु आर्थिक वर्षका लागि निर्माण र अध्ययनका लागि भन्दै डेढ दर्जन बढी सुरुङका लागि १ अर्ब ९९ करोड ६० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। जसमध्ये प्रक्रियागत रुपमा अघि बढेको सिद्धबाबा सुरुङमार्गका लागि ६० करोड रुपैयाँ छुट्याइएको छ। त्यसमध्ये सुरुङमार्ग विकास कार्यक्रमका लागि ५ करोड ११ लाख,विभिन्न प्रस्तावित सुरुङमार्गहरुको सम्भाव्यता अध्ययनका लागि २ करोड बजेट विनियोजन भएको छ।
सिद्धबाबा सुरुङ निर्माण, लामा बगर सुरुङ, धरान लेउती सुरुङमार्ग, टोखा–छहरे–गुर्जुभज्याङ सुरुङमार्ग,अरनिको राजमार्ग कोटेश्वर–जडिबुटि खण्ड सुरुङमार्ग, दुम्कीबास–बर्दघाट, हेम्जा नयाँपुल सडक सुरुङमार्ग, कुलेखानी–भीमफेदी सडक सुरुङमार्ग, बीपी राजमार्ग खुर्कोट–चियाबारी सुरुङमार्ग, मझिमटार–शक्तिखोर सुरुङमार्ग, गणेशमान सिंह मार्ग अन्तर्गत थानकोट–चित्लाङ सुरुङमार्ग, नयाँ बानेश्वर अन्डरपास, प्रबास–जोर्ते पाल्पा सडक सुरुङमार्ग, गौशाला अन्डरपास, रसुवागढी बेत्रावति सडक सुरुङमार्ग, बबई–छिन्चु सुरुङ, ताथली–विओपी सुरुङमार्ग, बीपीनगर खुटिया, गोदावरी मानचौर सुरुङमार्ग, धरान–लेउती सुरुङमार्ग, दुम्लिङ–वासवाङ चेपाङमार्ग आदि सुरुमार्ग र अन्डरपास र सूरुङमार्ग निर्माणको लागि बजेट विनियोजन भएको हो। जसमध्येमा हालसम्म सिद्धबाबा सुरुङमार्ग निर्माण कार्य मात्र अघि बढेको छ।