काठमाडौं। सुनसरी मोरङ सिँचाइ आयोजना अन्तर्गत सीतागञ्ज शाखा नहर अहिलेसम्म सबैभन्दा उत्कृष्ट शाखाको रुपमा स्थापित भएको छ। कुशल व्यवस्थापन, नियमति उपभोक्ता उपसमितिको छनोट, पानी पोत, नहरको रेखदेख र किसानको समस्यामा व्यवस्थापन पक्षको चासो र जिम्मेवारी बहनले उत्कृष्ट भएको हो।
लगभग १३ किमी लम्बाइको उक्त नहरको पानीले सात हजार ८०० हेक्टर जग्गामा सिँचाइ सुविधा पुगेको छ। वर्षे धानबाली, गहुँबाली, मकै, दलहन र तेलहन बालीका लागि नियमित पानी सञ्चालन हुने सो नहरमा अहिले बालुवा थुप्रिने समस्या देखिएको छ। ६८ सेमी पानी बहाव हुने उक्त नहरमा बालुवा थुप्रिने समस्याले गर्दा अहिले ६२ सेमी मात्र पानी वहाब हुने भएकाले तत्काल बालुवा सफा गर्नुपर्ने आवश्यकता देखिएको छ।
चतरा मूल नहरको २० वटा शाखा अन्तर्गत सीतागञ्ज शाखा नहरको एक भाग शिरानदेखि तलसम्म ग्राभेल भएको छ। जसले गर्दा स्थानीयवासीलाई सवारी अवागमनमा निकै सुविधा पुगेको पाइन्छ। सीतागञ्ज शाखा नहर नजिकैबाट बगेको थलहा खोलाले नहरलाई बेलाबखतमा समस्यामा पार्ने गरेको अध्यक्षले बताए। धेरै पहिले बनेका नहरका संरचना खोलाको गहिराइले गर्दा संरचना ध्वस्त हुने अवस्था आउन नदिन समयमै यसको व्यवस्थापन गर्नु उचित रहेको उनको भनाइ छ।
सुनसरी र मोरङ जलस्रोत समिति, स्थानीय पालिकासमेत सहभागी भई बनेको यो व्यवस्थापन समितिले नहरलाई जोगाई राख्न आयोजनाले पनि शाखाको समस्यामा गम्भीर हुनुपर्ने आवश्यकता औँल्याएको छ। समितिका सचिव इसराईल अन्सारी, एसएस–९ एफटि–१ का अध्यक्ष सियालाल यादवले तत्कालै गठित यो समिति नियम कानूनका आधारमा गठन भई नहर सञ्चालन, व्यवस्थापन र किसानको समस्या सम्बोधन गर्न प्रयत्नशील रहने विश्वास व्यक्त गरे।