बझाङ। विकासको नाममा गाउँगाँउमा डोजरले जथाभावी सडक खन्दा हाल बझाङ बाढीपहिरोको उच्च जोखिममा परेको छ। वातावरणीय प्रभावको अध्ययन नगरी प्राविधिक स्टिमेट बिना डोजर लगाएर सडक निर्माण गर्दा जिल्लाका ग्रामीण बस्तीमा पहिरोको खतरा बढेको हो। मुख्य राजमार्गसँंग ग्रामीण सडक सञ्जाल जोडने होडबाजीका कारण जथाभावि प्राविधिक स्टिमेट विनासडक निमार्ण गर्दा भविश्यमा ठूलो विपदमा पर्नेतर्फ कसैको ध्यान गएको छैन।
सडकको पहुँच पुग्दा खुसी हुनुपर्ने बझाङका ग्रामीण भेगका बासिन्दामा यत्तिबेला रुवाबासी चलेको छ। सडक निर्माणले निम्त्याएको विनासका कारण यहाँका अधिकांस गाँउ पहिरोको उच्च जोखिममा परेका छन। दुई नगरपालिका र १० गाउँपालिका रहेको बझाङमा सबै स्थानीय तहले हाल विकासका नाममा डोजरमार्फत सडक निर्माण गरिरहेका छन्। जिल्लाभरिमा दुई दर्जनभन्दा बढी ग्रामीण सडकका कारण दुई हजारभन्दा बढी स्थानमा पहिरोको जोखिम बढेको छ। कमजोर भौगर्भिक अवस्था भएको पहाडी जिल्लामा जथाभावी डोजर चलाएका कारण पहिरोको खतरा दिन प्रतिदिन बढ्दै गएको हो। वर्षात्मा पहिरोले घर तथा खेतमा ठूलो क्षति पुर्याएको छ भने हिँउदमा पनि सुख्खा पहिरो खस्ने भएपछि त्यहाँका स्थानीय बासीन्दाहरुमा बस्ती विस्थापित हुने डर रहेको छ।
बेमौसमी वर्षाका कारण आएको बाढी पहिरोका कारण सबैभन्दा धेरै क्षति बझाङमा भएको छ। पूर्वाधारमा मात्र नभएर मानविय क्षति पनि भएको छ। यसरी पहिरो जानुको कारण वातावरणीय प्रभाव मूल्यांकन नगरी खनिएको सडक पनि देखिएको छ। प्राकृतिक विपद बाढीपहिरोबाट सबैभन्दा बढी सुरक्षित मानिएको बझाङको खप्तडछान्ना गाउँपालिकामा पनि यस वर्ष सबैभन्दा बढी भौतिक क्षति भएको छ। बाढीले तमैल ऐचेलीबगर जोडने सडकको नामोनिसान नै मेटाएको छ। खातीगाँउ, डाँडागाँउ गडीगाँउ, कालुखेती, गडरायलगायतका गाउँमा पहिरोले ठूलो क्षति गरेको छ। सडकका लागि वरपर तलमाथि ठाउँ हुँदाहुँदै पनि विकासका नाममा अन्धाधुन्धा डोजर लगाउँदा यस्तो अवस्था आएको खप्तडछान्नाका कमल रावलले जानकारी दिएका छन्। सडक पुग्छ र आवतजावतमा सहज हुन्छ भनेर खुसी भएका स्थानीय हाल त्रासमा बस्नुपरेको छ। त्यस्तै पानी परेपछि सडकमै भल बगेर सडक भासिएर पहिरो गएपछि ठूलो क्षति भएको र हाल सयौ परिवार विस्थापित हुने अवस्थामा रहेको साथै सबै गाउँ धुजा धुजा भएर फाटेको कारण घरमा बस्न पनि डर लाग्न थालेको कुरा उनले जानकारी गराएका छन्। सडक निर्माण गर्दा थुपारेको माटोलाई निरन्तरको वर्षाले बगाएर बाढीको रूप लिई भौतिक क्षति गरेको उनको भनाइ रहेको छ।
बाढीपहिरोबाट प्रभावित भएका हरु हाल खुल्ला चौर, सडक र विद्यालयमा जोखिमपूर्ण रूपमा बसिरहेका छन्। बेमौसममा परेको पानीका कारण यति ठूला पहिरो जानु र क्षति हुनुको कारण खोजी गर्दैै जाँदा वातावरणीय प्रभाव मूल्यांकन नगरी खनिएका सडक पनि कारण हुने स्थानीयले बताएका छन्। स्थानीय सरकार आएपछि गाउँमा विकासको पहिलो प्राथमिकतामा सडक पर्ने गरेको छ। सडक खन्दा इन्जिनियङ मापदण्ड नअपनाउने तथा दीर्घकालीन रूपमा वातावरणमा पर्नसक्ने जोखिमका बारेमा पनि अध्ययन नहुँदा विकासका लागि खनिएका सडकले विनास गर्ने गरेको भूगर्भ इन्जिनियर कमल थापाले बताएका छन्। स्थानीय सरकारले आफ्ना नजिकका नातेदार र कार्यकर्तालाई खुसी बनाउन उपभोक्तामार्फत योजना दिने र उनीहरूले गरेको काम प्रभावकारी भए नभएको अनुगमन नगर्ने हुँदा यस्तो समस्या आएको हो। उक्त ठाउँमा मौसमी प्रकोप रोकथाम तथा नियन्त्रणका लागि प्रतिकार्य योजना बन्ने गरे पनि कार्यान्वयन फितलो हुँदा वर्षैपिच्छे मानवीय र भौतिक क्षति हुने क्रम नरोकिएको हो।
ग्रामीण सडक निर्माणले मुख्य राजमार्ग जयपृथ्वी राजमार्गको बागथलादेखि सदमुकामसम्मका विभिन्न ठाउँमा क्षति पुर्याएको छ। दुई साता पुग्न लाग्दा पनि नारुगौडा र जाल्याबगरमा अहिले नै सडक सुचारु हुने अवस्था छैन। ग्रामीण क्षेत्र जोडने सडक निर्माण हुनुअघि राजमार्ग खासै अवरुद्ध हुँदैन थियो। तर शाखा सडक निर्माण भएपछि वर्षात्को समयमा बेलाबेलामा सडक अवरुद्ध हुने गरेको चालकहरुले बताएका छन्। अहिले सडक निर्माणको होडबाजीले वर्षात्को समयमा यात्रुहरुले सास्ती खेप्नु परेको छ। त्यस्तै सडक निर्माणको क्रममा जथाभावी डोजर लगाउँदा जिल्लामा दर्जनौं खानेपानीका आयोजना, सिँचाइ नहर, लघुजलविद्युत आयोजना, विद्यालय, स्वास्थ्य केन्द्रलगायतका भौतिक संरचनामा पनि क्षति पुगेको छ।