रोल्पा। रोल्पाको त्रिवेणी गाउँपालिकाको केन्द्र नेर्पा बजारमा चहलपहल बढ्न थालेपछि काठमाडौंमा होटल व्यवसाय गर्दै आएका स्थानीय नन्दकिशोर केसी गाउँ फर्किएर होटल खोलेका छन् । झन्डै एक करोडको लगानीमा उनले नयाँ भवन बनाएर होटल सञ्चालन गरेका हुन् ।
‘आफ्नै गाउँमा चहलपहल बढेको देखेपछि फर्केर आएँ । अब यतै होटल व्यवसाय सञ्चालन गरेर बस्छु,’ नयाँ भाग्यश्री होटल तथा लज सञ्चालन गरेका केसीले भने, ‘काठमाडौंमा पाइने सेवा सुविधा मिल्ने गरी मेरो होटलले सेवा प्रवाह गरिरहेको छ । ग्राहकले मन पराएका छन् ।’ उनले नेर्पा चोकमै नयाँ भवन बनाएर स्तरीय होटल चलाउन थालेपछि अन्य होटल व्यवसायीले पनि नयाँ जुक्ति खोज्न थालेका छन् । नेर्पामा एक वर्षयता स्तरीय होटल सञ्चालन गर्न एक खालको प्रतिस्पर्धा नै चलेको छ ।
त्रिवेणी गाउँपालिकाले केन्द्र र यसलाई वडासँग जोड्ने पहुँच मार्गसम्म कालोपत्र गर्ने योजना अघि सारेदेखि नै चहलपहल बढ्न थालेको हो । नेर्पा बजारदेखि जगरबोट र लिङ्दुङसम्मको सडक कालोपत्र गरेपछि आवतजावतमा निकै सहज भएको छ । सडक कालोपत्र भएपछि धूलो र हिलोबाट पनि मुक्ति मिलेको शिक्षक एकराज डाँगीले बताए । ‘गाउँपालिकाकै पहलमा सडक कालोपत्र गर्ने योजना अघि सारेदेखि नै बजार क्षेत्र सुन्दर बनेको हो,’ उनले भने, ‘सडक मार्गले सुगम बनाएपछि नेर्पा अहिले आकर्षणको केन्द्र बनेको छ ।’ पहिलेको नेर्पा र अहिलेको नेर्पामा निकै फेरबदल आएको उनले बताए ।
चहलपहल बढेपछि सदरमुकाम लिबाङबाट कम्प्युटर प्रशिक्षण कक्षा चलाउन हृषीकेश डाँगी पनि नेर्पामा आए । उनले न्यु एरा कम्प्युटर प्रशिक्षण केन्द्र सञ्चालन गरेर कैयौं विद्यार्थीलाई प्रशिक्षित गरिसकेका छन् । ‘गाउँपालिकाको केन्द्रमा गतिविधि बढेपछि कम्प्युटर कक्षा चलाउन र सूचना प्रविधिको गतिविधि बढाउन यहाँ आएका हुँ,’ उनले भने ।
सडक सुधार गरेकै कारणले आर्थिक गतिविधि पनि फैलिएको नेर्पास्थित नेपाल इन्भेस्टमेन्ट मेघा बैंक लिमिटेडका शाखा प्रबन्धक द्रोण सुवेदी बताउँछन् । सुरुमा हरेक स्थानीय तहमा एक बैंक हुनु पर्ने राष्ट्र बैंकको नीतिअनुसार स्थापना गरिएको उक्त बैंकले राम्रो कारोबार गर्दै आएको छ । शान्ति प्रक्रियापछिको सहज अवस्थामा कृषि, पर्यटन, व्यापार र लघु व्यवसाय फस्टाएका कारण आर्थिक गतिविधि पनि बढ्दो क्रममा रहेको छ ।
गाउँपालिकाको सक्रियतामा यहाँको झन्डै १० किलोमिटर सडक कालोपत्र गरिएको छ । पूर्वको जगरबोट गाउँबाट नेर्पासम्म र नेर्पादेखि लिङ्दुङ बुढागाउँसम्म सडक कालोपत्र गरिएको छ । संघीय अनुदान, प्रदेश सरकारको बजेट र गाउँपालिकाको बजेटबाट सडक कालोपत्र गरिएको हो । सडक कालोपत्र गरेपछि गाउँको मुहार नै फेरिएको त्रिवेणी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत निमबहादुर केसीले बताए । ‘अब शिक्षा, स्वास्थ्य, कृषि र पर्यटन क्षेत्रमा लगानी बढाएर स्थानीयलाई आत्मनिर्भर बनाउने योजना अघि सार्नेछौं,’ उनले भने ।
पालिकाका निवर्तमान अध्यक्ष शान्तकुमार वलीले सडकबाट निकै फाइदा पुगेको महसुस भएको बताए । उनले भने, ‘आउँदो वर्षमा जगरबोटदेखि तिलासम्म र लिङदुङदेखि सिमपानीसम्मको सडक कालोपत्र गर्ने योजना अघि बढाउन पालिकालाई सुझाव दिएको छु ।’ संघीय अनुदान बजेटबाट उक्त काम गर्न सकिने उनको सुझाव छ । यस्तै जगरबोटदेखि सिद्धपुर गाउँ हुँदै हाङजाबाङ, झिनुवा, घर्तीगाउँ, भावाङ हुँदै जलजलासम्मको सडक सुधार गर्ने पनि तयारी भएको छ । कान्तिपुरबाट