काठमाडौं। अघिल्लो पाँच आर्थिक वर्षमा लिक्विफाइड पेट्रोलियम ग्यास (एलपीजी) को आयात निरन्तर बढ्दै गएको छ। पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढ्दै गएपछि पैसा बाहिरिने क्रम पनि अत्यधिक बढेको छ।
विश्व बजारमै पेट्रोलियम पदार्थको मूल्य आकाशिदै गएपछि यसको प्रत्यक्ष प्रभाव नेपालमा पनि परेको हो। जसका कारण पेट्रोल, डिजल, मट्टितेल, हवाई इन्धनदेखि एलपीजीको मूल्य बढ्दै गएको छ। बुधबारमात्रै नेपाल आयल निगमले खाना पकाउने ग्यास सिलिन्डरमा ७५ रुपैयाँ बढाएर १५७५ रुपैयाँ पुर्याएको छ। त्यसअघि निगमले ग्यासमा प्रति सिलिण्डर ५० रुपैयाँ मूल्य बढाएर १५ सय रुपैयाँ पुर्याएको थियो।
निगमले अहिलेको मूल्यमा ७ सय २१ रुपैयाँ प्रति सिलिण्डर अनुदान दिइरहेको छ। मूल्य बढ्दै जाँदा इन्धन आयातको नाममा अहिले भइरहेको खर्च अझै उकालो लाग्ने देखिएको छ। आर्थिक वर्ष २०७३/७४ देखि २०७७/७८ सम्म नेपाल आयल निगमले एक खर्ब ५० अर्ब रुपैयाँको एलपीजी नेपाल भित्र्याएको भन्सार विभागको तथ्यांक रहेको छ। पाँच वर्षको अवधिमा निगमले भारतबाट दुई अर्ब पाँच करोड किलो एलपीजी किनेर ल्याएको विभागको तथ्यांकमा उल्लेख रहेको छ।
आर्थिक वर्ष २०७३/७४ मा २० अर्ब ५५ करोड रुपैयाँबराबरको ३१ करोड ३९ लाख केजी रआर्थिक वर्ष २०७४/७५ मा २७ अर्ब १३ करोड रुपैयाँको ३८ करोड ३२ लाख केजी एलपीजी आयात भएको विभागले जनाएको छ। त्यसैगरी, आर्थिक वर्ष २०७५/७६ मा ३५ अर्ब रुपैयाँको ४२ करोड ८८ लाख केजी र आर्थिक वर्ष २०७६/७७ मा ३० अर्ब ७३ करोड रुपैयाँको ४५ करोड १० लाख केजी एलपीजी निगमले आयात गरेको विभागले जनाएको छ।
त्यस्तै आर्थिक वर्ष २०७७/७८ मा निगमले ३६ अर्ब १५ करोड रुपैयाँबराबरको ४७ करोड ७४ लाख केजी एलपीजी आयात भएको छ। पाँच वर्षको अवधिमा सरकारले एलपीजी आयातबाट २८ अर्ब रुपैयाँ भन्सार संकलन गरेको विभागले जानकारी गराएको छ। यस्तै, चालू आर्थिक वर्ष २०७८/७९ को असोजसम्म भारतबाट १२ अर्ब १८ करोड रुपैयाँबराबरको १२ करोड ३८ लाख किलो एलपीजी भित्रिएको विभागको तथ्यांकमा उल्लेख छ। यसबाट सरकारले दुई अर्ब २७ करोड रुपैयाँभन्दा बढी संकलन गरेको देखिन्छ।
लकडाउनमा ३.७२ करोड केजी एलपीजी आयात भएको छ। कोरोना महामारी नियन्त्रण गर्न सरकारले २०७६ चैतदेखि साउनसम्म जारी गरेको लकडाउनको समयमा एलपीजी आयात घटेको देखिन्छ। लकडाउनको समयमा एलपीजी बढी खपत हुने होटल, रेष्टुरा, पार्टी प्यालेसलगायतका व्यवसायिक क्षेत्रहरु ठप्प हुँदा आयात घट्न पुगेको थियो। चार महिनाको लकडाउन अवधिमा सबैभन्दा कम असारमा एक अर्ब ७३ करोड रुपैयाँबराबरको तीन करोड किलो एलपीजी आयात भएको थियो।