काठमाडौं। दैनिक सयौ नागरिकको भीड हुने जिल्ला प्रशासन कार्यालय जुम्ला दशकौदेखि साँघुरो भवनबाट सेवा दिन बाध्य थियो । साँघुरा कोठाले विभिन्न फाँटका अभिलेख राख्न पनि उस्तै समस्या थियो भने दैनिक सभा बैठक, छलफल भइरहने प्रशासनमा एक बैठक कक्ष (सभाहल) नहुँदा झन कठिनाइ हुन्थ्यो ।
द्वन्द्वकालपछि निर्माण भएकै पुरानो भवनबाट जसोतसो सेवा प्रवाह गर्दै आए पनि वर्षौंपछि जिल्ला प्रशासन कार्यालय जुम्ला आफ्नै सुविधायुक्त नयाँ भवनमा सरेको छ । जुम्ला प्रशासन बुधबार विधिवत पूजा गरी भर्खर निर्माण सम्पन्न सुविधायुक्त भवनमा सरेको हो ।
“बुधबारदेखि कार्यालय विधिवत रूपमा सरे पनि नयाँ भवनबाट औपचारिक सेवा केही दिनमा प्रवाह गरिने छ । प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरीले भने, “दैनिक सयौं नागरिकको भीड हुने प्रशासन कार्यालय अब नयाँ भवनबाट सञ्चालन हुनेछ । अब नागरिकले छिटो छरितो र सहज रूपमा सेवा पाउने छन् भने विभिन्न फाँटका अभिलेख सुरक्षित र व्यवस्थित ढंगले राख्न सहयोग पुग्ने छ ।”
नयाँ भवनमा फराकिलो फाँटका कोठादेखि सभाहलसमेत रहेको छ । सबै तलमा मैत्रीपूर्ण शौचालय छन् । केही दिन व्यवस्थापन गर्न लाग्ने भएको छ । २०७४ सालबाट निर्माण सुरु भएको दुई तले २४ कोठे प्रशासनको सुविधायुक्त भवन सम्झौताभन्दा करिब १० महिनाअघि नै निर्माण कम्पनीले काम सकेर बुधबार हस्तान्तरण गरेको हो ।
संघन सहरी विकास तथा भवन निर्माण आयोजना जुम्लाका प्रमुख प्रदिपकुमारसिंहले लागत अनुमान नौ करोड १६ लाख भए पनि सम्झौता रकम सात करोड ६९ लाख १६ हजारमा सुविधायुक्त भवन निर्माण भएको बताए । उनका अनुसार ‘च्याङमिल एडी जेभी’ निर्माण कम्पन्नीले सम्झौताभन्दा १० महिनाअघि नै गत ३० भदौमा निर्माण सम्पन्न गरेको हो । आयोजनाको सरकारी भवन निर्माण कार्यक्रमअन्तर्गत प्रशासनको भवन बनेको हो ।
२०७४ साउन १० गते सम्झौता भई ०८० असार मसान्तमा सकिनुपर्ने सम्झौता भएको थियो । कोरोना कहरका बीच पनि निर्माण कार्यले गति लिँदा निर्धारित समय अगावै काम सम्पन्न भएको ठेकेदार भीम थापाले बताए । समयै अगावै सकेर हस्तान्तरण गर्दा खुसी भएको उनको भनाइ छ । नयाँ सुविधायुक्त भवनमा जिल्ला प्रशासन सरेसँंगै छिटो छरितो र सहज रूपमा सेवा पाउने जुम्ली नागरिकको आशा छ ।
एकीकृत कार्यालयको भौतिक प्रगति ८५ प्रतिशत जुम्लामा निर्माणाधीन कर्णाली प्रदेशकै ठूलो एकीकृत कार्यालयको भौतिक प्रगति ८५ प्रतिशत भएको छ । २०७६ असारबाट निर्माण थालिएको उक्त एकीकृत भवन अन्तिम चरणमा पुगेको छ । ०७९ असार २९ मा सम्पन्न गर्नुपर्ने सम्झौता भए पनि विभिन्न कारण ढिला भएकाले म्याद थप प्रक्रियामा छ । तर एकीकृत कार्यालय निर्माणले सरकारी पूर्वाधार विकासका फड्को मारेको देखिन्छ ।
पाँच तले उक्त एकीकृत कार्यालयमा जुम्लाका विभिन्न चारवटा कार्यालय एकै भवनमा सञ्चालन हुनेछन् । जसअन्तर्गत उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय, तथ्यांक कार्यालय, यातायात सेवा कार्यालय र जिल्ला सरकारी वकिलको कार्यालय एकै भवनमा सञ्चालन हुनेछ । हाल उल्लेखित कार्यालय भाडाकै घरमा छन् ।
सघन सहरी विकास तथा भवन निर्माण आयोजना जुम्लाको ६ करोड ८५ लाख ८३ हजार लागतमा पाँचतले एकीकृत कार्यालय निर्माण भइरहेको आयोजनाका लेखा अधिकृत तिलक डाँगीले बताए । उनका अनुसार हालसम्म पाँच करोड ३८ लाख बजेट खर्च भइसकेको छ । ‘डाँफे ध्याराभान जेभी’ कम्पनी काठमाडौंले निर्माणको जिम्मा पाएको थियो । काम द्रुत गतिमा अघि बढे पनि आगामी असारसम्म म्याद थप गरिदिन आग्रह आएकाले म्याद थप प्रक्रिया भइरहेको छ ।
जनशक्ति अभावमै काम
न्यून प्राविधिक जनशक्तिका बीच पनि सघन सहरी तथा भवन निर्माण आयोजनाले कर्णालीका दुर्गम जिल्लामा भवन, सडक निर्माणका काम गर्दै आएको छ । चारजना इन्जिनियर दरबन्दी रहेको उक्त कार्यालयमा अहिले एक जना पनि छैनन् । जुम्लामा अधिकांश इन्जिनियर आउन मान्दैनन् ।
आयोजनाका सबइन्जिनियर चन्द्र खड्काले भने, “भौगोलिक विकटतादेखि राज्यले दिने न्यून सेवासुविधाका कारण कर्णालीमा कर्मचारी आउन मान्दैनन् । प्राविधिक जनशक्ति नभई नहुने कार्यालयमै कर्मचारी नहुँदा मुस्किलले काम गर्छौं ।” सबइन्जिनियर चारजना दरबन्दी रहेकोमा तीनजना कार्यरत छन् भने एक जना रिक्त छ । कारोबार दैनिकबाट