काठमाडौं। धनकुटाको साँगुरीगढी गाउँपालिका–६ मा फोहोरमैला व्यवस्थापन प्रणली घर निर्माण गरिएको छ। उक्त गाउँपालिकाको पर्यटकीय स्थानमा फोहोरमैला व्यवस्थापन प्रणाली घर निर्माण गरिएको हो।
नेपाल पर्यटन बोर्ड र साँगुरीगढी गाउँपालिका धनकुटाको संयुक्त लागत साझेदारीमा पर्यटकीय स्थानमा निस्कने फोहोर व्यवस्थापन गर्न फोहोर व्यवस्थापन प्रणाली घर निर्माण गरिएको छ।
साँगुरीगढी गाउँपालिका वडा नं. ६ र ८ का पर्यटकीय स्थानहरू, पाथीभरा मन्दिरका दुई स्थान, पार्किङ स्थल र मन्दिर पुग्ने स्थलभन्दा अघिल्लो स्टेसन, साँगुरीगढी, पिकनिक स्पट, झन्डी डाँडा, नमस्ते झरनामा निर्माण गरिएको हो । ती घरहरूको निर्माण लागत २१ लाख ३३ हजार २१५ रुपियाँ छ । जसमध्ये गाउँपालिकाको १२ लाख लगानी रहेको छ । त्यस्तै स्थानीय बासिन्दाको एक लाख पाँच हजार २१५ रुपियाँ जनश्रमदानबापत लगानी रहेको गाउँपालिकाले जनाएको छ ।
निर्माण सम्पन्न भइसकेका ती प्रणाली घरमा फोहोर व्यवस्थापनको कार्य सुरु भइसकेको फोहोर मैला व्यवस्थापन प्रणाली उपभोक्ता समितिले जनाएको छ। सो फोहोर व्यवस्थापन प्रणाली परियोजनाबाट मासिक तीन हजार जना पर्यटक लाभान्वित हुने गाउँपालिकाले बताएको छ।
फोहोरमैला व्यवस्थापन प्रणाली घरभित्र तीनवटा च्याम्बर ब्लक रहेका छन् । तीन च्याम्बर ब्लक सिसाजन्य पदार्थ, कागजजन्य पदार्थ र प्लास्टिकजन्य पदार्थ छुट्याउने गरी बेग्लाबेग्लै छन् । हरेक च्याम्बर फोहोरले भरिसकेपछि पछाडिपट्टी रहेको ढोकाबाट निकाल्न सक्नेगरी व्यवस्था गरिएको छ ।