दार्चुला। महाकाली राजमार्गबाहेक जिल्लाका अन्य सबै सडकहरू कच्ची रहेकोले स्थानीयले जोखिम मोलेर यात्रा गर्न बाध्य छन् । स्थानीय तह र प्रदेश सरकारबाट ग्रामीण क्षेत्रमा सडक निर्माण गरिए पनि भिरालो र खाल्डाखुल्डीले जोखिम बढाएको छ ।
जिल्लामा निर्माणाधीन दार्चुला–टिंकर सडकबाट अन्य सबैजसो निर्माण भइरहेका सडक स्थानीय तह र प्रदेश सरकारबाट सञ्चालनमा रहेका छन् । प्राविधिक मापदण्ड पूरा नगरी हचुवाका भरमा ग्रामिण सडक खोलिएपछि जोखिम मोल्नुपरेको स्थानीय बताउँछन् । प्राविधिकको सल्लाह नलिई डोजर चालकले सडकको ट्र्याक खोलेका कारण अधिकांश ग्रामीण सडकहरू उकालो र ओरालोमा छन् । यातायात व्यवसायीले आम्दानीको आशमा जोखिममै सवारी चलाउने हुँदा स्थानीय सहज आवागमनका लागि जोखिमकै यात्रा गरिरहेको नौगाड गाउँपालिका–२ राकेश ठगुन्नाले बताए ।
सिंगल लेनको कच्ची सडकमा सडक पास नभई यातायातका साधन गुड्ने हुँदा जोखिम हुने गरेको छ । ग्रामीण भेगमा सडक पुगेपछि कच्ची सडकमा जोखिम मोलेरै भए पनि व्यवसायीले गाडी चलाउने र यात्रुहरूले पनि जोखिम मोलेर आवतजावत गर्ने गरेका छन् । जिल्लाका गोकुलेश्वर–लटिनाथ, गोकुलेश्वर–धुलिगडा, खलंगा–दल्लेक, बेत–जौलजिवी, दल्लेक–होपरिगाड, बिटुले–पारिबगड, टिंकर सडकलगायतका सडकमा स्थानीय जोखिम मोलेर यात्रा गर्ने गर्छन् । खाल्डाखुल्डीका कारण यात्रुहरूको यात्रा सुरक्षित हुँदैन । ‘यी सडकहरू बर्खाको समय त परै जाओस्, हिउँद र सुक्खा मौसममा पनि असुरक्षित रहेका छन्,’ नौगाड गाउँपालिका–३ का रघुवीरसिंह ठगुन्नाले भने, ‘बर्खामा नाम मात्रका सडक हुन्, यात्रा गर्न लायक महाकाली लोकमार्ग बाहेक अन्य सडकमा सकिँदैन । बर्खामा सबैजसो ग्रामीण सडक बन्द नै हुन्छन् ।’
ठगुन्नाका अनुसार सडक निर्माण सुरु गरेको दशक बढी समय भए पनि ग्राभेल हुन सकेका छैनन् । मापदण्ड पूरा नगरी डोजरले खनिएका यी सडकले यात्रुहरूलाई सुखको सट्टा बर्खामा दुःख दिने काम गरेको स्थानीयको आरोप छ । केही सडकमा ‘रोड परमिट’ बिना जिप तथा ट्र्याक्टर चलिरहेका छन् । कच्ची सडक ट्र्याक्टरले झन् खाल्डाखुल्डी बनाएपछि यात्रुलाई मात्र होइन गाडी चालकलाई पनि समस्या हुने गरेको जिप व्यवसायी बताउँछन् । कान्तिपुरबाट