चरीकोट। सदियौँदेखि घण्टौ लगाएर पानी बोकेर ल्याउनु पर्ने भन्झट हटेपछि सैलुङ गाँउपालिका–३ माथिल्लो आरुखर्कवासी खुसी भएका छन्। उक्त गाउँपालिकाको एक घर एक धारा कार्यक्रमलाई सहयोग गर्दै वाटर एड नेपालको आर्थिक सहयोगमा सामुदायिक विकास मञ्च सीडीएफ दोलखाले सञ्चालन गरेको खानेपानी सुरक्षा तथा बास उत्थानशीलता परियोजनाबाट घरआँगनमै पानी उपलब्ध भएकाले उनीहरु खुसी भएका उपभोक्ता एवम ठाडोबाटो जोरसल्ला खानेपानी तथा सरसफाइ योजना निर्माण समिति अध्यक्षले बताएका छन्।
अब त्यहाँका स्थानीयलाई घण्टौ लगाएर पानी लिन जानु पर्ने बाँध्यता हटेको छ। धारा निर्माण हुनुअघि पानी लिनकै लागि एक घण्टाभन्दा बढी समय लाग्ने गथ्र्यो। हाल घरमै खानेपानीको धारा निर्माण भएपछि खानेपानी बोक्नुपर्ने दैनिकी फेरिएको खुसी व्यक्त गदै यो भन्दा अगाडी घरबाट टाडाको पानीको खोला भन्ने ठाउँको कुवाको पानी पिउनु लिन जादा पालो कुर्नुपर्ने अब पानीका लागि समस्या सबै टरेका अहिले स्वर्गबास जस्तै अनुभव भएको कुरा त्यहाँका एक स्थानीयले बताएका छन्।
पानीको अभाव हुँदा यहाँका महिलाहरुले पुरुषको भन्दा बढी समस्या झेल्नु परेको थियो।हप्तामा एक पटक खोलामा गएर लुगा धुनु पर्ने र नुहाइधुहाइ पनि सातामा एक पटक मात्रै गर्ने साथै गाईवस्तुलाई खोलाकै पानिको भरमा राख्नु पर्ने बाँध्यता हटेको त्यहीको अर्को स्थानीयको भनाई रहेको छ।पानीको धारा जडान हुनु महिलाका लागि त वरदान सावित भएको छ। सीडीएफका इञ्जिनियर सुमन आचार्यका अनुसार, सो क्षेत्रमा व्यक्तिगत घारा १२९ र सामुदायिक ५, लाभान्वित ७२४, वासआउट चेम्बर २, पानी ट्याङकी दुईदेखि पाँच घनमिटर क्षमताका १०, एयर भल्व चेम्बर २, भल्व च्याम्बर ८, इनटरप्सन भल्व ३,ब्रेक प्रेसर चेम्बर ७, डिस्ट्रीब्युटर चेम्बर ५, पाइप एन्करेज ३३, इन्ट्रान्स गेट ३२, पाइप दुई हजार १८७ मिटरलगायतका संरचनाहरु रहेका छन्।
यस परियोजनामा वाटर एड नेपालको एक करोड २५ लाख ९२ हजार, गाउँपालिकाको ४१ लाख नौ हजार र उपभोक्ता जनश्रमदान २४ लाख १० हजार गरी कुल एक करोड ९१ लाख १२ हजार रुपियाँ लगानी रहेको जानकारी दिँदै सीडीएफका निर्देशकले बताएका छन्। जडित धाराहरुलाई दिगो, भरपर्दो र पारदर्शी समेतका लागि दुई लाख ७७ हजार ३५० रुपियाँको मर्मत कोषको व्यवस्था गरिएको छ भने यसको वृद्धिका लागि धारामा राखिएको मिटरबाट कम्तीमा पनि प्रतिधारा प्रतिमहिना ११५ रुपियाँ सङकलन गर्ने पनि व्यवस्था मिलाइएको छ।
यसैगरी पहिलो चरणमा गाउँपालिका, श्रमदान र वाटर एड समेतको कुल छ करोड ३१ लाख ४० हजार रुपियाँ लगानीमा सैलुङमा चार वटा योजनामा २८३ र कालिञ्चोकमा दुई वटा योजनामा २९१ गरी ५७४ वटा धारा निर्माण भएका छन्। त्यस्तै दोश्रो चरणमा कुल ६ करोड ८५ लाख १० हजार लगानीमा सैलुङमा ३८९ र कालिञ्चोकमा ४१२ गरी कुल ८०१ वटा धारा निर्माणाधीन रहेका पनि निर्देशकले जानकारी दिएका छन्।