जाजरकोट। मध्यपहाडी लोकमार्गअन्तर्गत जाजरकोट खण्डस्थित कार्की गाउँको मन्ताभीर काट्न लागेको झन्डै १२ वर्ष बित्यो । अझैसम्म उक्त खण्डको काम पूरा भएको छैन । दैलेख हुँदै जाजरकोटबाट रुकुम पुग्ने खण्डअन्तर्गतको मन्ताभीरको ट्र्याक खुले पनि अझै चौडा हुन सकेको छैन । अझै पनि मन्ताभीर काट्ने काम जारी छ ।
मन्ताभीर झन्डै २ सय मिटर दूरीको छ । ‘हाम्रो विकास कस्तो छ भन्ने थाहा पाउन यही भीर हेरे हुन्छ, राजमार्गको अधिकांश खण्डतिर कालोपत्र भइसक्यो,’ स्थानीय अभियन्ता बालकुमार शर्माले भने, ‘यहाँ त अझै भीर काट्न सकिएको छैन, यस्तै अवस्थामा रहे अझै १० वर्षसम्म पनि यो खण्ड कालोपत्र हुँदैन ।’ भीर काट्ने जिम्मा लिएका निर्माण व्यवसायी र लोकमार्ग आयोजना कार्यालयले एकअर्कालाई आरोप लगाउँदै आएका छन् ।
मध्यपहाडी लोकमार्गअन्तर्गत जाजरकोट खण्डमा सडक निर्माणको काम ०६७ सालबाट सुरु भएको हो । तर झाप्रा र कार्कीगाउँबीचको मन्ताभीरमा सडक निर्माणको काम सुस्त हुँदा ठूला गाडी आउजाउमा समस्या छ । कुदुबाट सुयाडासम्मको ८२ किलोमिटरको सडक खुलिसकेको छ । ‘अरू जिल्लाका खण्डमा गाडी चल्न थालिसके, यहाँ कालोपत्र त के सडकको पूरै खण्डमा ट्र्याक खुलेको छैन, सडक खुले स्थानीयको आउजाउ सहज हुने थियो, यहाँको उत्पादनले बजार पाउँथे,’ उनले भने, ‘खाद्यान्न र दैनिक उपभोग्य सामानको ढुवानी सहज हुन्थ्यो ।’
लोकमार्गअन्तर्गत जाजरकोटको भेरी नगरपालिका–१३ कुदुबाट स्याउली बजारसम्म कालोपत्र भएको छ । तर ठाउँठाउँमा गुणस्तरीय काम नहुँदा उप्किन थालिसकेको स्थानीय गोपाल बटालाले बताए । निर्माण व्यवसायीले भत्किएको सडक मर्मतमा ध्यान दिएका छैनन् । ‘जगतीपुरबाट स्याउली बजारसम्मको अधिकांश सडक भत्किएको छ,’ उनले भने, ‘राष्ट्रिय गौरवको आयोजनामा सरकारले पर्याप्त अनुगमन र नियमन नगर्दा गुणस्तरीय काम हुन सकेन ।’
१७ किलोमिटर सडकको काम पूर्णरूपमा चौडा बनाएको र सडक कालोपत्रको काम जारी रहेको निर्माण व्यवसायी कम्पनी सिंह एन्ड ब्रदर्सका विश्वास उप्रेतीले बताए । कार्कीगाउँबाट थलहसम्मको २० किमि सडकमा पनि काम भइरहेको उनको भनाइ छ । थलहबाट दैलेखको सिमानासम्म २९ किमि सडक कालोपत्र सकिएको उनले जनाए । भत्किएको सडक बनाउन पनि पहल नभएको कार्कीगाउँका काशीराम कार्कीले बताए । निर्माण कम्पनीका प्रतिनिधि उप्रेतीले भने आयोजनाबाट रकम नपाएका कारण काम गर्न गाह्रो भएको गुनासो गरे । निर्माण कम्पनीलाई काम छिटो सक्न र गुणस्तरीय काम गर्न ताकेता गरिरहेको लोकमार्ग आयोजनाका प्रमुख युवराज पोखरेलको भनाइ छ । कान्तिपुरबाट