काठमाडौं। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालमा अत्याधुनिक जलन उपचार कक्ष (बर्न वार्ड) बन्ने भएको छ ।
वीर अस्पतालमा शुक्रबार नयाँ कार्यकारी निर्देशकमा डा. सन्तोष पौडेल नियुक्त भएसँगै उनले नयाँ बनेको सर्जिकल भवनमा अत्याधुनिक बर्न वार्ड बनाउने निर्णय गरेका हुन्।
तीन महिनाभित्र जलनको उपचारका लागि अत्याधुनिक उपचार सुरु गर्ने तयारी गरिएको जानकारी दिए।
नवनियुक्त निर्देशक डा.पौडेलले भूकम्पपछि जलनका बिरामीको राम्रो उपचार नभएको र बर्न वार्ड नरहेकाले अब अत्याधुनिक जलन वार्ड निर्माण गरी गम्भीर बिरामीलाई पनि वीर अस्पतालमै भर्ना गरी उपचार गरिने जानकारी दिए।
डा.पौडेलले नयाँ भवनमा जलन (बर्न) वार्ड स्थापना गर्ने र उक्त वार्ड अत्याधुनिक सेवासुविधासहितको हुने जानकारी दिए । डा.पौडेलले भने, “जलेका बिरामी अन्य अस्पताल र विदेशमा समेत रिफर गर्नु नपर्ने गरी काम गर्नेछौँ ।” उनले वीर अस्पतालमा जलन उपचारका लागि अत्याधुनिक शल्यक्रिया कक्षसमेत बनाउने जानकारी दिए ।
क्रिटिकल बर्नका बिरामीका लागि केयर, अप्रेसन थिएटर, आईसीयूलगायतका सुविधासहित हुने उनको भनाइ छ । वीरको बर्न वार्ड बन्द हुँदा अहिले जलनसम्बन्धी बिरामीको उपचार कीर्तिपुर अस्पतालमा हुँदै आइरहेको छ ।
सिलिन्डर ग्यास लिक भएर आगोलागीमा परी जलेका प्रतिनिधि सभा सदस्य डा.चन्द्रकान्त भण्डारीको नेपालमा उपचार सम्भव नभएपछि उनलाई भारतको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा उपचारमा लगिएपछि नेपालमा जलन सम्बन्धी उपचारको सुविधा नभएको भन्दै चारैतिर आलोचना भइरहेको बेला यस्तो निर्णय भएको हो।