कास्की। पुल बनाउन सुरु गरिएको ९ वर्षपछि आँधीखोला गाउँपालिका–सेतीदोभानस्थित आँधीखोलामाथि मोटरेबल पुल निर्माण भएको छ । ‘सुत्केरी, बिरामी र वृद्धवृद्धाले अकालमै ज्यान गुमाउनु पर्दैन’ स्थानीय जयराम पौडेल भन्छन्, ‘प्राविधिक र निर्माण कम्पनीको लापरबाहीका कारण पुल तोकिएको अवधिभित्र बन्न सकेको थिएन ।
वर्षाको समयमा आँधीखोला तर्न नसक्दा यहाँका बासिन्दा वारपार गर्नबाट वञ्चित हुनुपर्ने समस्याको अन्त्य भएको पौडेलको भनाइ छ । नेपालकै पहिलो ग्रामीण पर्यटकीय होमस्टे सिरुवारी पुग्ने मोटरेबल पुलको निर्माण कार्य समयमै सम्पन्न भएको भए आजभन्दा ७ वर्षअिघ नै हस्तान्तरण हुने थियो ।
सडक डिभिजन कार्यालय पोखराको प्रत्यक्ष रेखदेखमा सडकपुल निर्माण गरिएको हो । जिल्ला सदरमुकामबाट सबैभन्दा नजिकको दूरीमा रहेको नाँगडाडा–सेतीदोभान–सिरुवारी सडकखण्ड अन्तर्गत निर्माण थालिएको उक्त मोटरेबल पुल २०७१ साल असोज २६ मा सम्झौता भएको थियो । यो पुल २०७३ असोज २५ मा सकेर हस्तान्तरण गरिसक्नुपर्ने थियो । पुल निर्माणको लागि पटकपटक म्याद थप गर्दै समय लम्बिएको आँधीखोला–१ पञ्चमूलकी लालकुमारी अधिकारीले बताइन् । कान्छाराम आशेष जेबीले निर्माण गर्ने जिम्मा लिइएको थियो । ‘पुल दुःखले बनाइयो,’ अर्का स्थानीय प्रा।डा। गणेशमान गुरुङ भन्छन्, ‘पुल नहुदा धेरै दुःख पाइयो । ठेक्का एउटाले लियो, कामको जिम्मा अर्कै (पेटी) ठेकेदारले लियो । ठेकेदारले सडक विभागको, विभागले ठेकेदारको दोष देखाउँदै काम गरेनन् ।’ उनले सडक विभागमा स्थानीय उठाउँदै पटकपटक धर्ना दिँदै, पुल निर्माणको लागि दबाब दिँदै आएको बताए ।
पोखराबाट सिरुवारी २७ किलोमिटरको यात्रामा स्याङ्जाको सिरुवारी पुगिन्छ । पुल नहुदाँ धेरै बाटो घुम्नुपर्ने हुदाँ ४० किलोमिटर लागने स्थानीय थमनारायण ढकालले बताए । कार्कीनेटा र सतौको जोखिम बाटो मोल्नुपर्ने बाध्यताको अन्त्य भएको ढकालले बताए । ‘पुल बन्छ भनेर सँगसँगै सेतीदोभानबाट फापरथुम हुँदै पञ्चमूलको सिरुवारी पुग्ने सडक स्तरोन्नतिको काम पनि भइरहेको थियो,’ उनले भने, ‘आधाजस्तो सडक पिच भइसकेको छ भने, बाँकी एक वर्षभित्र सम्पन्न हुनेछ ।’ पुल निर्माण नहुँदा यसअघि सम्पन्न भएका कतिपय भौतिक संरचना पनि बिग्रिने अवस्था भएको स्थानीयको भनाइ छ । पुल निर्माण भएपछि स्याङ्जा मात्र नभई पर्वतका जनता पनि प्रत्यक्षरूपमा लाभान्वित भएको प्रा।डा। गुरुङ बताउँछन् । गुरुङका अनुसार स्थानीयस्तरमा उत्पादित कृषिजन्य वस्तुको सहज ढुवानी हुनेछ । ‘यहाँका उत्तरी भेग दरौ, पञ्चमूल, आरुचौर, चिलाउनेबास, विचारीचौतारा, फापरथुम र सेतीदोभान साथै पर्वतको फलेबास नगरवासी हुँदै कुश्मासम्मका जनताले प्रत्यक्ष फाइदा लिन सक्नेछन्’ उनले भने, ‘यो पुल सबैलाई चौतर्फी क्षेत्रमा पायक पर्ने हुँदा यहाँका बासिन्दाको जीवनस्तर वृद्धिमा समेत ठूलो महत्त्व राख्छ ।’ कान्तिपुरबाट