म्याग्दी । २२० केभी क्षमताको दाना–खुर्कोट सबस्टेशन र प्रसारण लाइनको निर्माण कार्य म्याग्दीको कालीगण्डकी करिडोरमा सकिएको छ । पर्वतको खुर्कोट र म्याग्दीको दानामा दुई सबस्टेशन बनाईएको छ भने उक्त स्टेशनको बिचमा ११० वटा टावर बनाएर ३९ दशमलव ६ किलोमिटर तार तान्ने काम सकिसकेको छ ।
खुर्कोट र दानामा सबस्टेशन मात्र नभएर प्रसारण लाईनको पुर्वाधार साथै उपकरण जडानको काम पनि भईसकेको आयोजनाका सहायक प्रबन्धकले बताए । तिन वटा काम सकेको आयोजनाले लगभग १५ दिनभित्रमा सबस्टेशन र प्रसारण लाईन संचालनमा ल्याउने तयारी गर्दै छ ।
सन् २०१६ देखि एशियाली विकास बैंकको सहयोगमा नेपाल विद्युत् प्राधिकरणले शुरु गरेको आयोजना सन् २०१८ मा सम्पन्न गर्ने लक्ष्य राखिएको भएतापनि २ वर्ष ढिला सम्पन्न भएको हो ।
सन् २०१६ मा रू दुई अर्ब ९० करोडमा टाटा प्रोजेक्ट्स र चिन्ट इलेक्ट्रिक जेभीसँग ठेक्का सम्झौता भएको भएता पनि आयोजनाको निर्माणमा रु. तीन अर्ब खर्च भएको विधुत प्राधिकरणले जानकारी दिएको छ । आयोजना प्रमुखका अनुसार सबस्टेशन र प्रसारण लाइन सहायक नदी र मुस्ताङमा निर्माण हुने जलविद्युत् आयोजनाबाट उत्पादित भएको बिजुली केन्द्रीय ग्रिडमा जोड्न निर्माण गरिएको हो ।
जग्गा अधिग्रहण , बाढी र पहिरो जस्ता विभिन्न कारणले गर्दा आयाजनाको निर्माणमा प्रभाव पारेको भएतापनि उक्त आयोजनाको निर्माण पश्चात पर्खेर बसेका धेरै जलविधुत आयोजनाहरुको निर्माण कार्यको विकास हुनेछ । सोही सबस्टेशन र प्रसारण लाइनलाई कालीगण्डकी करिडोर विधुत विकासको प्रमुख आधारको रुपमा लिइन्छ ।
पोखरेबगरका जग्गाधनीहरुले जग्गा नदीने भन्दै झगडा गरेपछि उनिहरुसँगको विवादका कारण त्यस ठाउँमा ६ वटा टावर निर्माण गर्न दुई वर्षसम्म मेहेनत गर्नुपरेपनि लामो समयको प्रयास पछि विवादलाई समाधान गरेर आयोजना निर्माण गर्न सहज वातावरण सिर्जना बनाइएको म्याग्दीका प्रमुख जील्ला अधिकारीले बताए ।
अन्नपूर्ण गाउँपालिका अध्यक्षका अनुसार आयोजनाको निर्माण भएसँगै मिस्ट्रीखोला , घलेम्दीखोला र थापाखोलामा जलविधुत आयोजनाको विधुत् केन्द्रीय लाईनमा जोडीने छ । मिस्ट्रिखोला जलविद्युत् आयोजना निर्माण कार्यको अन्तीम चरणमा पुगी संरचनाको परीक्षण समेत शुरु गरेको छ ।