काठमाडौं। लमजुङको मस्र्याङ्दी गाउँपालिकाअन्तर्गत मस्र्याङ्दी नदीमा १०२ मेगावाट क्षमताको अपर मस्र्याङ्दी–१ जलविद्युत आयोजना निर्माण हुने भएको छ। उक्त आयोजना अपर मस्र्याङ्दी हाइड्रोपावर कम्पनी प्रालिले निर्माण गर्न लागेको हो।
रन अफ रिभरमा आधारित आयोजनाको अधिकांश सरचना मस्र्याङ्दी गाउँपालिका–३ र ४ मा रहनेछ भने केही संरचना वडा नं. ५ र ६ मा रहनेछ। अयोजनाको बाँधक्षेत्र मस्र्याङ्दी–४, रामबजारमा र विद्युतगृह मस्र्याङ्दी–३, अर्खलेबेसीको सिउरुङ र मस्र्याङ्दी नदीको संगमस्थलमा रहनेछ।
कम्पनीका अनुसार मस्र्याङ्दी नदीमा बाँध बाँधेर उक्त पानीलाई पाँच हजार १ सय ४२ मिटर लामो हेडरेस सुरुङ र ४ सय २६ मिटर लामो पेनस्टक पाइपको सहायताबाट विद्युतगृहमा खसालिने छ। आयोजनाबाट उत्पादित विद्युतलाई २२० केभी ट्रान्समिसन लाइनमार्फत ६ दशमलव ५ किलोमिटरको दूरीमा रहेको खुदी सबस्टेसनमा जोडिने अपर मस्र्याङ्दी हाइड्रोपावर कम्पनी प्रालिका उपाध्यक्ष आनन्द चौधरीले बताए। लगभग ३३ अर्बको लागतमा निर्माण हुने आयोजनाको निर्माण अवधि ४० महिनाको रहने उपाध्यक्ष चौधरीको भनाइ छ।
कम्पनीले आयोजनाबाट प्रभावित हुने मस्र्याङ्दी गाउँपालिकाको वडा नं. ३, ४, ५ र ६ भित्र रहेका सरोकारवाला नागरिकको उपस्थितिमा पूरक सार्वजनिक सुनुवाइ तथा आयोजनासम्बन्धी राय सुझाव संकलनसमेत गरेको छ। पछिल्लो अध्ययनबाट आयोजनाको १०२ मेगावाटमात्रै विद्युत उत्पादन हुने निक्र्यौल भएको छ। आयोजनाको पुनः वातावरणीय मूल्यांकन भएकाले पूरक सार्वजनिक सुनुवाइ भएको आयोजनाले जनाएको छ।
जलविद्युत आयोजनाले सार्वजनिक गरेको पूरक वातावरणीय मूल्यांकन प्रभावपछि प्रतिक्रिया दिँदै स्थानीयले आपत्ति जनाएका छन्। स्थानीयहरूले आयोजना पक्षलाई आफ्ना माग राख्दै ध्यानाकर्षण पत्रसमेत बुझाएका छन्। आयोजना निर्माण भएसँगै सो क्षेत्रको थाकन, अर्खलेबेसी, खानीगाउँलगायतको क्षेत्र अतिप्रभावित क्षेत्रमा राख्नुपर्ने, आयोजना निर्माणको क्रममा स्थानीयलाई रोजगारीको प्राथमिकता दिनुपर्ने, स्थानीयलाई पनि सेयरको व्यवस्था गर्नुपर्नेलगायतको माग रहेको छ।आयोजनाले सार्वजनिक सुनुवाइ गर्दा पनि सबै जनतालाई नसमेटेको स्थानीयको गुनासो छ। आयोजना पक्षले भने अहिले सार्वजनिक भएको वातावरणीय प्रभाव मूल्यांकन अन्तिम नभएको जनाएको छ। अहिलेको प्रतिवेदनमा सम्बन्धित ठाउँ र गाउँको नाम समावेश नभए पनि वडा समेटिएकाले स्थानीयको माग र आवश्यकतालाई मध्यनजर गर्दै पुनः प्राविधिक व्यवस्थापनसहित कार्यक्रम सञ्चालन गरिने आयोजना प्रवद्र्धक आनन्द चौधरीले बताए।