काठमाडौँ। प्रतिनिधिसभा सदस्यमा ललितपुर–३ बाट निर्वाचित भएलगत्तै सांसद तोसिमा कार्कीले आफ्नो क्षेत्रमा अलपत्र सडक निर्माणका मुद्दा लिएर काठमाडौं उपत्यका सडक विस्तार आयोजना कार्यालय मध्यबानेश्वर पुगेकी थिइन् ।
सडक नबनेकै कारण लामो समयदेखि स्थानीयले धूलो–हिलोको सास्ती खेप्नुपरेपछि निर्माण छिटो सक्नुपर्ने दबाब दिन उनले सरोकारवालालाई ताकेता गरिरहेकी थिइन् । नख्खु–भैंसेपाटी र सोह्रखुट्टे–बुङमती–चुनदेवी सडक निर्माणलाई प्राथमिकतामा राखेर मतदाताको घरदैलोमा पुगेकी उनले आफ्ना वाचा पूरा गराउनकै लागि ठेकेदार कम्पनीलाई पनि निर्माण छिटो गराउन दबाब दिएकी थिइन् ।
त्यति बेला काठमाडौं उपत्यका सडक विस्तार आयोजना कार्यालय प्रमुखले सुनेजस्तो गरे । तोसिमासमक्ष सडकका ठेकेदारहरूले पनि हुन्छ भने । तर सडकको अवस्था कार्की मतदातासामु पुग्दाजस्तो थियो, अहिले पनि उस्तै छ । अहिले सुक्खायाम । खनेर अलपत्र पारिएका सडकमा उड्ने धूलोले यहीँको त्यहीँ मानिस देख्न हम्मेहम्मे पर्छ । यही कारण होला, नख्खु उकालोमा त दुईपांग्रे सवारी नलडेको दिन हुँदैन ।
नख्खु–भैंसेपाटी सडक निर्माण थालेको वर्षौं बित्यो । तर सडक अझै सकिने छाँट छैन । यस सडकखण्डको ठेक्का भएको ६ वर्ष भयो । अवस्था उस्तै छ । नख्खुखोलाबाट भैंसेपाटीतर्फ उकालो लाग्दै गर्दा धुलाम्मे सडक सुरु हुन्छ । धूलोका कारण ७ सय मिटर सडक पार गर्न यात्रुले ठूलै सकस बेहोर्नुपर्छ । यो सडक दुई खण्डमा बाँडेर ठेक्का लगाइएको छ । पहिलो खण्ड नख्खुखोला–भैंसेपाटी– सोह्रखुट्टेको दूरी ३।५२ किमि छ । ०७३ असार ३० मा भएको ठेक्काअनुसार ०७५ कात्तिक ३० भित्र काम सकिसक्नुपर्ने हो । तर अहिलेसम्म भौतिक प्रगति ७० प्रतिशत मात्र छ । ठेक्का लगाउने निकाय काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका अनुसार ३।५२ किमिमध्ये दुई किमि सडक मात्र कालोपत्र भएको छ ।
सुरु ठेक्का रकम २८ करोड ६२ लाख ५० हजार रुपैयाँ भए पनि अहिले लागत बढाएर ३० करोड ५ लाख रुपैयाँ पुर्याइएको छ । १९ करोड ९६ लाख ९६ हजार रुपैयाँ भुक्तानी नै भइसकेको छ । यस खण्डको ठेक्का आशिष–बिरुवा–सीएम जेभीले लिएको हो । संयुक्त ठेक्का भए पनि सुरुवाती जिम्मा बिरुवा कन्स्ट्रक्सनले लिएको थियो । उसले काम नगरेपछि सीएम कन्स्ट्रक्सनले यसको काम गरिरहेको छ ।
मुख्य समस्या नै नख्खुदेखि भैंसेपाटी उकालोको ७ सय मिटरमा छ । उकालोमा घर भएका स्थानीय धूलोका कारण आजित छन् । धूलोकै कारण घरभाडा नलाग्दा थप मर्कामा परेको स्थानीयको गुनासो छ । चुनावताक भोट माग्न आउने जनप्रतिनिधि र सांसदका उम्मेदवार सबैजसोले चुनाव जित्नासाथ आफ्नो क्षेत्रका सडक निर्माणलाई पहिलो प्राथमिकतामा राख्छन् । चुनाव जितेर गएपछि यी समस्यालाई सबैले बिर्सिदिएको स्थानीयको आरोप छ ।
६ वर्षदेखि धूलोबाट मुक्त हुन नपाएको स्थानीय अजरमान जोशीको गुनासो छ । ‘अहिले फेरि धूलो उडेर बसिसाध्य छैन,’ उनले भने, ‘नख्खु उकालोमै घर छ, सडकमा उड्ने धूलो सिधै घरभित्र पस्छ । अघिपछि भन्दा हिउँदमा बढी धूलो उड्ने भएका कारण प्रायः घरमा बिरामी नहुने कोही हुँदैनन् ।’ अहिले खानेपानीको पाइप फुटेर समस्या भएको गुनासो ठेकेदारले गरेको उनको भनाइ छ ।
स्थानीयले सडक चाँडो बनाउनुपर्ने माग गर्दै कैयौं पटक आन्दोलन गरे । सडक बन्द गराए । ठेक्का लगाउने निकाय, सडक विभाग, जिल्ला प्रशासन, जनप्रतिनिधि, सांसद सबैलाई पटकपटक ध्यानाकर्षण गराए । तर अहिलेसम्म न निर्माणको काम सकियो, न समयमै काम नगर्ने ठेकेदारलाई कारबाही नै भयो । उल्टै म्याद थप गरेर सडक अलपत्र पार्नेलाई सरकारले प्रोत्साहन गरिरह्यो ।
भैंसेपाटी अपरिचित ठाउँ भने होइन, यो देशका ‘भीआईपी’ बस्ने थलोका रूपमा परिचित छ । पूर्वउपप्रधानमन्त्री, पूर्वमन्त्री, बहालवाला मन्त्रीलगायत ‘भीआईपी’ हरूको बाक्लो बसोबास यही क्षेत्रमा छ । कतार, इजिप्ट र म्यान्मारका दूतावास यहीँ छन् । मन्त्री, राष्ट्रियसभा अध्यक्ष, उपाध्यक्ष, प्रदेश प्रमुखलगायत सरकारी उच्चपदस्थ अधिकारीको आवास भैंसेपाटीमै निर्माणाधीन छ । तर झन्डावाला गाडीमा दैनिक हुइँकिने मन्त्रीको दृष्टि यस सडकमा पर्न सकेको छैन ।
पूर्वमन्त्री पम्फा भुसालको यो निर्वाचन क्षेत्र नै हो । यही क्षेत्रमा बस्ने रघुवीर महासेठ भौतिक पूर्वाधार तथा यातायातमन्त्री हुनुअघि नै सडकको ठेक्का लागेको थियो । तर उनले काम नगर्ने ठेकेदारलाई कारबाही गर्न आँट गरेनन् । पूर्वउपप्रधान तथा गृहमन्त्री वामदेव गौतम, पूर्वभौतिक पूर्वाधार तथा यातायातमन्त्री हृदयेश त्रिपाठी, पूर्व सिँचाइमन्त्री एवं सांसद एनपी साउद पनि यहीं बस्छन् । हालका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको बसोबास क्षेत्र पनि यही पर्छ । अहिले मन्त्री आवासमा बसिरहेका उनले पनि यस सडक विस्तारको प्रगतिबारे चासो लिएका छैनन् ।
उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले यस सडकमा गुनासा धेरै आएकाले निर्माण चाँडो सक्न सम्बन्धित निकायलाई निर्देशन दिइसकेका छन् । खानेपानीको पाइपले समस्या भएको र त्यसको व्यवस्थापन भइरहेको मन्त्री श्रेष्ठका स्वकीय विजय गौतमले बताए । ‘यस सडकको दैनिक अपडेट लिने काम भइरहेको छ । अहिलेसम्म ४ सय मिटर पाइप बिछ्याउने काम सकिएको जानकारी प्राप्त भएको छ,’ उनले भने, ‘१५ दिनभित्र पाइप व्यवस्थापनको काम सकिने र त्यसलगत्तै सडक कालोपत्रको काम सुरु गर्ने प्रतिबद्धता निर्माण व्यवसायीले जनाएका छन् ।’
दसैंअघि नै सडक कालोपत्रको काम सक्ने भनेका सीएम कन्स्ट्रक्सनका शान्तकुमार श्रेष्ठले भने अहिले खानेपानीको पाइप फुटेपछि काम गर्न समस्या भएको बताए । ‘कालोपत्र गर्ने तयारी गर्दागर्दै पाइप फुटेर समस्या भएको हो,’ उनले भने, ‘काठमाडौं उपत्यकाका खानेपानी लिमिटेडबाट पाइप व्यवस्थापनको काम भइरहेको छ । यो काम सकिनेबित्तिकै कालोपत्रको काम थाल्छौं ।’ पाइप व्यवस्थापन गर्न १५ दिनभन्दा बढी लाग्ने भएकाले यसको काम सकिनेबित्तिकै सडकको काम गर्न समस्या नरहेको उनको दाबी छ । पाइप फुटेर पानी आइरहँदा भने कालोपत्र गर्न नमिल्ने उनको भनाइ छ । यतिका समय काम नगर्ने अनि अहिले आएर पाइप फुटेको बहानाबाजी गर्न नपाइने स्थानीयको भनाइ छ । ‘यत्रो समय काम नगर्ने, अहिले काम गर्दा पाइप फुट्यो भनेर ढिलाइ गर्नुभएन,’ भैंसेपाटीका स्थानीय जोशीले भने, ‘ठेक्का भएपछि निरन्तर काम गरेको भए पाइप फुट्ने समस्याबारे पहिल्यै थाहा हुन्थ्यो, आफैं काम गर्न चासो नदिने, सधैं बहानाबाजी गरेर ढिला गर्नेबाहेक केही भएन ।’ यस सडकको म्याद पाँचौंपटक थप गरेर फेरि चैतसम्म पुर्याइएको छ ।
समस्या रहेको अर्को सडक हो, सोह्रखुट्टे–बुङमती–चुनदेवी खण्ड । दोस्रो खण्ड सोह्रखुट्टे–बुङ्मती–चुनदेवी सडकको अवस्था पनि उस्तै छ । ठेक्का लागेको पाँच वर्ष पुग्दा बल्ल सडकमा पर्ने घर भत्काउने र विद्युत्का पोल सार्ने काम सुरु छ । यही सडकको बुङमती खण्डमा फिरोज भण्डारीले किराना पसल गर्न थालेको १० वर्ष भयो । पसलमा राखेका सामान धुलाम्मे हुन्छन् । जसले गर्दा पुराना देखिने र बिक्रीमा समस्या हुने गरेको उनको गुनासो छ ।
‘सडकमा उड्ने धूलोका कारण परिवारका सदस्यमा रुघाखोकी कहिल्यै टुट्दैन । लुगा धोएर सुकाउने ठाउँ छैन,’ भण्डारीले भने । धूलो उडिरहेका बेला सुकाएका लुगा लगाउँदा जीउभरि एलर्जी आउने गरेको उनको गुनासो छ । ‘कति पटक सडक बन्द गर्यौं, नेता सांसद गुहार्यौं, भो कसैले हाम्रा दुःख पीडा बुझेनन्,’ उनले भने, ‘धूलोले बसिसाध्य नभएपछि दबाब दिन आइतबार दुई घण्टा सडक बन्द गर्यौं, अहिले धूलो उड्ने खण्डमा पानी हाल्न भने थालेका छन् ।’ ठेक्का भएको लामो समय बित्दा बल्ल बिजुलीका पोल सार्ने काम सुरु भएको उनले बताए ।
‘धूलो उडेको उड्यै छ, काम गरेजस्तो गरे पनि अहिलेसम्म सकिएको छैन,’ भण्डारीले भने, ‘दलका नेताहरूले सधैं चुनावी नारामा सडकलाई समेटिरहे । तर काम सकाउने गरी दबाब दिन कहिल्यै लागिपरेनन् ।’ ठेक्का भएको सडकको दूरी १.५५ किमि छ । यसको ठेक्का पप्पु–महालक्ष्मी–वर्ल्डवाइड जेभीले लिएको हो । ०७४ साउन ११ मा भएको सम्झौताअनुसार ०७६ साउन १० मा काम सम्पन्न गरिसक्नुपर्ने हो । प्रगति ७५ प्रतिशत मात्र छ ।
संयुक्त ठेक्का भए पनि वर्ल्डवाइड निर्माण कम्पनीले काम गरिरहेको यो सडकको पाँचौं पटक म्याद थपेर चैतसम्म पुर्याइएको छ । तर थपिएको समयमा पनि निर्माणको काम सकिने अवस्था देखिन्न । यसको सुरु ठेक्का रकम २३ करोड ७२ लाख ४९ हजार रुपैयाँ हो । अहिले लागत बढाएर २६ करोड ९ लाख ४३ हजार रुपैयाँ पुर्याइएको छ । निर्माणमा प्रगति नभए पनि २० करोड ८ लाख ९९ हजार रुपैयाँ भुक्तानी भइसकेको छ । वर्ल्डवाइड निर्माण कम्पनीका रामशरण बुढाथोकी भने अझै पनि एक महिनाभित्र यस सडकको काम सकिने दाबी गर्छन् । ‘सडकमा पर्ने घर भत्काउन नसक्दा काममा ढिलाइ भएको थियो,’ उनले भने, ‘अब घर भत्काउन नदिए पनि यथास्थितिमै काम सक्न लागिपरेका छौं ।’
भैंसेपाटी खण्डमा खानेपानीको पाइप व्यवस्थापन गर्ने काम भइरहेको काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका सूचना अधिकारी महानन्द जोशी बताउँछन् । ‘यस खण्डको ७ सय मिटरमा काम सुरु गर्दा पाइप फुटेर समस्या भयो,’ उनले भने, ‘सडकको काम रोकेर पाइप व्यवस्थापनको काम भइरहेको छ ।’ सोह्रखुट्टे–चुनीखेल खण्डमा पनि काम भएको छैन । सोह्रखुट्टेको मुखैमा तीनवटा घर भत्काउन बाँकी रहेको उनको भनाइ छ ।
‘मन्दिर र कुखुराको खोर पनि सडकमा परेकाले यसको व्यवस्थापनको काम भइरहेको छ,’ उनले भने, ‘चुनीखेलको उकालो सडक बीचमै खानेपानीको पाइप भएकाले यसको पनि व्यवस्थापनको गरिँदै छ ।’ ह्युमपाइप, वाल लगाउने काम भने सकिएको उनको भनाइ छ । ‘अहिले चैतसम्म म्याद दिइएको छ, क्रसर उद्योग बन्द हुँदा त्यसको असर यी सडकमा पनि पर्न गयो,’ उनले भने, ‘जसको असर एक महिना बढी पर्यो, त्यसैले वैशाखसम्म दुवै खण्डको काम सकिएला भन्ने आसमा छौं ।’ कान्तिपुरबाट